कर्णाली


नेटवर्किङ व्यवसायको आवरणमा ठगी धन्दा, कार्यालयमा छापा मारेर प्रहरीले पक्रियो ८ कर्मचारी

नेटवर्किङ व्यवसायको आवरणमा ठगी धन्दा, कार्यालयमा छापा मारेर प्रहरीले पक्रियो ८ कर्मचारी

नेपालखबर
साउन ६, २०८२ मंगलबार २०:५६, सुर्खेत

जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले एकसाता अघि वीरेन्द्रनगरको एउटा घरमा रहेको कार्यालयमा छापा हान्यो। वीरेन्द्रनगर नगरपालिका–३ स्थित मूलपानी चोकनजिक रहेको स्काई ड्रिम अन्टरपेनर्स प्रालिको कार्यालयमा छापा मारेर प्रहरीले ताला लगायो। 

छापा हानेको करिब एक सातापछि प्रहरीले स्काई ड्रिम अन्टरपेनर्स प्रालि नामक कार्यालय सञ्चालन गरी ठगी गरेको भन्दै सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले रोजगारी मिलाइ दिन्छु भनेर ठगी गरेको आरोपमा उक्त कार्यालयमा छापा हानी संलग्न ८ व्यक्तिलाई प्रकाउ गरिएको जानकारी दिए।

उनकाअनुसार वीरेन्द्रनगर–३ स्थित मूलपानी चोकनजिक स्काई ड्रिम अन्टरपेनर्स प्रालि स्थापना गरी युवायुवतीलाई आकर्षक तलबसहित रोजगारी लगाउने प्रलोभनमा ठगी गरिरहेको गिरोह पक्राउ परेको हो।

नेटवर्किङ व्यवसायको आवरणमा ठगी धन्दा गरिरहेका ८ जनालाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

डीएसपी मोहनजंग बुढथापाका अनुसार पक्राउ पर्नेहरुमा सञ्चालक डोटीको सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा, दार्चुलाको महाकाली गाउँपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछामको कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही, २२ वर्षीय वीरेन्द्र शाही र कञ्चनपुरका २२ वर्षीया मनिषा सिंह छन्।

यस्तै, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ का २१ वर्षीया निर्मला धामी, बैतडीको सिगास गाउँपालिका–६ का २२ वर्षीया सुनिता साउद र डोटीको बडीकेदार गाउँपालिका–४ का २२ वर्षीया कमला चिमला रहेका प्रहरीले जनाएको छ। 

उनीहरूले वीरेन्द्रनगरमा खोलेको स्काई ड्रिम अन्टरपेनर्स प्रालिमा व्यवस्थापक एवम् कर्मचारीको पहिचानमा ठगी धन्दा गरिरहेको प्रहरीले जनाएको छ। उनीहरूले ग्लोबल ओरियन्स नेपाल प्रालिमा सीप सिकाएर रोजगारी लगाईदिने भन्दै एक जना व्यक्तिबाट २० हजार रुपैयाँ असुली गरेका थिए।

रकम असुली गरी आफूसँग लिएका युवायुवतीहरूलाई आफूमातहत सदस्य बनाएर ५० हजार देखि २ लाख ६० हजार रुपैयाँसम्म उठाउन लगाएको प्रहरीको दाबी छ। यसरी उनीहरूले एक करोडसम्मको ठगी गरेको प्रहरीले जनाएको छ।

स्काई ड्रिम अन्टरपेनर्सविरुद्ध ठगी गरेको जाहेरी परेपछि प्रहरीले निगरानी बढाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad