नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्ष डा.सितलकाजी श्रेष्ठले अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको प्रतिनिधित्व गरेका छन्।
अमेरिकाको वाशिङ्टन डिसिमा जुलाई १८ मा भएको महासभामा डा.श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको पनि प्रतिनिधित्व गर्दै सम्बोधन गरे।
त्यसक्रममा श्रेष्ठले नेपालमा पशु चिकित्सकले भेटेरिनरी क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे। उनले नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रलाई आह्वानसमेत गरे।
त्यसक्रममा उनले विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि कार्यक्रम नेपालमा आयोजना संस्था तयार गरेको बताए। उनले सार्क भेटेरिनरी एसोसिएसनले चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्यता लिने प्रतिबद्धतासमेत व्यक्त गरे।
श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव समेत हुन्।
महासभामा विश्वका ९० देशका प्रतिनिधि सहभागी थिए। नेपाल लगायत अन्य ४ राष्ट्रका प्रतिनिधिले महासभामा सम्बोधन गरेका थिए।

महासभाका क्रममा डा.श्रेष्ठले श्रीलङ्का, ताइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनका अध्यक्षहरुसँग शिष्टाचार भेटसमेत गरेका छन्।
विश्व भेटेरिनरी एसोसिएसनको आगामी महासभा जापनको टोकियोमा हुनेछ।। नेपाल सन् १९९८ बाट विश्व भेटेरिनरी एसोसिएसनको सदस्य बनेको हो।
Shares

प्रतिक्रिया