समाज


जो आर्यघाटमा शवका आँखा मागेर बालबालिकाको ज्योति फर्काउँछन्

शोकाकुल आफन्तलाई मनाउने कठिन काम गरिरहेका काउन्सिलरका कथा
जो आर्यघाटमा शवका आँखा मागेर बालबालिकाको ज्योति फर्काउँछन्

राजु राजवाहक, सुन्दर महत र ईश्वरीप्रसाद पराजुली


आयुषा ढकाल
भदौ ४, २०८२ बुधबार १०:०, काठमाडौँ

शव भुईँमा लडिरहेको छ। आफन्तहरू सबै शोकमा छन्। कतिपय डाको छाडेर रूँदै छन्। अन्तिम संस्कारको तयारी चलिरहेको छ।

त्यही शवको छेउमा अपरिचित दुई युवक आइपुग्छन्, मृतकका नजिकका आफन्त खोज्दै।

परिवारको मुख्य र निर्णायक मान्छे ठम्याएपछि ती युवकले भन्न थाले, ‘हेर्नुस्, तपाईँको मान्छेको नहुनु मृत्यु भइसक्यो। उहाँको मृत्यु भए तापनि आँखा भने अझै जीवित छ। उहाँले यो संसार छोडेर गए पनि उहाँको आँखाको माध्यमबाट अर्को कुनै बच्‍चाले यो संसार देख्न सक्छ।’

बुधबार बिहान करिब १०꞉३० बजे पशुपति आर्यघाटको दृश्य हो यो।

वीर अस्पतालबाट पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहतर्फ एउटा शव दाहसंस्कारको लागि ल्याइयो।

तिलगंगा आँखा अस्पतालको आँखा बैंकका काउन्सिलर (परामर्शदाता) सुन्दर महत र राजु राजवाहकले त्यस शवलाई पछ्याइरहेका थिए। उक्त शव त्यहाँ आइपुग्नासाथ कहाँबाट आएको र कस्तो व्यक्तिको हो भनेर बुझ्न उनीहरू शववाहननजिकै पुगे।

शवलाई सुन्दर महतले चिनेका वीर अस्पतालका चालकले लिएर आएका रहेछन्। त्यसपश्चात् उनलाई थप जानकारी लिन पनि सहज भयो।

सबै कुरा ठिकै देखेपछि उनीहरूले मृतकका आफन्तजनलाई सम्झाउन थाले।

आँखादानका लागि महतले राखेको प्रस्तावमा आफन्तजन कोही सहमत त कोही असहमत भए। लगभग १५ मिनेट जतिको सम्झाइ-बुझाइ र सरसल्लाहपछि मृतकको परिवार आँखा दिन तयार भयो।

मृतक सिन्धुलीको सुनकोसी गाउँपालिकाका ३० वर्षीय सुरज सार्की थिए। बिहान ६꞉०० बजे उनको वीर अस्पतालमा मृत्यु भएको रहेछ। सुरजको मृत्यु क्रोनिक लिभर डिजिज (सीएलडी) को कारण भएको रहेछ।

सुरजका नजिकका अभिभावक काका कुमार बयलकोटी थिए। जो निकै दुःखी अनि मलिन देखिन्थे। कलिलो उमेरमै भतिजालाई दागबत्ती दिनुपर्ने अवस्था आइलागेको थियो उनलाई।

उनै काकाको स्वीकृति र छिमेकीहरू साक्षी राखेर सुरजको आँखा निकालियो। आँखादानपश्चात् सुरजका आफन्तजनलाई सन्दुक रूइतले दस्तखत गरेको सम्मानपत्र हस्तान्तरण गरियो।

उनको आँखाको नानीलाई निकाली कोर्निसोल कोर्नियल स्टोरेज मिडिया नामक तरल पदार्थमा राखियो। यसरी झिकिएको नानीलाई १४ दिनसम्म सुरक्षित राख्‍न सकिन्छ।

नेपालखबरले आई बैंकका व्यवस्थापक शंखनारायण त्वयनासँग बुझ्दा सुरजको आँखा स्वस्थ रहेकाले विराटनगरका एक व्यक्तिमा प्रत्यारोपण गरिँदै छ।

उनका अनुसार एक मृतकका आँखाले चार जना दृष्टिविहीनले संसार देख्‍न सक्छन्।

सुरजले यो संसार धेरै देख्न पाएनन्। तर, आफू मरेर जाँदा अरू कसैलाई भने संसार देखाएर गए।

सुन्दर महत र राजु राजवाहक प्रत्येक दिन यसैगरी पशुपति आर्यघाटमा खटिन्छन्। अस्पतालहरूबाट निस्कने शवहरू पछ्याउँछन्। शव वाहनका चालकहरूलाई साथी बनाउँछन् र सूचनाहरू लिन्छन्।

अनि घाटको त्यही चिच्याहट र आफन्त गुमाएका शोकाकुल परिवारलाई मृतकको आँखा दान गर्नका लागि मनाउँछन्। 

पशुपति आर्यघाटमा शवबाट आँखाको नानी झिकिँदै

कोही कठालो समाउँछन्, कसैको दुर्वचन सुन्नुपर्छ
सुन्दर महतले नेपाल आँखा बैंकको काउन्सिलरको रूपमा यो काम गर्न थालेको १३ वर्ष भयो।

अब त कस्तो घटनालाई कसरी डिल गर्ने र कसलाई कसरी मनाउने भन्ने बानी परिसकेको छ। उनी यो काम गर्न एक्ला पनि छैनन्। आँखा बैंकमा १२ जनाको टोली छ। तीमध्ये कोही अस्पताल त कोही आर्यघाटमा आलोपालो खट्नुपर्छ।     

सुरुमा कुनै व्यक्तिलाई आँखा दानको लागि प्रस्ताव राख्‍नुअघि उनी कसरी मृत्यु भयो, कति वर्षको, मृत्यु भएको कति समय भयो भनेर सोध्छन्। मृतकको मेडिकल हिस्ट्री पनि त्यहीँ बुझिसकेका हुन्छन्।

यदि मृतकलाई रगतसँग सम्बन्धित रोग, आँखाको क्यान्सर थियो वा उमेर हद कम वा बढी रहेछ भने प्रस्ताव नै राख्दैनन्। यस्ता कुरा उनले मृतकका परिवारलाई सोधेर वा मृतकको मेडिकल रिपोर्ट हेरेर पत्ता लगाउँछन्।

यदि सबै कुरा ठिक लाग्यो भनेचाहिँ परिवारको नजिक हुनका लागि परिवारजनलाई शव दर्तादेखि त्यहाँ आइपर्ने विभिन्‍न कार्यमा मद्दत गर्छन्। यसरी मद्दत गर्दै जाँदा सो कार्यमा नेतृव लिने किसिमको व्यक्तिलाई चिनेर आँखाको महत्त्व, दान, धर्मजस्ता कुरालाई जोडेर आँखादानको प्रस्ताव राख्‍छन्।

यसरी प्रस्ताव राख्दा कतिपय व्यक्ति मान्छन् त कतिपयले हुँदैन भन्छन्। ‘हुँदैन भनिसकेपछि भने कुनै पनि किसिमको करकाप नगरी पछि हट्छु’ उनी भन्छन्।

अर्का काउन्सिलर ईश्वरीप्रसाद पराजुलीका अनुसार, कहिलेकाहीँ त यस्ता व्यक्तिहरूसँग पनि ठोकिनुपर्छ, जसले सिधै कठालो समाउन आउँछन्। एक जनाले त ‘तेरो आमा मरेको भए तँ दिन्थिस्?’ भनेर समेत प्रतिप्रश्न गरेको अनुभव पनि उनीसँग छ।

कसैले भने ‘कति पैसा दिन्छौ?’ भनेर सोध्छन् त कसैले ‘तिमीहरू तस्कर मरेपछि पनि छोड्दैनौ’ भनेर कुटौँलाझैँ गर्छन्।

साथीभाइले पनि ‘त्यस्तो मसानघाटमा २ लाख दिए पनि काम गरिँदैन’ भन्दै होच्याउने गरेको महत बताउँछन्।

प्रत्यारोपणका लागि तयार पारिएको आँखाको नानी

फर्किएको दृष्टिले शक्ति दिन्छ
यी काउन्सिलरलाई भने प्रेम र सम्मान छ यस पेसाप्रति। जसले जे भने पनि सुन्नुपर्छ र आफ्नो जिम्मेवारीको काम पूरा गर्नुपर्छ भन्नेमा उनीहरू प्रस्ट छन्। 

जति उनीहरू होच्याउने किसिमका वचन सुन्छन्, त्योभन्दा बढी दृष्टिविहिनले दृष्टि पाएपछि आशिर्वाद पाउँछन्। त्यही आशिर्वाद सम्झेर काम गर्छन्।

‘ती स-साना बालबालिका जसले संसार देखेका छैनन्, तिनले संसार देखेको देख्‍न पाउँदा नै खुसी लाग्छ,’ महत भन्छन्, ‘यसैले मलाई काम गर्ने शक्ति दिन्छ।’

६० प्रतिशतले मान्छन् आँखा दिन
हुन त अस्पतालमै पनि मृतकको आँखाको नानी झिक्न सकिन्छ। कतिपयले जीवित छँदै आफ्नो मृत्युपछि अंग झिक्न सहमति दिएका हुन्छ।

अस्पतालमा आँखाको नानी संकलन गर्न हस्पिटल बेस्ड कोर्निया रिट्राइबल प्रोग्राम (एचसीआरपी)अन्तर्गत पाटन, वीर, शिक्षण र गंगालाल अस्पतालसँग तिलगंगा अस्पतालले सम्झौता गरेको छ।

शंखनारायणका अनुसार अस्पतालमा कसैको आफन्तको भर्खरै मृत्यु भएको छ भने उसको परिवार शोकाकुल हुन्छ। तुलनात्मक रूपमा आर्यघाटमा लगिसकेपछि मनाउन केही सहज हुन्छ। साथै, आर्यघाटमा धेरै मानिसको शव आउने हुनाले पशुपतिबाट नै धेरै आँखा संकलन गर्न सकिएको छ। प्रयास गरिएकामध्ये ५५-६० प्रतिशतलाई दानका लागि मनाउन सकिने शंखनारायण बताउँछन्।

शंखनारायण त्वयना

घाटबाट आँखा ल्याउने पहिलो व्यक्ति
नेपालमा सबैभन्दा पहिले घाटमा गएर नै आँखाको नानी ल्याउने व्यक्ति हुन्, शंखनारायण त्वयना। यस्तो घटना उनले पहिले ‘इन्डिया टुडे’ पत्रिकामा पढेका थिए। जहाँ मृतकको आँखाबाट अर्को आँखा देख्‍न नसक्ने मान्छेले यो संसार देख्‍न सक्ने विषयमा लेखिएको थियो।

जुन कार्य भारतीय डाक्टर सेट्ठीले गरेका थिए। उनले आँखा नदेख्‍ने व्यक्तिको समस्या महसुस गरेर यो काम थालेका थिए। उनले घाटबाट मृत्यु भएको व्यक्तिको आफ्नो मान्छेलाई मनाएर अस्पतालमा ल्याएर आँखा निकाल्ने काम गर्थे।

यसै कार्यबाट प्रेरित भएर शंखनारायणले नेपालमा पनि यसको सुरुवात गरे, २०५१ सालमा पशुपति आर्यघाटमा आँखा दानका लगि परामर्शदाताका रूपमा खटेर। 

उनी भन्छन्, ‘कुनै पनि व्यक्ति मरिसकेपछि कि त जलाइन्छ या गाडिन्छ। त्यस्तो गर्दा यसै पनि उसको आँखाको नानी खेर जान्छ। अब त्यो खेर जाने एक जनाको आँखाको नानीलाई दृष्टिविहीनको आँखामा प्रत्यारोपण गर्न सके ४ जनासम्मले दृष्टि पाउँछन्। यो निकै ठूलो पुण्यको काम हो।’

शंखनारायणका अनुसार, पशुपतिमा दिनको १५-२० वटा शवहरू आउँछन्। १५-२० शव हुनुको अर्थ ३०-४० आँखाको नानी हुन पुग्छ। त्यसै कुरालाई ध्यानमा राखेर यस कामलाई निरन्तरता दिएको उनी बताउँछन्।

‘सुरुमा त एक हप्‍तासम्म कसरी गर्ने, के गर्ने भन्‍ने अलमलमै पर्‍यौँ,’ उनी सम्झन्छन्, ‘तर बिस्तारै शव ल्याउँदा सबै कुरा सम्हालेको र निर्णय लिने व्यक्तिसँग कुरा गर्नुपर्ला भन्‍ने सोचेर उहाँहरूलाई कन्भिन्स गर्न थाल्यौँ। धेरैले त मान्दैनथे। मनाउन सफल भएपछि वारिसको स्वीकृति र दुई जना साक्षीसमेतको अनुमति लिएर आँखाको नानी झिक्ने कार्य सुरू गर्‍यौँ। इन्डिया, युरोप, अमेरिकामा पनि यस्तै हुने गर्छ।’

हरेक वर्ष ७ सात हजारभन्दा बढी आँखा नदेख्‍ने मानिस तिलगंगा अस्पताल आउँछन्। तर, १५-१६ सय जनालाई मात्र प्रत्यारोपण सेवा उपलब्ध गराउन सकिएको छ। मृतकको परिवारको स्वीकृति लिएर वा मृतकले मर्नुभन्दा पहिले दान गर्ने इच्छा जाहेर गरेको छ भने आँखा लिने गरेको शंखनारायण बताउँछन्।

यसरी झिकिन्छ आँखाको नानी
मृतकको शरीरबाट आँखाको नानी (कर्निया) झिक्दा अन्तर्राष्ट्रिय टिस्यु बैंकले स्थापित गरेको कार्यविधि अपनाइन्छ। उक्त नानीलाई प्रत्यारोपण, थेरापी, मेडिकल अनुसन्धान, अध्ययन, अध्यापनको उद्देश्यका लागि पनि प्रयोग गरिन्छ।

सुरजबाट आँखा निकालेर आई बैंकका लगि सिल्ट ल्याम्प कर्निया इभ्यालुसन गरिएको हो। कर्नियामा पाँचवटा तहहरू हुन्छन्। हरेक व्यक्तिको आँखाको नानीको सबै तह बिग्रिएको हुँदैन। प्रविधिले उक्त जालीलाई अगाडि र पछाडि गरी दुई भागमा विभाजन गर्दछ, जसलाई डिमेट डिसिक प्रविधि भनिन्‍छ। त्यसरी दुई भागमा विभाजन गरिएको जालीमध्ये बिरामीलाई जुन भाग आवश्‍यक हुन्छ, सोही भागको प्रत्यारोपण गरिन्छ।

प्रत्यारोपणअघि नानीको उक्त जालीको अवस्था हेरिन्छ। आँखाका कोषहरूको संख्‍या पनि गनिन्छ। यो कार्य कम्प्युटरबाट नै हुन्छ। यदि सेलको संख्‍या २ हजारभन्दा कम छ भने उक्त नानी (कर्निया) प्रत्यारोपणको लागि उपयुक्त नहुने शंखनारायण बताउँछन्।

मृतकबाट लिइएको रगतबाट एचआईभी, ब्लड क्यान्सर, आँखाको क्यान्सर, अन्य सरुवा रोग लागेको छ-छैन पनि जाँच गरिन्छ। यदि यस्ता रोग देखिएमा आँखा प्रत्यारोपण गरिँदैन। उक्त नानी अनुसन्धानको लागि मात्र काम लाग्छ।

नानी झिक्ने काम १० देखि १५ मिनेटमै सकिन्छ।

नेपाल आँखा बैंकमा पशुपति आर्यघाटबाट संकलन गरिएको आँखाको नानी परीक्षण गरिँदै

थोरै खर्चमा हुन्छ प्रत्यारोपण
मानिसको आँखाको नानीमा पाँचवटा लेयर (पातलो झिल्ली) हरू हुन्छन् र सबै दृष्टिविहीनको आँखाको नानीको सबै तह बिग्रिएको हुँदैन। बिरामीको आँखा जाँच गरेपछि डक्टरले कुन तह वा पूरै नानी कति फेर्नुपर्ने हो, त्यो लेखिदिएका हुन्छन्। सोहीअनुसार प्राथमिकताको हिसाबमा क्रमशः बच्चा, युवा, टाढा घर भएको व्यक्ति, आदिलाई राखिन्छ। त्यसपछि आँखाको नानी पाउनेबित्तिकै उपचार तथा अपरेसन सुरु गरिन्छ। प्रोसेसिङ शुल्क (शल्यक्रिया शुल्क होइन) २५ देखि ३० हजार रूपैयाँ लाग्छ।। नानी निःशुल्क हुने भएकाले त्यसको अलग्गै खर्च लाग्दैन। तर कोही त्यति खर्च पनि जुटाउन नसक्ने छन् र अपरेसनपश्चात् आँखा ठिक हुन्छ भने तिलगंगा अस्पतालको समन्वयमा निःशुल्क शल्यक्रिया पनि गरिन्छ।

नेपालमा शुल्क कम भएकै कारण भारतबाट पनि आँखा प्रत्यारोपणका लागि नेपाल आउने गरेको अस्पतालको अनुभव छ।

झिकेर ल्याइएको स्वस्थ आँखाको नानीलाई १४ दिनसम्म सुरक्षित साथ राख्‍न सकिन्छ।

यसरी हुन्छ प्रत्यारोपण
सामान्यतः आँखा दान वा प्रत्यारोपण भन्‍नेबित्तिकै आँखा डल्लो नै झिकेर फेर्ने हो कि भन्ने बुझाइ पनि छ। तर वास्तवमा आँखा प्रत्यारोपण भनेको नानी मात्रको प्रत्यारोपण हो।

नानी हाम्रो आँखाको सबैभन्दा बाहिरपट्टि रहेको पारदर्शी झिल्ली हो। कुनै कारणवश आँखाको नानीमा फुलो पर्न गई दृष्टिहीन भएकालाई दृष्टि प्रदान गर्ने उद्देश्‍यले फुलो परेको नानीलाई काटेर झिकिन्छ र बदलामा आँखा दान गर्ने व्यक्तिबाट प्राप्‍त सफा नानी प्रत्यारोपण गरिन्छ।

आँखाको नानी विश्वभर नै खरिदबिक्री गर्न पाइँदैन। साथै कुनै व्यक्तिले आफू जीवित छँदै अरूलाई नानी प्रदान गर्न सक्दैन, जसरी मृगौला, कलेजो दिन सकिन्छ।

यदि कुनै व्यक्तिले आफ्नो आँखा दान गर्न चाहन्छ भने जीवित छँदा दिएको सहमतिअनुसार मृत्युपश्चात् मात्र नानी झिक्न पाइन्छ।

गर्मीमा आँखाको नानी छिट्टै बिग्रने सम्भावना हुने भएकाले मृतक व्यक्तिबाट सालाखाला ६-८ घण्‍टामा निकाल्नुपर्ने हुन्छ। मृतकको आँखा बन्द भएको छैन भने बिग्रने सम्भावना हुन्छ। त्यसैले आँखा बन्द हुनुपर्छ। ‘जाडोमा भने १२ घण्टा सम्ममा पनि आँखा निकाल्न सकिन्छ,’ शंखनारायण भन्छन्।

यदि शव फ्रिजमा राखेको छ भने २४ घण्‍टासम्म पनि आँखाको नानी झिक्न सकिन्छ।

वर्षमा १६ सय संकलन
निकै ठूलो अनुसन्धान र प्रयासपछि रसियाका डा फिलाटोभलाई सन् १९४० तिर मृत शरीरबाट आँखाको नानी प्राप्‍त गरी प्रत्यारोपण गर्ने कार्यमा पहिलो सफलता मिलेको थियो। यस सफलताले गर्दा फुलो परी हुने अन्धोपनलाई हटाउन आँखाको नानी प्राप्ति, संरक्षण र सञ्चयका लागि आँखा बैंकको अवधारणा विकसित भयो।

आँखा बैंकको मुख्‍य उद्देश्य मृतकको शरीरबाट आँखाको नानी प्राप्‍त गरी दृष्टिविहीनलाई पुनः दृष्टि प्रदान गर्नु हो।

चिकित्सकहरूका अनुसार, आँखाको नानीमा फुलो परेपछि त्यसको कुनै औषधि छैन। यसको एक मात्र उपाय आँखाको नानी फेर्ने हो।

नेपालमा विसं २०५१ भदौ ३१ गते इन्टरनेसनल फेडरेसन अफ आई एन्ड टिस्यु बैंकको सहयोगमा गौशालाको तिलगंना आँखा केन्द्रमा नेपाल आँखा बैंकको स्थापना भएको हो।

सोही समयदेखि घाटमा गएर आँखाको नानी ल्याउने कार्य पनि सुरु भयो। गएका १२ वर्षदेखि अस्पतालसँग सम्झौता गरेर नानी लिने कार्य पनि भइरहेको छ।

नेपाल आई बैंकलाई एसियामा टेम्पल आई बैंकको नामले पनि पनि चिनिन्छ।

नेपाल आँखा बैंकका अनुसार, नेपालमा गरिएको एक अन्धोपन सर्वेक्षणले हरेक सय जना व्यक्तिमा करिब एक जना(०.८ प्रतिशत) दृष्टिविहीन रहेको देखाएको छ। जसको प्रमुख दुई कारण छन्– आँखाको लेन्सको पारदर्शकत्वमा ह्रास आएर हुने मोतिबिन्दु र आँखाको नानीमा आउने खराबीले हुने अन्धोपन हो।

नेपालमा पहिलोपल्ट ३१ वर्षअघि (सन् १९९४) आँखा दान भएको थियो। त्यस वर्ष जम्मा २ जनाले दान गरेका थिए। अहिले आएर वर्षमा एक हजारभन्दा बढी व्यक्तिबाट प्राप्त हुन थालेको छ। गएको वर्षमा १ हजार ६१६ जनाको आँखा प्राप्त भएको बैंकको तथ्यांक छ।

आँखाको नानीमा फुलो कसरी पर्छ?
फुलो पर्नुका विभिन्‍न कारणहरू हुन्छन्। जसमध्येको मुख्‍य कारण आँखामा लागेको चोटपटकको समयमै उपचार नहुनु हो।

ठूलो संख्याका नेपाली कृषिमा संलग्न छन्। खेतबारीमा दैनिक कार्य गर्दा आँखामा चोटपटक लाग्छ। समयमा सही उपचार पाउँदैनन्। अनि नानीमा फुलो बस्छ र व्यक्ति दृष्टिविहिन हुन पुग्छ।

यसबाहेक पनि आँखा पाक्ने, दादुरा, टाइफाइट, बिफर, कुपोषण आदि कारणले पनि आँखाको नानीमा फुलो पर्न जान्छ।

तिलगंगा आँखा अस्पतालका अनुसार नानीको खराबीले दृष्टिविहीन हुनेहरूमा प्रायः बालबालिका र युवाहरू देखिने गरेका छन्।

आँखादान स्वस्थ आँखा भएको कुनै पनि व्यक्तिले गर्न सक्छ। यसमा कम उमेर भएको र आँखाको पावर कम भई चस्मा लगाएको कुराले कुनै बाधा गर्दैन।

एसओपी (‍इस्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर) ले आँखाको नानी २ वर्षदेखि ७५ वर्ष सम्मका मानिसको झिक्ने मापडण्‍ड तोकेको छ। तर नेपालमा भने अति आवश्‍यक परेको अवस्थामा (आँखा फुटेको समयमा) आँखाको नानी सफा भएका ८०-८५ वर्षका मानिसको पनि नानी निकालेर प्रत्यारोपण गरिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad