फेसबुक लगायतका सामाजिक सञ्जाल सञ्चालन गर्ने मेटाले नेपालमा दर्ताबारे चासो देखाएको छ।
दर्ता नगरेको भन्दै सरकारले फेसबुकसहितका २६ समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेकै दिन मेटाका कर्मचारीले सञ्चार मन्त्रालयमा दर्ताबारे सोधखोज गरेका हुन्।
मेटाका कर्मचारीले अनौपचारिकरुपमा दर्ताका लागि चाहिने विवरणबारे चासो राखेपछि आफूहरुले विवरण पठाएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले नेपालखबरलाई जानकारी दिए।
‘मेटाका कर्मचारीले अनौपचारिकरुपमा दर्ताका लागि चाहिने विवरणबारे चासो राख्नु भएको थियो,’ उनले भने, ‘हामीले विवरण इमेलमार्फत पठाइ दिएका छौँ।’
ठाकुरले औपचारिकरुपमा मेटाले दर्ता प्रक्रिया सुरु नगरेसम्म प्रतिबन्ध कायमै रहने बताए। ‘दर्ता नभएसम्म हाम्रो निर्णय कामयै हुन्छ,’ उनले भने।
मेटाले फेसबुक, वाट्सएप, इन्स्टाग्राम र फेसबुक म्यासेन्जर सञ्चालन गर्ने गर्छ।
Shares

प्रतिक्रिया