समाज


फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृत्यु

घटनापछि भागेका भारतीय युवक जनकपुरबाट पक्राउ, बन्दुक धनि नेपाली पनि समातिए
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृत्यु

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १०:५३, काठमाडौँ

सिन्धुलीको दुधौलीमा भरुवा बन्दुक पड्किँदा एक भारतीय युवकको मृत्यु भएको घटना अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक छन्। 

यही साउन ५ गते सिन्धुलीको दुधौली-२ कालीडाँडामा भरुवा बन्दुकबाट गोली चल्दा भारतको बिहारका २५ वर्षीय पंकज कुमारको मृत्यु भएको थियो। 

स्थानीय मधुगंगा शिव मन्दिरमा आएका करिब २० जना भारतीय बसेको ठाउँमा अचानक गोली चल्दा पंकजको मृत्यु भएको पाइएपछि प्रहरीले घटना अनुसन्धान अघि बढाएको थियो। 

अनुसन्धानको क्रममा मृतक युवकसँगै भारतबाट आएका २० वर्षीय अविनास कुमार दास, नेपाली नागरिक तिलमाया घिसिङ र विष्णुबहादुर घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

घटनापछि फरार भएका दासलाई जनकपुरधाम उपमहानगरपालिका-९ बाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

भारतीयहरु कालीडाँडास्थित पदमबहादुर घिसिङको घरमा भेला भएर बसेको ठाउँमा स्थानीय विष्णुबहादुर घिसिङको बन्दुक लिएर दासले फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा घटना भएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ। 

घटना अनुसन्धानको क्रममा त्यस ठाउँबाट रगताम्मे अवस्थामा चक्कु र खुर्पासमेत प्रहरीले बरामद गरेको थियो। स्थानीय जंगलमा लुकाएर राखेको अवस्थामा बन्दुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad