कास्कीमा जेब्रा झोलामा शव फेला परेको नवजात शिशुको हत्या आरोपितलाई प्रहरीले १० महिनापछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालउय कास्कीले आरोपितलाई अर्को बच्चा जन्माउन अस्पताल पुगेको बेला पक्राउ गरेको हो।
नुवाकोट बेलकोटगढी ५ स्थायी घर भई हाल पोखरा नागढुङ्गा बस्ने ३७ वर्षका गोविन्द लामिछानेलाई प्रहरीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो। उनी १० महिना पहिले जेब्रा झोलामा मृत फेला परेका शिशुका बुबा हुन्।
साउन ४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा अर्को बच्चा जन्माउन श्रीमतीलाई लिएर अस्पताल पुगेका थिए। श्रीमतीलाई सुत्केरी बेथा लागेपछि उनी अस्पताल लिएर गएका थिए।
तर प्रहरीले यसअघिको मुद्दामा पक्राउ गरेको हो। सोही मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद समेत लिएको छ।
२०८१ असोज १३ गते साँझ सवा ५ बजे पोखरा महानगरपालिका १४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेको थियो।
तत्काल जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले नवजात शिशु जेब्रा झोलामा ब्लाङकेटले बेरिएको अवस्थामा फेला पारेको थियो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पोष्टमार्टम गर्दा नवजात शिशुको घाँटी र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको खुलेको थियो।
प्रहरीले कर्तव्य गरी मारेको निस्कर्षसहित कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान अगाडी बढाएको थियो।
अनुसन्धानका क्रममा नवजात शिशुको बुवालेनै हत्या गरेको निस्कर्षमा प्रहरी पुगेको थियो।
Shares

प्रतिक्रिया