समाज


सेनाले बर्खास्त गरेका उपरथी शाहीले फिर्ता लिए जंगी अड्डाविरुद्धका निवेदन

सेनाले बर्खास्त गरेका उपरथी शाहीले फिर्ता लिए जंगी अड्डाविरुद्धका निवेदन

नेपालखबर
असार २५, २०८२ बुधबार १५:३४, काठमाडौँ

नेपाली सेनाले बर्खास्त गरेका उपरथी प्रेम शाहीले जंगी अड्डाविरुद्धका सबै रिट निवेदन फिर्ता लिएका छन्। 

उनले यसअघि दायर गरेका रिट निवेदन फिर्ता गर्न मंगलबार अर्को निवेदन दिएका थिए।

उनको मागबमोजिम बुधबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले निवेदन फिर्ता हुने आदेश गरिदिएको हो।

शाही २०७७ पुस ८ गते र २०७९ पुस ६ गते सर्वोच्च अदालत पुगेका थिए। सुरुमा आफ्नो जन्म मिति २०२३ नै कायम गर्न माग गर्दै उनी सर्वोच्च पुगेका थिए। रक्षा मन्त्रालयले उनको जन्म मिति २०२२ नै कायम हुने निर्णय भएपछि अदालत पुगेका उनी दोस्रो पटक भने अवकासको पत्र बदरको माग गर्दै सर्वोच्च गएका थिए। 
अवकासको पत्र बुझिसकेका शाहीका यी दुवै निवेदनको अन्तिम टुंगो लागिसकेको थिएन।

जंगी अड्डामा शाहीको लफडा उमेर विवादबाट सुरु भएको थियो। उनको शैक्षिक प्रमाणपत्रमा जन्ममिति २०२२ पुस २० गते उल्लेख थियो भने नागरिकतामा २०२३ पुस २२ गते उल्लेख थियो। 

दुईथरी जन्ममिति फेला परेपछि सेनाले उनलाई अघिल्लो जन्म मितिलाई आधार मान्दै २०७९ पुस ४ गते अवकासको पत्र थमाएको थियो। उपरथीको ५८ वर्षे उमेर हदका कारण अवकासको पत्र बुझाएपछि शाही सर्वोच्च अदालत पुगेका थिए। 

सर्वोच्चले भने उनलाई पछिल्लो उमेर अर्थात नागरिकतामा भएको उमेरका आधारमा सेवामा कायम राख्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चबाट अवकासको पत्र कार्यन्वयन नगर्नु भन्ने अन्तरिम आदेश लिएर जंगी अड्डा पुगेका शाहीलाई सैनिक प्रहरीले पक्राउ गरेको थियो। 

उनलाई आर्थिक अनियमितताको आरोपमा हिरासतमा राखेर सैनिक विशेष अदालतले छानबिन अगाडि बढाएको थियो। सोही मुद्दामा दोषी ठहर गर्दै २०७९ फागुन १८ गते बर्खास्त गर्ने फैसला सुनाएको थियो। 

भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त भइसकेका छन्। सेनाले बर्खास्त गरिसक्दा पनि सर्वोच्चमा विचाराधीन रहेका निवेदन नै शाहीले फिर्ता लिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad