समाज


...अनि वीरबहादुर र थानेश्वर ट्रक चढे

...अनि वीरबहादुर र थानेश्वर ट्रक चढे

सागर न्यौपाने/लक्ष्मी जिसी
बैशाख ४, २०७७ बिहिबार १०:४४,

उनीहरु ६ महिनाअघिदेखि मेलम्ची नगरपालिकाको भोटेचौरमा सरस्वती उच्च माविको भवन बनाइरहेका थिए।

कोरोना भाइरस रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्‍यो। त्यसपछि स्कुलमा निर्माण सामग्री आउन छोड्यो। वीरबहादुर चौधरी र थानेश्वर चौधरीको काम पनि रोकियो।

‘स्टक सामाग्रीले चैत २८ गतेसम्म काम गरिरहेका थियौं, तर, सिमेन्ट, बालुवा लगायतका सामग्री सकियो,’ बुधबार अपरान्ह गुर्जुधारामा भेटिएका थानेश्वरले नेपालखबरसँग भने, ‘सामान नै सकिएपछि हाम्रो काम रोकियो।’

अर्कोतिर लकडाउन पुनः दुई साताका लागि थपियो। ठेकेदार पनि सम्पर्कमा आएनन्। उनीहरुको समूह समस्यामा पर्दै गयो।

केहीदिनसम्म त थानेश्वरले खानपानको व्यवस्था मिलाए। आफूसँग बचेको पैसाले टोलीका सबैलाई खाद्यान्नको व्यवस्था गरे, तर उनीसँग भएको खर्च पनि सकिएपछि एउटै विकल्प थियो, घर फर्किने।

‘ठेकेदार २० दिनदेखि काठमाडौंमै रोकिएका थिए, भएको पैसा पनि सकियो, अनि हिँड्नुबाहेक अरु केही उपाय नै भएन,’ वीरवहादुरले भने।

Lockdown_walking_home_14.jpg

नगरपालिकाले मजदुरका लागि दिएको राहत त दिएको थियो।

‘तर, ग्यास थिएन,’ वीरबहादुरले भने, ‘चामल मात्रै खाने कुरा भएन।’

त्यसपछि थानेश्वर र वीरबहादुरसहित २६ जनाको टोली भोटेचौरबाट मंगलबार काठमाडौँ हुँदै बर्दिया जान हिँड्यो।

मंगलबार बेलुका १० बजेतिर उनीहरु साँखु आइपुगे। थाकेर चुर भएका उनीहरु चिउरा र दालमोठ खाएर पाटीमा सुते।

बुधबार बिहान सबेरै हिँड्न थालेका मात्र थिए, प्रहरीले केरकार गर्न थाल्यो।

पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनालाई कोरोना पोजिटिभ देखिएपछि प्रहरीले काठमाडौंमा पैदल हिड्ने यात्रुलाई समेत निगरानी गरेको छ, उनीहरु पनि परे। डेढघण्टापछि प्रहरीले छोडिदियो।

वीरबहादुरले काठमाडौंमा रहेका अन्य साथीहरुलाई सम्पर्क गरेर बल्खु बोलाए। ३ जना आए।

Lockdown_walking_home_9.jpg

२९ जनाको टोली कलंकी हुँदै निस्कियो बर्दियासम्मको यात्रामा।

अघिल्लो दिन हल्का वर्षा भएको काठमाडौँमा बुधबार दिउँसो घाम चर्केको थियो। त्यही घाममा सामानसहित उनीहरुको लामो लस्कर हिँडिरहेको थियो।

३ बजे उनीहरु गुर्जुधारा पुगे।

सडकमा चिउरा, दालमोठ, भुजिया र पिउने पानी राखेर बसेका थिए ईश्वर श्रेष्ठ। उनले ती २९ जनालाई खाजा बाँडे।

‘यस्तो बेलामा मानिसहरु हिँडेको देखँे, साह्रै मनदुख्यो अनि आफ्नै खर्चमा केही खाजा खुवाएँ,’ नेपालखबरसँग श्रेष्ठले भने, ‘संकटमा परेका नेपालीका लागि ८÷१० हजार व्यक्तिगत खर्च गरेँ।’

पेसाले ड्राइभर उनले बुधबार मात्रै करिब डेढ सयलाई खाजा बाँडेको बताए।

गुर्जुधारामा खाजा खाएर थानेश्वरको टोली अघि बढ्यो। उनीहरु थानकोटतर्फ हिँडिरहेका थिए। सडकमा प्रहरीको गस्ती पनि थियो। एकछिनपछि तीनवटा मालवाहक ट्रक थानकोटतिरै लागे। लम्किए।

‘गाडी पाइएको छ छिटो आउनू,’ वीरवहादुरले फोनमा अरु साथीहरुलाई भने।

कलङ्कीदेखि थानकोटसम्म पुग्दा बर्दिया र दाङ जानेहरुको सात वटा समूह भेट्यौँ। सबैभन्दा बढी बर्दिया जाने थिए। उनीहरु प्रहरीको आँखा छल्न सानो समूहमा हिँडेका रहेछन्। दाङको हापुरेका भीम थापा पाँच जना अन्य साथीहरुसहित हिँडिरहेका थिए।

‘एउटा तरकारी गाडी रोकेर हामीलाई चढाइदिनू न सर,’ उनले हामीलाई आग्रह गरे।

पत्रकार देखेपछि उनीहरु बोल्न खोज्थे। घर पुग्न केही सहयोग हुन्छ कि भन्ने आशा देखिन्थ्यो।

सात–दश दिनमा बर्दिया पुगिएला भनेर हिँडेका उनीहरु वीरबहादुरको फोन आएपछि अलि छिटो हिँड्न थाले।

थानकोट भन्दा ३ किलोमिटर तल उनीहरुलाई कुरेर एउटा ट्रक बसेको रहेछ।

Lockdown_walking_home_10.jpg

‘एउटा ट्रक भेटिएको छ, बर्दियासम्म लगिदिन्छ रे,’ थानेश्वरले भने, ‘पराल बोक्ने गाडी रहेछ, रोक्यो भने त्यसमै जानुपर्छ।’

वीरबहादुरले फोन गरेर छिटो बोलाएका व्यक्ति परशुराम चौधरी र जोगिलाल चौधरीको टोली रहेछ। बर्दिया राजापुर १० का भएको र ज्यामी नै काम गर्ने भएकोले उनीहरुले ट्रक भेटिएको बेला सँगै जान खोजेका रहेछन्।

झण्डै ५० जनाको टोलीले थानकोटाबाट आधा घण्टा हिँडेपछि ट्रक भेट्यो। हिँडेर थाकेका उनीहरुका गोडा फुर्तिसाथ ट्रकमा उक्लिए।

वीरबहादुरको आँखामा घर पुग्ने आशा पलाएको थियो।

‘बीचमा कतै पुलिसले नरोके अब त घर पुग्छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad