ad ad

समाज


कोरोना आशंकामा स्वास्थ्य मन्त्रालयसँग सम्पर्क गर्नेको संख्या १५ हजार, २९१ ‘सम्भावित संक्रमित’

कोरोना आशंकामा स्वास्थ्य मन्त्रालयसँग सम्पर्क गर्नेको संख्या १५ हजार, २९१ ‘सम्भावित संक्रमित’

नेपालखबर
चैत ३०, २०७६ आइतबार १४:५८,

नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या १२ पुगेको छ।

पछिल्लाेपटक पर्साको वीरगन्जस्थित नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचारत तीन जनामा काेराेना संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या १२ पुगेकाे हाे।

नियमित पत्रकार सम्मेलनअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार ३७, ४४ र ५५ वर्षीय पुरुषलाई काेराेना संक्रमण पुष्टि भएकाे हाे। 

योसमेत गर्दा नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या १२ पुगेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

यसअघि ९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ। तीमध्ये सुरुका एक संक्रमित त उपचारपछि निको भइसकेका छन्।

अहिले ११ जना देशका विभिन्न अस्पतालका आइसोलेसन वार्डमा उपचारका क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

यसैबीच उनीहरूबाहेक अन्य ८५ जना देशका विभिन्न अस्पतालका आइसोलेसन वार्डमा उपचार गराइरहेका छन्।तीमध्ये काठमाडौं उपत्यकामा १५ र बाहिर ७० जना रहेका प्रवक्ता देवकाेटाले जानकारी दिए। 

जसको नमुना परीक्षण क्रममा छन्। नतिजा नेगेटिभ (कोरोना भाइरस नरहेको) आए उनीहरूलाई घर पठाइने र कोरोना संक्रमण पुष्टि भएमा निको नभएसम्म अस्पतालमै राखेर उपचार गरिने उनले बताए।

‘विदेशबाट आएका तथा कोरोना भाइरसको लक्षण देखिएका बिरामीलाई आइसोलेसन वार्डमा राखिन्छ,’ मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘आइसोलेसन वार्डमा भर्ना भएकालाई हामी ‘सम्भावित संक्रमित’ अन्तर्गत राख्छौं।’

सम्भावित संक्रमित भनेको त्यस्ता बिरामी हुन्, जसका लक्षण कोरोना भाइरस संक्रमणसँग मिलेका हुन्छन् र ती संक्रमित नै पनि हुन सक्छन् भन्ने बढी नै शंका गरिएका हुन्।

यस्तै ‘रेड जोन’ मा परेकालाई पनि ‘सम्भावित संक्रमित’ कै सूचीमा राखिने आइतबार साँझ प्रवक्ता डा. देवकोटाले नेपालखबरसँग बताए। 

उनका अनुसार अहिलेसम्म स्वास्थ्य मन्त्रालयसँग ‘भर्चुअल’ सम्पर्क गरेकामध्ये २ सय ६ जना ‘रेड जोन’मा परेका छन्।

क्वारेन्टिनमा रहेकाहरूले स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेका मोबाइल एप्लिकेसन, एप्स र बेवपेजमा आफूलाई इन्ट्री गरी आफ्ना जिज्ञासा राख्ने गर्छन्। त्यस क्रममा उनीहरूले बताएका लक्षण हेर्दा कोरोना भाइरसको संक्रमणसँग मिल्दाजुल्दा देखिएकाले उनीहरूलाई रेड जोनमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।

‘अहिलेसम्म हामीसँग भर्चुअल रूपमा सम्पर्क गरी आफ्ना विवरण भराउनेको संख्या १५ हजार ७० पुगेको छ,’ उनले भने, ‘तीमध्ये गत २४ घण्टामा ९ सय ५४ जनाले हामीसँग सम्पर्क गरेका हुन्।’

गत २४ घण्टामा आफ्ना विवरण भराएकामध्ये लक्षणका आधारमा १७ जना रेड जोनमा परेको र याेसमेत गर्दा अहिलेसम्म याे सूचीमा पर्नेकाे संख्या २ सय ६ पुगेकाे प्रवक्ता देवकाेटाले जानकारी दिए। 

मन्त्रालयले उनीहरूको दैनिक जानकारी लिइरहेको र नमुना परीक्षण तथा आइसोलेसनमा राख्ने तयारी गरिरहेको प्रवक्ता देवकोटाले बताए।

यस्तै देशभर गरेर अहिलेसम्म कोरोना आशंकामा स्वास्थ्य परीक्षण गरिएको संख्या ५ हजार १ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै देशभर होम क्वारेन्टिन तथा स्थानीय क्वारेन्टिनमा बस्नेको संख्या ७ हजार ९ सय ७३ पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .