समाज


बागलुङमा गरियो १ हजार वर्ष पुरानो ‘अनिष्ट हटाउने पूजा’

बागलुङमा गरियो १ हजार वर्ष पुरानो ‘अनिष्ट हटाउने पूजा’

नेपालखबर
भदौ ४, २०८२ बुधबार ८:३, बागलुङ

अर्धनग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए। ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरू। माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो। यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए। 

यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन्। यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ। हरेक दुई-दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो समय मेलाकै रूपमा लिन थालिएको छ। गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ। यो अन्य पूजाभन्दा भिन्न छ। भदौ १ गते निसीवासीले गाउँ पूजा धुमधामसँग मनाउँछन्। 

स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवीदेवताका नाममा पूजा गर्ने र साँझा गाउँभरीका झाँक्रीहरू एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन्। बिहान सबेरै निसेलढोर गाउँभन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन्। बराह थानमा पुगेपछि युवाले अर्धनग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको रूप धारण  गर्छन्। झाँक्री र राक्षसको रूप धारण गरेका कापैले गाउँमा अनिष्ट गर्ने भूतप्रेत र राक्षसी आत्मालाई उत्तरगङ्गा नदीमा खसाल्ने बुढापाका बताउँछन्।

अनिष्ट हुन थालेपछि ‘गाउँ पूजा’ गर्न थालियो

शुरुआती समयमा निसेलढोर गाउँमा वर्ष अगाडि अनिष्ट हुन थालेपछि गाउँलेले गाउँ पूजा गर्न थालेको इतिहास रहेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले बताए। एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने बुढाबुढी (जुजाजुजी) लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँपछि हेर्न पुग्दा उनीहरुको मृत्यु भइसकेकाले उनीहरूको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको बुढापाकाले सुनाएको स्थानीयवासी बताउँछन्।

ओडामार मृत्यु भएका जुजाजुजी राक्षसको रूपमा गाउँ पसेरपछि मान्छे मर्ने, धन सम्पत्ति, बालीनालीको क्षति हुने, पशुचौपायासमेत मर्ने गरेपछि शुरु शान्तिका लागि शुरु गरिएको गाउँ पूजा अहिलेसम्म चल्दै आएको हो। पहिले निसेलढोर आसपासमा ठूलो बस्ती रहेको प्रमाणित गर्ने अवशेष अहिले भेटिने गरेको उपाध्यक्ष घर्तीमगरले बताए। गाउँ पूजा गर्दा मृत आत्माले शान्ति पाउने र गाउँमा अनिष्ट नहुने विश्वास छ।

‘बुढापाकाका अनुसार पहिले निसेलढोरमा ठूलो बस्ती थियो, अहिले पनि त्यसका अवशेष भेटिन्छन्, त्यसबेला मानिसहरु बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने जुजाजुजीलाई गाउँमाथिको ओडारमा छोडे छन्, पछि आफन्त भेट्न आउँदा उनीहरुको मृत्यु भइसकेको रहेछ’, उपाध्यक्ष घर्ती मगरले भने, ‘उनीहरुको मृत्यु भइसकेपछि निसेलढोर गाउँमा अशुभ हुन थालेछ, त्यसपछि सिंगो गाउँमा बस्ने सबैले गाउँ पूजा गर्न शुरु गरे छन्, पूजा गरेपछि गाउँमा अनिष्ट हुन छोडेछ, एक वर्ष पूजा गर्‍यो भने दुई वर्षसम्म अशुभ नहुने मान्यता छ।’

भूत धपाउन खोलामा हाम फाल्छन् युवा

बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रूप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फल्छन्। जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन्। यसरी भूत धपाएपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीय राजमन बुढा मगरले बताए। 

यो पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताए। पहिले झोलुङ्गे पुल नबन्दा काठको साँघुबाटनै कापैले खोलामा हाम फल्ने गरेको उनले जानकारी दिए। भूतलाई खोलामा खसालेपछि गाउँलाई रोगव्याधि नलाग्ने, वस्तुभाउ र बालीनाली पनि राम्रो हुने बुढा मगरको भनाइ छ।

‘झाँक्रीले विधिअनुसार कापैलाई तन्त्रमन्त्र गरेको हुन्छ, कापैले अनुहारमा लगाएको मोसो, शरीरमा लेखिएको विभिन्न अक्षर र राक्षसको जस्तो पहिरनले भूतप्रेतलाई फकाउने र लखेट्दै लगेर खोलामा खसाल्ने गरिन्छ, हाम्रो पुर्खाहरुले मान्दै आएको परम्परा अहिलेसम्म चल्दै आएको छ, यसमा धार्मिक विश्वास छ, हाम्रो आस्था छ’, उनले भने।

संरक्षणमा युवा र पालिकाको चासो 

गाउँ पूजालाई लोप हुन नदिनका लागि निसीखोला गाउँपालिका-५ का युवाले चासो दिएका छन्। यो वर्ष गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समितिमार्फत पूजा सञ्चालन गरिएको थियो। युवाले चासो नदिँदा लोप हुने हुँदा संरक्षणका लागि आफूहरु लागेको गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण छन्त्यालले बताए।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले कला संस्कृति संरक्षणका लागि गाउँपालिका हरेक वर्ष बजेट विनियोजन गरी काम गर्दै आएको दाबी गरे। लोपोन्मुख संस्कृतिको संरक्षणका लागि पाका पुस्ता र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर पुस्तान्तरण गर्ने काम गाउँपालिकाले गर्दै आएको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad