समाज


जनकपुर उपमहानगरको निष्कर्षः वकिलहरूले पत्रकारमाथि अन्याय गरे

जनकपुर उपमहानगरको निष्कर्षः वकिलहरूले पत्रकारमाथि अन्याय गरे

नेपालखबर
भदौ २, २०८२ सोमबार १८:३२, जनकपुर

जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नेपाल बार एसोसिएसन जनकपुरमा सङ्गठित वकिलहरूको समूहले पत्रकारमाथि अन्याय गरेको बताएका छन्। 

पत्रकारमाथि भएको आक्रमणबारे गुनासो राख्न सोमबार नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति र धनुषा शाखाका प्रतिनिधिहरूले नगरप्रमुख साहलाई भेट गरेका थिए।

पत्रकारहरूको कुरा सुनेपछि नगरप्रमुख साहले जनकपुर उपमहानगरपालिका पत्रकार महासंघको पक्षमा स्पष्ट रूपमा उभिएको बताए। 

उनले भने,‘बारमा सङ्गठित अधिवक्ताहरूले तपाईँहरूलाई अन्याय गरेका छन्। जनकपुर उपमहानगरपालिका पत्रकार महासंघसँगै छ। यस घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कडा कारबाही गर्नुपर्छ।’

नगरप्रमुख साहका अनुसार नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले कानुनी प्रक्रिया पूरा गर्दै जनकपुर–४ मा रहेको श्रीराम गुठी स्वामित्वको चार कट्ठा जग्गा २० वर्षका लागि लिजमा लिएको हो। सो जग्गा वार्षिक तीन लाख एक हजार एक सय रुपैयाँ भाडा बुझाएर सुरक्षित रूपमा प्राप्त गर्न नगरपालिकाले समेत सहयोग गरेको उनले जानकारी दिए।

तर, त्यही विषयलाई लिएर नेपाल बार एसोसिएसन जनकपुरका वकिलहरूले विवाद खडा गर्दै पत्रकारमाथि आक्रमण गर्नेसम्मको अवस्था सिर्जना हुनु दुःखद रहेको उनले बताए।

नगरप्रमुख साहले विवादमा आएको माटोको विषयमा समेत प्रस्ट्याए। उनका अनुसार, प्रदेश सरकारले गंगासागर पोखरी उत्खनन् गर्दा निस्किएको माटो खाली सार्वजनिक स्थानमा राख्ने क्रममा महासंघले लिएको जग्गामा थुपारिएको थियो। तर, केही वकिलहरूले व्यक्तिगत रूपमा खरिद गरेर ल्याएको भन्दै गलत प्रचार गरेको उनको भनाइ छ।

‘वास्तवमा यो माटो प्रदेश सरकारकै उत्खननबाट आएको हो। तर गलत प्रचार गरी पत्रकारमाथि आक्रमण गर्नु दुःखद छ,’ उनले भने।

साउन २७ गते पत्रकार महासंघले लिजमा लिएको जग्गामा तारबार गर्ने काम भइरहेका बेला बार एसोसिएसन जनकपुरका सङ्गठित वकिलहरूको समूहले अवरोध मात्र गरेन, हुलहुज्जत मच्चाउँदै उपस्थित पत्रकारहरूलाई लक्षित गरेर आक्रमणसमेत गरेको थियो।

सो क्रममा महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सञ्चारकर्मी दिवाकर राय, अनिल कुमार निराला र बिनिता यादव घाइते भएका थिए।

तीमध्ये सञ्चारकर्मी दिवाकर रायको अवस्था गम्भीर रहेको र हाल उपचार भइरहेको छ। महासचिव शैलेन्द्र महतोको खुट्टा दुई स्थानमा भाँचिएको छ भने बाँकी पत्रकारहरू पनि विभिन्न चोटपटकसहित घाइते भएका छन्। 

पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले नगरप्रमुख साहलाई घटनाबारे विस्तृत जानकारी दिँदै यसलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गरे। 

‘हामीले कानुनी बाटोबाट प्राप्त गरेको जग्गामा तरबार गर्न थालेको मात्र थियौँ। तर बारमा सङ्गठित अधिवक्ताहरूको समूहले हुलदङ्गा मच्चाएर हामीमाथि कुटपिट गरे,’ उनले भने।

उक्त भेटमा महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, सचिव हदिस खुदार, बिनिता यादव, महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ता, उपाध्यक्ष अवधेश कामत लगायतका पत्रकारहरूको पनि उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad