समाज


चिउराको भरमा पोखराबाट बागलुङ हुँदै रोल्पासम्म

चिउराको भरमा पोखराबाट बागलुङ हुँदै रोल्पासम्म

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ७:१३,

लकडाउन थपिँदै जान थालेपछि पोखरामा रोकिएर बसेका रोल्पाका सात मजदुर बागलुङ हुँदै गृहजिल्ला हिँडेका छन्।

सोमबार बिहान चार बजे पोखराबाट हिँडेका मजदुरको समूह मंगलबार दिउँसो जिल्ला सदरमुकाम बागलुङमा भेटिएका थिए।

रोल्पाको लुङ्ग्री गाउँपालिका–६ मचालका सात मजदुर विगत लामो समयदेखि गण्डकी प्रदेशको राजधानी पोखरा आसपासको सडक निर्माणमा कार्यरत थिए। उनीहरु रोल्पाका दुर्गम गाउँका समुदाय देशभर सडक निर्माणमा मजदुरी गरी घरपरिवार पाल्दै आएका छन्।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणकाट बच्नका लागि नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी रहेका कारण सबैभन्दा बढी मर्कामा ज्यालादारीमा काम गर्ने मजदुर पर्दै आएका छन्।

दुई दिनमा पोखराबाट बागलुङ आएका मजदुर अबको चार दिनमा रोल्पा पुग्ने लक्ष्य राखेका छन्। उनीहरुलाई बागलुङदेखि रुकुम पुग्नै दुई दिन लाग्नेछ। ज्यालादारीमा कमाएको पैसाले यतिका दिन खान पुगे पनि लकडाउन नखुल्ने भएपछि हिँडेरै घर पुग्न थालेको लुङ्ग्री गाउँपालिका–६ मचालका भविरोका क्षेत्रीले बताए।

‘कमाइको पैसा पनि खानामै सकियो, राहतका नाममा पाएको पाँच किलो चामल पनि खाइयो’, मजदुर क्षेत्रीले भने, ‘लकडाउन खुल्ने अवस्था नआएपछि बाँच्नकै लागि भए पनि हिँडेर घरतर्फ लागेका हौँ।’ मजदुर क्षेत्रीसँगै सात जनाको समूहले पाँच किलो चिउराको भरमा पोखराबाट रोल्पाका लागि यात्रा तय गरेको दुखेसो पोखे।

सडक निर्माण ठप्प भएपछि खाना बस्दा कमाएको पैसा सकिएर रित्तो हात घर फर्किएको मजदुरले बताएका छन्। ‘अघिपछि घर फर्किँदा गोजीमा दुई÷चार पैसा हुन्थ्यो’, क्षेत्रीले भने, ‘कमाएको पैसा खाएर सकियो, बाँचे फेरि कमाउँला अहिले घर पुग्न पाए हुन्थ्यो।’

लकडाउन खुल्ला र काम गरौँला भन्दाभन्दै महिना बित्न थालेपछि बाँच्नै गाह्रो भएर घर हिँडेको मजदुरले बताएका छन्। रातको समयमा सडकपेटीमा सुतेर चिउरा र पानी खाँदै घरतर्फ हिँडेको उनीहरुको भनाइ छ। ‘पेट पाल्नै गाह्रो भयो, घर गएर आटोपिठो खाउँला’, मजदुर क्षेत्रीले भने, ‘बाँचे फेरि काम गरौँला।’

मजदुरहरुका अनुसार एक ठाउँमा मात्रै स्वास्थ्य परीक्षण गराउन पाएको बताए। मजदुरलाई बागलुङ प्रवेशद्वारमा बागलुङ नगरपालिकाले स्थापना गरेको हेल्थ डेक्समा ज्वरो तथा स्वास्थ्य परीक्षण गराई घरतर्फ पठाइएको थियो।

उल्लंघन गर्नेलाई कोरोना प्रशिक्षण
कोरोना रोकथामका लागि सरकारले चैत ११ गतेदेखि गर्दै आएको लकडाउन उल्लंघन गर्ने क्रम बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले धमाधम पक्राउ गरेको छ। बिनाकाम बागलुङ बजारमा डुल्दै गरेकालाई प्रकाउ गर्दै धवलागिरि बहुमुखी क्याम्पसको प्रांगणमा राखेर कोरोना सचेतना प्रदान गर्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार मात्रै १२० जनालाई पक्राउ गरी तीन घण्टासम्म क्याम्पस प्रांगणमा राखेर कोरोना प्रशिक्षण गरेर छाडेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। सरकाले गर्दै आएको लकडाउन फितलो भएको भन्ने जनगुनासो आएपछि प्रहरी कडारूपमा प्रस्तुुत भएको हो। यसअघि प्रहरीले झण्डै ३६० लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गरी सचेतना प्रदान गर्दै छाडेको थियो।

प्रहरीले लकडाउन उल्लंघन गर्नेका लागि कारबाही गर्न फरक दस्ता नै बनाएको छ। प्रहरीले कोरोनाको पूर्ण सुरक्षा अपनाएर पक्राउ गर्दै प्रांगणमा लैजाने गर्दछ। प्रहरीले मंगलबार लकडाउन उल्लंघन गरी मोटरसाइकल चलाउने १७ जनालाई समेत कारबाही गरेको छ। लकडाउनको समयमा अटेर गरी हिँड्ने, मोटरसाइकल चलाउने गतिविधिविरुद्ध प्रहरी कडारुपमा प्रस्तुत भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .