समाज


पशुपति क्षेत्रमा यस्तो छ आज सुरक्षा र ट्राफिक व्यवस्था

सशस्त्र प्रहरीको स्वास्थ्यकर्मीसहित ७ सय जनशक्ति, ट्राफिक व्यवस्थापनमा ६१६ जना खटिए
पशुपति क्षेत्रमा यस्तो छ आज सुरक्षा र ट्राफिक व्यवस्था

फाइल तस्बिर


नेपालखबर
भदौ १०, २०८२ मंगलबार ६:५५, काठमाडौँ

तीजका लागि पशुपति क्षेत्रमा आज सरकारले ठूलो मात्रामा जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरी बलले स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन गरिएको जनाएको छ। 

जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारी छन्।

दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा गएराति २ बजेदेखि ड्युटी सुरु गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिए।

पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छ भने मेलाको सम्पूर्ण कमाण्ड नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयले गर्ने छ।

उपत्यकास्थित सशस्त्र प्रहरी बलका विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन हुने धौवजीले बताए। 

यसैबीच ट्राफिक व्यवस्थापनका लागि आज पशुपति क्षेत्रमा ६ सय १६ जना ट्राफिक खटिने भएका छन्।

आज पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ।

पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको कार्यालयले जनाएको छ। 

दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ्ग तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्कर र सुरक्षाकर्मिका पार्किङ्ग हुनेछन्। 

त्यसैगरि कोषको कार्यालय र अमालकोट कोषका कर्मचारी र पर्वसँग सम्बन्धित सवारी साधन र भण्डारखालमा सरकारी संथान र बिशिष्ट ब्यक्तिका सवारी साधन पार्किङ व्यवस्था मिलाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरु छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ। 

धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको उनले बताए।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरि सहज आवागमनको व्यबस्थापन गर्ने तयारी छ।

त्यसका लागी करिडोर सडक र भित्री सडकमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए

उनका अनुसार सदाझैँ आज चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ। तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अबस्था भएको खण्डमा मात्र डाइभर्सनको नीति अबलम्बन गरि वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाइने छ।

तीनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ। 

गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ।

सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ। तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राख्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

हरितालिका तिज पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा कमाण्ड सेन्टर राखी ६ सय १६ जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ। 

आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरी समेत खटाइदै जाने ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।

प्रवक्ता गिरीले हरितालिका तिजको अवधिभर पाशुपत क्षेत्रमा आउने दर्शनार्थी एवं भक्तजनहरुलाई निर्वाध रुपमा दर्शन गर्ने वातावरण सुनिश्चित गर्न र आवागमनलाई प्रभावकारी व्यबस्थापन गरिएको बताए। 

हरितालिका तिजकै अवसरमा अन्य शिवालयहरूमा हुन सक्ने भिडभाडलाई समेत मध्यनजर गरी ट्राफिक प्रहरीहरु खटाइने समेत प्रबक्ता गिरीले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad