समाज


जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमति र ११ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमति र ११ जनाको मृत्यु

नेपालखबर
भदौ ३, २०८२ मंगलबार २१:४७, काठमाडौँ

जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताए।

उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक÷एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन्।

शाखा प्रमुख डा गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतमको मृत्यु भएको छ। सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा  सङ्क्रमण भएको थियो।

उनले जापानिज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताए। 

‘हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको प्रकोप देखिएको छ। २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ’, डा गौतमले भने। 

उनका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस्विरुद्धको खोप लगाई सकिएको छ। 

कसरी सर्दछ
चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो।

यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ। धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको बताइन्छ। 

जापानिज इन्सेफलाइटिस् गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा गौतमले बताए। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ। 

यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad