ad ad

समाज


प्रदेश २ मा कोरोना संक्रमित बढ्न थालेपछि निजी अस्पतालहरुमा उपचारको व्यवस्थापन गरिँदै

प्रदेश २ मा कोरोना संक्रमित बढ्न थालेपछि निजी अस्पतालहरुमा उपचारको व्यवस्थापन गरिँदै

शैलेन्द्र महतो
बैशाख १, २०७७ सोमबार १३:४८,

प्रदेश २ मा कोरोना संक्रमित बढ्न थालेपछि उपचार र रोकथामको लागि तिब्र रुपमा तयारी थालिएको छ। प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारलाई प्राथमिकतामा राखेर सरकारी अस्पतालमा मात्र निर्भर नभई निजी अस्पतालको व्यवस्थापनको तयारी थालेको हो।

कोरोनाको उपचारको लागि प्रदेश सरकारले निजी अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई पीपीईलगायत आवश्यक उपकरण उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

सोमबारसम्म प्रदेश २ मा ४ जना कोरोना संक्रमित फेला परेका छन्। त्यसलाई मध्यनजर गर्दै समाजिक विकास मन्त्रालयले आयोजना गरेको बैठकमा निजी स्वास्थ्य संस्थालाई अन्य रोगको उपचार गर्न र साधारण चेकजाँचलाई समेत उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

उनको अनुसार कोरोनाको रोकथाम र उपचारका लागि प्रदेश सरकारले निजी अस्पतालसँग समझदारी निर्माण गर्ने र उक्त पत्रको खाका तयार गरी सोही बमोजिम जिम्मेवारी दिन सिफारिस गर्ने निर्णय गरेको छ।

स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालय, समाजिक विकास मन्त्रालयका अधिकारी र अस्पतालका प्रतिनिधीसमेत बीच भएको छलफलपछि कोरोना संक्रमण सम्बद्ध उपचार जोखिमपूर्ण रहेको भन्दै यसमा समग्र स्वास्थ्यकर्मीले विशेष सर्तकता अपनाउनुपर्ने र निजी क्षेत्रका अस्पताललाई पीपीई लगायतका आवश्यक उपकरण उपलब्ध गराउन निर्णय गरिएको हो।

बैठकले कोरोनाको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, बीमा सुविधा र राहत उपलब्ध गराउन सिफारिस गरेको छ। यस्तै, प्रदेश २ लाई कोरोना रोकथाम र उपचारकालागि तीन समूहमा विभाजन गरिएको छ। बारा, पर्सा, रौतहटलाई पहिलो, सर्लाही, महोत्तरी र धनुषा दोस्रो र बाँकी रहेका सिरहा र सप्तरीलाई अर्को समूहमा राख्ने तय गरिएको छ। क्लस्टर विभाजन गरी हरेक क्लस्टरमा एउटा क्लिनिकल टास्क फोर्स निर्माण गरेर रोकथाम प्रभावकारी बनाउने निर्णय भएको सचिव घिमिरेले बताए।

बैठकमा वीरगञ्जको नरायणी उपक्षेत्रीय अस्पताललाई तत्कालका लागि कोरोना अस्पतालको रुपमा रुपान्तरण गर्ने र त्यस अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधा वीरगञ्जमै रहेका नेशनल मेडिकल कलेजले सोही शुल्कमा सेवा प्रदान गर्ने निर्णय भएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उच्च क्षमताको पीसीआर मेसिन छिट्टै जडान गरिने भएको छ। यसका लागि आवश्यक सम्पुर्ण प्रक्रिया थालिएको उनले बताए।

सचिव घिमिरेले पर्साको वीरगञ्ज स्थित छपकैयामा फेला परेका तीन जना कोरोना संक्रमितको कन्ट्राक्ट ट्रेसिङ गरि ९४ जनालाई क्वारेन्टिनमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .