ad ad

समाज


कोरोना संक्रमित तीन भारतीयको ‘ट्राभल हिस्ट्री’ पछ्याउँदै प्रहरी, रासनकार्ड फेला

कोरोना संक्रमित तीन भारतीयको ‘ट्राभल हिस्ट्री’ पछ्याउँदै प्रहरी, रासनकार्ड फेला

उजिर कार्की
बैशाख १, २०७७ सोमबार १४:३४,

पर्सा प्रहरीले कोरोना संक्रमण देखिएका तीन जना भारतीयसँगको सम्पर्कमा रहेका व्यक्तिको खोजी तीव्र बनाएको छ। उनीहरु गएका ठाउँ र उनीहरुले भेटेका व्यक्तिको खोजी भइरहेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।

वीरगन्ज महानगरपालिकाको वडा नं २ स्थित मस्जिदमा रहेका १४ जना भारतीय नागरिकमध्ये तीन जनामा कोराना संक्रमण देखिएको आइतबार पुष्टि भएको थियो। उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु कहाँ गएका थिए र ककसलाई भेटेका थिए भन्ने सूची बनाएर प्रहरीले खोजी गर्न थालेको छ।

उनीहरुको सम्पर्कमा रहेका थप १० जनालाई सोमबार दिउँसोसम्ममा क्वारन्टिनमा राखिएको छ। अरु ७ जना पनि पहिचान भइसकेको र उनीहरुलाई क्वारन्टिनमा ल्याउने तयारी भइरहेको एसपी पन्तले बताइन्।

संक्रमितको सम्पर्कमा रहेका २६ जनालाई यसअघि नै क्वारन्टिनमा राखिसकिएको छ।

उनीहरुले डिसेम्बरमा नेपाल प्रवेश गरेको बताएपनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीले पाएको सूचनाअनुसार उनीहरु डिसेम्बर १७ मा भारतको नयाँ दिल्लीबाट रेलमा जोगबनी नाकाहुँदै नेपाल प्रवेश गरेका थिए।

मोरङको एक मस्जिदमा २ दिन बिताएका उनीहरु सुनसरीको दुहबीमा १० दिन बसेका थिए। फेब्रुअरी २० देखि ३० सम्म दुहबीमा बसेको तिनलाई नेपालमा व्यवस्थापन गर्ने व्यक्तिले प्रहरीलाई जानकारी दिएका छन्।

यस्तै १ जनवरीदेखि १३ फेब्रुअरीसम्म उनीहरु सुनसरीकै इनरुवामा बसेका थिए। १४ फेब्रुअरीमा उनीहरु सप्तरी पुगेका थिए। १९ तारिखमा पर्साको वीरगन्ज पुगेका उनीहरुले वीरगन्जमा विभिन्न मस्जिदमा प्रवचन दिएका थिए।

१९ मार्चसम्म त्यहाँका विभिन्न ६ वटा मस्जिद घुमेको जानकारी प्रहरीले पाएको छ।

यही समूहमा रहेका दुई जनाले वीरगञ्ज आइसकेपछि एक पटक रक्सौलसम्म पुगेर एटीएमबाट पैसा निकाली फर्केको बताएका छन्। तर, ती दुईमा संक्रमण देखिएको छैन।

बयान फरक फरक रहेकाले उनीहरूको यात्रा विवरणबारे प्रश्न उठिरहेका बेला प्रहरीले यी भारतीयको साथमा रासनकार्ड फेला परेको छ।

८ जनाको अर्को समूह भने बुटवलबाट सीधै काठमाडौं आएर सप्तरीको कार्यक्रममा पुगेको थियो। त्यहाँबाट वीरगन्ज गएका उनीहरु पनि छुट्टै समुहमा मस्जिदहरुमा डुलेका थिए।

उनीहरुको पनि ‘ट्राभल हिस्ट्री’ तयार गरेर मानिसहरुलाई क्वारन्टिनमा राख्ने काम भइरहेको प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा जोखिम बढ्दो
पछिल्लो समय अन्य मुलुकबाटभन्दा भारतबाट आउनेमा बढी संक्रमित देखिएको छ। भारतीय सिमानाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम पनि नरोकिएकाले थप जोखिम बढेको हो।

सरकारले पनि यही अवस्थालाई मध्यनजर गर्दै सीमाक्षेत्रमा सुरक्षाकर्मी थप गर्ने तयारी गरेको छ। सोमबार गृहमन्त्री नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नै सीमा क्षेत्रमा थप जनशक्ति पठाउन निर्देशन दिएका छन्।

भारतीय सीमामा आवतजावत जसरी पनि बन्द गर्ने निर्देशन उनले दिएका छन्। हिमाली तथा पहाडी जिल्लामा रहेका सशस्त्र प्रहरीलाई समेत सिमानामा केन्द्रीत गर्न गृहमन्त्रीले भनेका छन्।

अहिले १ हजार ३ सय ३० वटा चेकपोस्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० हजार बढी सुरक्षाकर्मी खटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .