समाज


बाढीपहिराे: कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

बाढीपहिराे: कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

नेपालखबर
साउन २८, २०८२ बुधबार १३:३२, काठमाडौँ

अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मी र  बागलुङमा कालीगण्डकी करिडोर अवरुद्ध भएकाे छ।

कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि याे सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
     
सडक अवरुद्ध हुँदा अहिले दुवैतर्फका सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन्। अवरुद्ध सडक खुलाउन सडक निर्माण कम्पनीबाट स्काभेटर तयारी अवस्थामा राखिएको भए पनि पानी परिरहेको र सडक माथिबाट पहिरो खसिरहेका कारण तत्कालै पहिराे हटाउन समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए। 
      
त्यसैगरी पहिराेले गुल्मीकै रिडी–वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि आज उक्त सडक पनि पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएकाे छ।
     

डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध भएकाे हाे। त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै बागलुङको बुर्तिबाङसम्म आवतजावत गर्ने सवारीसाधन यतिबेला बीच बाटोमै रोकिएका छन्। डहरे खोलाले गत साता एउटा कारसमेत बगाएकाे थियाे।

अवरुद्ध सडक सञ्चालन गर्नका लागि जिल्ला प्रहरी कार्यालयले जोहाङ् खैरेनी र पुर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाएको छ। 
जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ। त्यसैगरी वर्षाका कारण बडिगाड खोला र कालीगण्डकीमा पनि पानीको सतह बढ्दै जान थालेको छ। 

यसैगरि बागलुङमा पनि कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ। भारी वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा भिषण पहिरो झर्दा करिडोर अवरुद्ध भएको हाे। पाँच दिन अगाडिदेखि अवरुद्ध सडकमा मङ्गलबार दिउँसोदेखि गाडी चलेका थिए।

रातभर वर्षा भएपछि आज बिहान ९ः०० बजे सडक माथिदेखि पहरासहितको पहिरो खस्दा करिडोर ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ।

अवरुद्ध सडक खुलाउनका लागि प्रयास गरे पनि अहिले पनि वर्षा भइरहेको कारण सम्भव नभएकाे प्रहरी निरीक्षक थापाले बताए। सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवालगायतका स्थानमा पुग्ने सवारी साधनसमेत ठप्प हुँदा यात्रु अलपत्र परेका छन्।

‘कालाखोला क्षेत्रमा ठूलो पहिरो खसिरहेको छ, पाँच दिन अगाडि खसेको पहिरो हिजो मात्रै खुलाएका थियौँ, आज फेरि ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ’, प्रहरी निरीक्षक थापाले भने, ‘यातायता ठप्प हुँदा यात्रुलाई समस्या भएको छ। ठूला–ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ। कालीगण्डकी करिडोर आयोजनासँग सहकार्य गरेर खुलाउने छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad