परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएका सबै नेपाल फर्किसकेको बताएको छ।
बुधबार विज्ञप्ति निकाल्दै मन्त्रालयले द्वीपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्न जाने सदस्यबारे मन्त्रिपरिषद्बाटै निर्णय हुने उल्लेख गरेको छ।
‘द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको प्रतिनिधित्व आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय प्रचलन, सरकारको दायित्व एवं भूमिका, राष्ट्र हितको प्रवर्द्धन र मितव्ययितासमेतका आधारमा स्थापित व्यवस्थाअनुरुप नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय हुने गरेको व्यहोरा अवगतै छ,’ मन्त्रालयले भनेको छ, ‘जसअनुसार गत ३० जुनदेखि ४ जुलाई २०२५ सम्म सम्पन्न सम्मेलनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरू स्वदेश फर्किसक्नुभएको विदितै छ।’
सम्मेलनमा सहभागी हुन गएकाहरूको विवरण पहिले नै सार्वजनिक भइसकेको भन्दै मन्त्रालयले भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न समेत आग्रह गरेको छ। ‘तसर्थ, सर्वथा भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न र यस्ता गलत प्रचारप्रति सजग रहन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ। 
Shares

प्रतिक्रिया