समाज


बैंकबाट लिएको १८ करोड दुर्गा प्रसाईंद्वारा दुरुपयोग, कहाँकहाँ गरे खर्च?

बैंकबाट लिएको १८ करोड दुर्गा प्रसाईंद्वारा दुरुपयोग, कहाँकहाँ गरे खर्च?

उजिर कार्की
साउन २०, २०८२ मंगलबार २०:७, काठमाडौँ

मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंका दुईवटा मुद्दामा सोमबार उच्च अदालत पाटनका छुट्टाछुट्टै इजलासमा सुनुवाइ भयो। दुवै मुद्दामा पुर्पक्षका लागि धरौटी माग भयो र माग गरेको धरौटी बुझाएर प्रसाईं तत्कालै थुनामुक्त भए।

यसअघि तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा भएका विभिन्न घटनामा संलग्न रहेको अभियोगमा उनी जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा थिए। उनी गत जेठ २९ गतेदेखि डिल्लीबजार कारागारमा थिए।

तर उनलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै उच्च अदालतले उनलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दियो।

यस्तै उनीविरुद्ध आइतबार दर्ता भएको अर्को मुद्दामा पनि धरौटीमा रिहा गर्न उच्च अदालतबाटै आदेश आयो। उच्च अदालतको वाणिज्य इजलासले बैंकिङ कसुरको अभियोगमा प्रसाईंसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको हो।

यस कसुरमा प्रसाईंसहित उनको परिवारका श्रीमती र छोराछोरीलाई पनि प्रतिवादी बनाइएको छ।

अदालतले माग गरेको धरौटी बुझाएर प्रसाईं सोमबार राति नै छुटिसकेका छन्। अब उनकी श्रीमती उमा, छोरा निराजन र छोरी आर्जु प्रसाईले पनि अदालतमा बयान दिनुपर्नेछ। यसैगरी थुनछेकसम्बन्धी बहस हुनेछ। र, नियमित तारिख धाउनुपर्नेछ। र, कसुर ठहर भएमा बिगो रकम, त्यति नै जरिवाना मात्र तिर्नुपर्ने छैन, कैद पनि बस्नुपर्नेछ।

कर्जा दुरुपयोगको अभियोगमा दुर्गाविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। श्रीमती उमा र छोरी आर्जुका हकमा ९–९ करोड र छोरा निराजनका हकमा ४ करोड रुपैयाँ बिगो कायम भएको छ।

उनीहरूले एउटा प्रयोजनका लागि भनेर कर्जा लिए पनि अर्कै काममा खर्च गरेको अनुसन्धानको निष्कर्ष छ। यो कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कर्जाको दुरुपयोग गर्न नहुने सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो।

ऐनमा कसैले पनि कुनै बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो, सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था छ। 

यो ऐन अनुसार एक करोडदेखि १० करोडसम्म बिगो भएमा ४ वर्षदेखि ६ वर्षसम्म र १० करोडभन्दा माथि ५० करोडसम्म बिगो भए ६ देखि ८ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ। 

यस्तै बिगो र त्यसैबराबरको जरिवाना पनि भराउनुपर्ने व्यवस्था छ।

दुर्गा प्रसाईंले बयान गर्दा परिवारका सबैको नाममा रहेका कम्पनीको कारोबार आफैँले गरी आएकाले सबै जिम्मेवारी आफ्नै मात्र भएको बताएका थिए। 

दुर्गा प्रसाईले यूए मेडिकल सप्लायर्स एन्ड इक्विपमेन्ट र होटल अट्रियुम समेतको कर्जा रकम दुरुपयोग गरेको आरोप छ। एनआईसी बैंकबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निर्माणका लागि प्रवाह भएको १२ करोड ५० लाख कर्जाबाट बन्दना कन्स्ट्रक्सन प्रालिलाई ११ करोड ८० लाख भुक्तानी भएकोमा बन्दना कन्स्ट्रक्सनबाट बी एन्ड सी टिचिङ हस्पिटल मेडिकल कलेज रिसर्च सेन्टरको नाममा ५ करोड ४४ लाख रकमान्तर गरेको पाइएको छ। 

उक्त रकमबाट ९५ लाख रुपैयाँ निरोज मेडिको ट्रेडर्सलाई भुक्तानी गरेको र डा. वीरेन्द्रकुमार यादव समेत ५ जना डाक्टरहरुको नाममा ३ करोड ३७ लाख ५० हजार रकमान्तर गरेको पाइएको छ। 

वीरेन्द्र यादव समेतले दुर्गा प्रसाईंको नाममा रकमान्तर गरी दुर्गा प्रसाईंले फेरि प्रदीप मित्तललाई ३ करोड ३७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको देखिएको छ। यसरी पुरानो कर्जा चुक्ता गरेको अनुसन्धानबाट खुलेको छ। 

यसरी एकपछि अर्को रकमान्तर गर्दै ५ करोड ४४ लाख रुपैयाँ दुरुपयोग गरेको अभियोग छ। 

यस्तै पुर्वाञ्चल क्यान्सर हस्पिटल, यूए मेडिको सप्लायर्स र होटल अट्रियुमका लागि भन्दै एनआईसी एसिया बैंकबाट लिएको १२ करोड ५० लाख गुडविल फाइनान्सबाट लिएको १० करोड र नेपाल इन्भेस्टमेन्ट बैंकबाट लिएको ५ करोड रुपैयाँ पनि जुन प्रयोजनका लागि भनेर लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र खर्च गरेको पाइएको छ। 

उनले त्यो रकम पनि पुरानो ऋण चुत्ता गर्न प्रयोग गरेको पाइएको छ। 

होटल अट्रियुमका नाममा लिएको ५ करोड रुपैयाँ कर्जा भगवती कन्स्ट्रक्सनको नाममा ४ करोड भुक्तानी गरेको र त्यहाँबाट पनि रकमान्तर गराई बीएन्डसीको पुरानो कर्जा चुक्ता गर्न प्रयोग गरेको पाइएको छ। 

यस्तै यूए मेडिको सप्लार्यसका नाममा लिएको १० करोड रुपैयाँमध्ये पनि भेन्डर कम्पनी महालक्ष्मी इन्टरप्राइजेजमा भुक्तानी भएकोमा त्यहाँबाट फिर्ता लिएर बीएन्डसीकै पुरानो कर्जा चुक्ता गरेको पाइएको छ। 

होटलका नाममा कर्जा लिँदा उनले क्यासिनो, ब्यांक्वेट हल र स्विमिङ पुल बनाउने भने पनि त्यसमा खर्च नगरी अन्य कम्पनीको पुरानो कर्जा चुक्ता गरेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad