सर्लाहीमा दुई सवारी साधन आपसमा ठोकिएर भएको दुर्घटनामा घाइते भएका पाँच जनामध्ये दुईजना नेपाली सेनाका जवान भएको खुलेको छ।
सोमबार ईश्वरपुर नगरपालिका १२ र १३ को सीमा क्षेत्रमा पर्ने बाँके चोकदेखि दक्षिणतर्फ रहेको रेल्वे ट्रयाक नजिक श्रीनगर-बाँके सडक खण्डमा दुई सवारी साधन आसपमा ठोकिँदा पाँचजना घाइते भएका थिए।
दुर्घटनामा घाइते हुने मोटरसाइकल चालक ईश्वरपुर-१५ का २३ वर्षीय चन्द्रदेव धामी र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय प्रशेस चौधरी सैनिक जवान भएको प्रहरीले जनाएको छ।
उनीहरु नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलमा कार्यरत छन्।
दुर्घटनापछि दुवै सवारी साधनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगलागीबाट पिकअपको आगाडितर्फ र मोटरसाइकल पूर्णरुपमा जलेको छ।
मोटरसाइकलमा सवार तीनैजना ईश्वरपुर–१५ का स्थायी वासिन्दा हुन्।
दुर्घटनामा परेका मोटरसाइकल चालक चन्द्रदेव धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पिकअपसँग ठोक्किएपछि मोटरसाइकलमा आगलागी हुँदा धामीको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते धामीलाई थप उपचारका लागि मोडेल अस्पताल लालबन्दीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।
दुर्घटनामा परेको मोटरसाइकलमा तीनजना सवार थिए। मोटरसाइकलकै पछाडि सवार ईश्वरपुरकै २१ वर्षीय अमित चौधरी पनि दुर्घटनामा घाइते भएका छन्।
सो दुर्घटनमा पिकअप चालक सर्लाहीको हरिवन नगरपालिका-३ डाबरी टोल बस्ने ४० वर्षीय रामएकबाल महतो र हरिवन नगरपालिका-२ का ६५ वर्षीय लेखनाथ उपाध्याय पनि घाइते भएका छन्।
श्रीनगरबाट बाँके चोकतिर जाँदै गरेको प्र-०३-०२८ प २१९१ नम्बरको मोटरसाइकल र रेल्वे ट्रयाक हुँदै बयलबास तर्फबाट महोतरी तर्फ जादै गरेको बा.८ च ६५ नम्बरको पिकअप गाडी आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया