समाज


नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक

नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार २१:२, काठमाडौँ

साहित्यकार डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ लोकार्पण गरिएको छ।

शिखा बुक्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, सांसदहरू विद्या भट्टराई, सुदन किराती र मनिष झा, साहित्यिक पत्रकार राजकुमार बानियाँलगायतले महाकाव्य ‘कल्प’ लोकार्पण गरेका हुन्।

महामन्त्री थापाले महाकाव्यमा लम्सालको प्रतिस्पर्धा आफैँसँग रहेको बताउँदै इतिहास, धर्म, संस्कृति, मानवतालगायत बहुआयामिकता विषय महाकाव्यमा समेटिएका उल्लेख गरे। कांग्रेस केन्द्रीय कार्यालयमा स्थापना भएको पुस्तकालय विभागले कल्प महाकाव्यका बारेमा बहस र अन्तरक्रिया गराउने उनले प्रतिबद्धता जनाए।

सांसद भट्टराईले मानिस, प्रकृति र संस्कृतिबीचको सम्बन्ध कल्प महाकाव्यमा रहेको बताए। वेदका छ वटा अङ्गमध्ये कल्प पनि एउटा भएको बताउँदै उनले अहिलेका विद्यार्थीलाई किताबको भारी बोकाए पनि यथार्थ ज्ञान दिन नसकिएको अवस्था पुस्तकले चित्रण गरेको धारणा राखे। मौलिकता हराएर सामाजिक आदर्शमा विचलन आएकाले सुधारका लागि कल्पले प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे।

सांसद किरातीले संविधान संशोधनका लागि सरकार गठन भएको र केही चर्चा पनि चलिरहेका बेला संविधानभन्दा पहिले सोचमा संशोधन गरिनुपर्ने बताए। चेपाङ, वनकरिया र राउटेको संस्कृतिका बारेमा महाकाव्य लेख्न उनले महाकाव्यकार लम्सालसँग आग्रह गरे।

सांसद झाले अज्ञानले संस्कृति र लोभले प्रकृति मासिएकाले यसबाट शिक्षा दिनेगरी महाकाव्य कल्प सार्वजनिक भएको बताए। अभिव्यक्ति स्वतन्त्रताको चर्चा गरिरहँदा सोच्ने स्वतन्त्रता छ कि छैन? भन्ने बहस गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे।

साहित्यिक समीक्षा गर्दै पत्रकार बानियाँले देश, धर्म र संस्कृतिको गहिरो जानकारी दिने महाकाव्य कल्प नवीन सोचसहित आएको बताए। साहित्य र राजनीतिमा वैश्विक चेतना आवश्यक छ भन्ने सन्देश महाकाव्यले दिएको उनको भनाइ छ।

महाकाव्यकार लम्सालले चौथो महाकाव्यका लोकार्पण गर्ने अवसरमा आफूमा ब्रह्मानन्द अनुभूति भएको बताए। महाकाव्यमा तीन खण्ड र ११ सर्ग रहेका लोकार्पण समारोहमा गराइएको जानकारी  थियो। यसअघि डा लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशन भइसकेका छन। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad