समाज


डिस्चार्जपछि बागलुङकी ६५ वर्षीया महिलाले भनिन्ः खुसीले अस्पतालमा बिदाइ गर्न बसेकाहरुसँग बोल्नै सकिनँ

डिस्चार्जपछि बागलुङकी ६५ वर्षीया महिलाले भनिन्ः खुसीले अस्पतालमा बिदाइ गर्न बसेकाहरुसँग बोल्नै सकिनँ

सागर न्यौपाने
बैशाख ६, २०७७ शनिबार १५:५२,

कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पतालमा उपचाररत ६५ वर्षीया महिला शनिबार राति डिस्चार्ज भएकी छिन्।

नेपालकै जेठो संक्रमित मध्येकी एक  ती महिलाले डिस्चार्जपछि अस्पतालबाट  बाहिरिँदै गर्दा अस्पतालमा आफूले धेरै स्याहार पाएको भन्दै खुसी व्यक्त गरिन्।

फागुन १४ गते छोरीलाई भेट्न बेल्जियम गएकी उनी चैत ४ गते कतार एयरवेजको विमानबाट नेपाल फर्केकी थिइन्। उनी नेपाल फर्केर बागलुङमा रहेको घरमै सेल्फ-क्वारेन्टिनमा बसेकी थिइन्।

उनीसँगै विमानमा आउने बागलुङकै एक १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि उनको पनि नमूना (स्वाब) परीक्षण गर्दा चैत २० गते उनमा कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजिटिभ देखिएसँगै उनलाई धौलागिरी अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

बिहीबार ती महिलाको पहिलोपटक रिपोर्ट नेगेटिभ रिपोर्ट आएको थियो। त्यसको २४ घण्टापछि प्रदेश प्रयोगशाला पोखरामा गरिएको अन्तिम परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि शनिबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले १७ दिनको उपचारपछि निको बनाएर ती महिलालाई डिस्चार्ज गरेको  जानकारी दिए।

Image may contain: 1 person, standing

‘सबै रिपोर्ट राम्रो आएपछि केहिबेर अघि उहाँ (६५ वर्षीया महिला)लाई डिस्चार्ज गर्यौँ’, डा. पोखरेलले नेपालखबरसँग भने, ‘राम्रो केयर गरेर कोरोना निको पारिदिएकोको भन्दै उहाँले अस्पताल र हामीहरुलाई धन्यवाद दिनुभयो।’

विश्व नै हल्लाइरहेको कोरोना भाइरसबाट निको भएर घर फर्कन पाउँदा आफूलाई एकदमै खुसी लागेको डिस्चार्जपछि ती महिलाको प्रतिक्रिया थियो। उनले खुसीका कारण अस्पतालको गेटमा आफूलाई बिदाइ गर्न बसेकाहरुलाई केही भन्न नसकेको प्रतिक्रिया दिइन्।

‘खुसी लाग्यो, १७ दिनपछि घर आउँदा हर्कले खाना खान मन पनि लागेन। भोक सबै हराएको जस्तो भयो’, नेपालखबरसँग कुरा गर्दै बागलुङकी आमाका रुपमा परिचित ती महिलाले भनिन्, ‘अस्पतालमै सबै सरसफाइ गरेँ, नुहाएर निस्किएँ। मलाई बिदाइ गर्न थुप्रै बस्नुभएको थियो, धेरै खुसीले होला बोल्नै सकिनँ।’

अस्पतालबाट डिस्चार्ज भएकी महिलालाई अझै केही समय घरमै क्वारेन्टिनमा बस्नुपर्ने  डा. पोखरेलले बताए। उनी नेपालमा कोरोना संक्रमण निको भएर फर्कने तेस्रो संक्रमित हुन।

यसअघि शनिबार नै टेकु अस्पतालमा उपचाररत काठमाडौँकी प्रसिद्धी श्रेष्ठ शनिबार दिउँसो डिस्चार्ज भएकी थिइन् भने चीनको वुहानबाट फर्केका एक युवक पहिले नै निको भएर घर फर्किसकेका थिए।

शनिबार एक संक्रमित थपिएसँगै नेपालमा हाल कोरोना संक्रमितको संख्या ३१ पुगेको छ भने तीन जनाको डिस्चार्ज भएपछि अहिले २८ जना बिभिन्न अस्पतालमा उपचाररत् छन्।

याे पनि:

बागलुङकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ, आजै डिस्चार्ज हुने 
बाग्लुङकी कोरोना संक्रमित : मोबाइलमा चुट्के सुन्छिन्, झ्यालबाट डाँडा हेरेर दिन कटाउँछिन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad