गत पुस पहिलो साता १४ जना तब्लिगी (धर्म प्रचारक)हरु भारतबाट सुनसरी आएका थिए। त्यसको झण्डै चार महिनापछि उनीहरुमध्ये ३ जनालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ।
वीरगञ्ज वडानम्बर २ स्थित एक मस्जिदमा बसेका उनीहरुको शनिबार आएको स्वाब परीक्षण रिपोर्टमा तीन जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। ती भारतीय नागरिकहरुको भनाइ उद्धृत गर्दै मस्जिदका मौलाना अली अस्गरले उनीहरु पुस ३ (डिसेम्बर १९)मा सुनसरी हुँदै नेपाल प्रवेश गरेको बताए।
‘उनीहरुले भारतबाट डिसेम्बर १९ मा जोगबनीबाट सुनसरी हुँदै नेपाल प्रवेश गरेको बताएका थिए,’ अस्गरले नेपालखबरसँग भने, ‘त्यहाँबाट घुम्दैघुम्दै उनीहरु १५–१६ दिनअघि हाम्रो मस्जिदमा आइपुगेका थिए।’
उनले तबलिगीहरु सुरुमा वीरगञ्ज महानगरकै ३ नम्बर वडामा रहेको मदरसाको सम्पर्कमा आएको र सो मदरसाकै सकिल अहमदले वडा नम्बर २ को अनाथहरुकाे आश्रमसमेत रहेको आफ्नो मस्जिदमा पठाएको जानकारी दिए।
‘सकिल अहमदले बोलाएर ल्याउनु भएपछि मैले यो लकडाउनको बेला यति जनालाई राख्न अप्ठ्यारो हुन्छ। अनाथ आश्रम हो। बच्चाहरु छन्, धर्मगुरु पनि छन्, भनेको थिएँ,’ अस्गरले भने, ‘लकडाउनका बेला उनीहरु कहाँ जाने, के गर्ने? भन्ने भएपछि उनीहरुलाई भिन्दै राख्नेगरी यहिँ राख्न अनुमति दिएको हुँ।’
अस्गरका अनुसार मस्जिदमा आउँदा ती १४ जनाको भारत फर्कने टिकट अप्रिल ४ तारिखको थियो। तर, लकडाउन भएपछि उनीहरु नेपालमै फसे। पछि उनीहरुको १५ तारिखको टिकट बनाइएको थियो। तर, त्यसको चार दिनअघि नै उनीहरुलाई संक्रमण देखियाे।
उनीहरु मस्जिदमा आएको खबर आफूले प्रहरीलाई दिएको र प्रहरीले सोधपुछसमेत गरेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार ती १४ जनासहित गत बिहीबार नारायणी उपक्षेत्रीय अस्पतालले २४ जनाको स्वाब (नमूना) संकलन गरी परीक्षणका लागि हेटौँडा पठाइएको थियो।
शनिबार आएको रिपोर्टमा मस्जिदमा रहेका ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। त्यसपछि काठमाडौंको राष्ट्रिय प्रयोगशालामा नमूना पुनः परीक्षण गर्दा पनि उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कोरोना पुष्टि भएका तीन जनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनीहरुको सम्पर्कमा आएका २६ जनालाई स्थानीय एक विद्यालयको क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ।
कसरी पुगे वीरगञ्ज?
अस्गरका अनुसार उनीहरु कोही दिल्ली, कोही उत्तर प्रदेशका हुन्। तर, लकडाउनका बेला कसरी उनीहरु वीरगञ्ज पुगे आफूलाई जानकारी नभएको उनले बताए।
‘हामी खासै उनीहरुको सम्पर्कमा जाँदैनथ्यौं। टाढैबाट ‘सलाम वालुकुम, वालुकुम सलाम’ हुन्थ्यो,’ उनीहरु कहाँबाट आए, कसरी आए यहाँ पुर्याउने सकिल अहमदलाई थाहा हुनसक्छ।
१४ जनालाई मस्जिदमा पुर्याउने सकिलका अनुसार ती व्यक्तिहरु सप्तरीमा फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धर्मालम्बीको प्रवचन (इस्तिमा)मा सहभागी भएर वीरगञ्ज पुगेका थिए।
फागुनकाे पहिलाे हप्ता सप्तरीमा भएको इस्तिमा
‘उहाँहरु ३ महिनासम्म सुनसरीमा बस्नुभएको रहेछ। त्यसपछि इस्तिमा सहभागी भएर यहाँ आउनुभएको हो। यहाँ आएपछि हामीले लकडाउनका कारण मस्जिदमा बस्ने व्यवस्था मिलाएका थियौं,’ सकिलले नेपालखबरसँग भने।
इस्तिमा आयोजकमध्येको एक बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवका अनुसार उक्त मेलामा सहभागी हुन भारतलगायत विभिन्न देशबाट हजारौं मानिसहरु आएका थिए। ती मध्ये जमाती (धर्म प्रसारप्रसार)मा निस्केका मध्ये कोही उनीहरु पनि हुनसक्ने उनले अनुमान लगाए।
‘मुस्लिम धर्ममा धर्मावलम्बीहरु जीवनकालमा कम्तीमा एकपटक जमातीमा निस्कनुपर्ने विश्वास छ। यो ४० दिन वा ४ महिनाको पनि हुन्छ,’ नगरप्रमुख यादवले भने, ‘वीरगञ्ज पुगेर कोरोना संक्रमित देखिएकाहरु त्यस्तै जमातीमा निस्केकाहरु हुनसक्छन्।’
उनीहरु बसेको मस्जिदका अस्गरले पनि उनीहरु जमाती रहेको पुष्टि गरे। उनले सुरुमा कुनै देशबाट जमाती आए भने वडा नम्बर ३ को मदरसामा जाने गरेको र त्यही मदरसाबाट सकिलले उनीहरुलाई आफ्नो मस्जिदमा पठाएको बताए।
भनाइमा आधिकारिकता खोज्दै प्रहरी
संक्रमितहरुले प्रहरीलाई पनि तीनमहिना अघि नेपाल आएको, सप्तरीको धार्मिक कार्यक्रममा सहभागी भएको र त्यसपछि पर्सामै बसेको कुरा दोहोर्याएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले उनीहरुको भनाईमा आधिकारिकता खोज्ने काम भइरहेको बताए।
‘उनीहरुले तीन महिनाअघि नेपाल आएको, सप्तरीमा कार्यक्रममा सहभागी भएको र त्यसपछि पर्सामै बसेको भनेका छन्,’ उनले भने, ‘तर, उनीहरुले भनेको सूचना कति सही हो। यसबीच उनीहरु कहाँ कहाँ गए। त्यसबारे आधिकारिक जानकारी खोज्दैछौं।’
याे पनि:
वीरगञ्जको मस्जिदमा रहेका तीन पुरुषमा कारोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

प्रतिक्रिया