समाज


धौलागिरि अस्पतालमा स्थापना भयो सघन उपचार कक्ष

धौलागिरि अस्पतालमा स्थापना भयो सघन उपचार कक्ष

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १५:३०,

धौलागिरि अञ्चल अस्पताल बागलुङमा पहिलो पटक सघन उपचार कक्ष निर्माण गरिएको छ। तीन शय्या क्षमताको आइसियुले एक हप्ताभित्रै सेवा दिन थाल्नेछ।

साविक धवलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत जिल्लाका जनतालाई लक्ष्य गरी अस्पताल बागलुङमा आइसियु सेवा दिइनेछ। धौलागिरिमा आइसियु सेवासहितको सुविधासम्पन्न अस्पताल नहुँदा धौलागिरिबासी आइसियु सेवाकै लागि पोखरालगायत शहरमा जाँदै आएका थिए।

अस्पताल स्थापना भएको ६० वर्षपछि आइसियु सेवा शुभारम्भ हुन थालेको छ। संघीय सरकारको रु एक करोड र गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा अस्पतालमा आइसियु निर्माण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए।

‘हाम्रो व्यवस्थापन समिति आएपछि अनवरत रुपमा आइसियुका लागि पहल गरिरहेका थियौँ ’, मगरले भने, ‘६० वर्षको इतिहास बोकेको अस्पतालले हालै आएर आइसियु सेवा दिने भएको छ।’

अस्पतालमा अहिले धमाधम आइसियुका उपकरण जडान भइरहेको छ। आइसियु सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति नभएको भन्दै अस्पतालले तीन स्वास्थ्यकर्मीलाई तालीमका लागि पोखरासमेत पठाएको छ भने आइसियुका लागि दरबन्दीसमेत प्रदेश कार्यालयसँग मागेको छ।

निरन्तरको प्रयासपछि अञ्चल अस्पतालमा आइसियुका लागि बजेट विनियोजन गरेर सेवा प्रदान गर्न थालिएको संघीय सांसद डा सूर्य पाठकले बताए। आइसियु निर्माणका लागि आवश्यक सामग्री बोलपत्रमार्फत खरीद गरिएको थियो। सामग्री उपलब्ध गराउन तयार भएका कम्पनीले बिहीबार नै सबै सामग्री उपलब्ध गराएकाले जडानको कामसमेत अन्तिम चरणमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको समेत उपचार गराउँदै आइरहेको अस्पतालमा हालै संघीय सरकारले दुई र प्रदेश सरकारले एक भेन्टिलेटरसमेत उपलब्ध गराइसकेका छन्। अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचार भइरहँदा एउटा भेन्टिलेटरसमेत उपलब्ध थिएन। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .