नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि चीनसँग सम्झौता गरेको छ।
नेपालका तर्फबाट आइतबार सम्झौतामा हस्ताक्षर गरिएको हो। उक्त सम्झौतामा अब चीनले पनि हस्ताक्षर गरेर नेपाललाई पठाउने छ।
नेपालले जीटूजी प्रक्रियाबाट चीनको सरकारी कम्पनीसँग स्वास्थ्य सामग्री खरिदको सम्झौता गरेको हो।
‘नेपाली पक्षले सम्झौतामा हस्ताक्षर गरेर पठाएको छ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘चिनियाँ पक्षले हस्तार गरेपछि यसबारे विस्तृत जानकारी दिन्छौँ।’
सम्झौता अनुसार सेनाले सोमबार नै चीनलाई रकम पठाउने तयारी गरेको छ।
‘हामीले जति छिटो पैसा पठाउन सक्यौँ, उताबाट त्यति नै छिटो स्वास्थ्य सामग्री उपलब्ध हुने छ,’ उनले भने।
नेपालले चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागेको हो। चीनले सबै सामग्री गोन्जाओमा उपलब्ध गराउने जनाएको छ।
यसअघि दुुई देशबीच सम्झौताको खाका आदान प्रदान भएको थियो। खाकामा सहमति जुटेपछि सम्झौतामा हस्ताक्षर भएको हो।
यस्तै भारतबाट पनि ५३ प्रकारका औषधि ल्याउन सम्झौता प्रक्रिया अगाडि बढेको छ। सेनाले चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याउन लागेको हो।
सरकारले गत चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
Shares
प्रतिक्रिया