समाज


स्वास्थ्य बिमामा आबद्ध ८ रोगका बिरामीलाई साउन १ देखि २ लाखको उपचार

स्वास्थ्य बिमामा आबद्ध ८ रोगका बिरामीलाई साउन १ देखि २ लाखको उपचार

नेपालखबर
असार २५, २०८२ बुधबार १०:२७, काठमाडौँ

स्वास्थ्य बिमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन्।

मन्त्री पौडेलले आफ्नो प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा पाउने जानकारी दिएका हुन्। 

‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्वप्रतिबद्धताअनुसार स्वास्थ्य बिमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौँ’, मन्त्री पौडेलले बुधबार बिहान आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।

मन्त्री पौडेलका अनुसार अब क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन्।

मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए। सोहीअनुसार मन्त्रालयले स्वास्थ्य बिमा बोर्डलाई पत्राचार गरेको थियो।

मंगलबार राति बसेको बोर्ड बैठकले आठ जटिल रोगीलाई २ लाख उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए।

उनका अनुसार यो निर्णय साउन १ गतेदेखि लागु हुनेछ।

मन्त्री पौडेलले यसअघि स्वास्थ्य बिमाका सदस्यले आफू बसेकै ठाउँबाट उपचार लिन मिल्ने गरी प्रथमबिन्दु कायम गर्ने तथा हरेक तहमा बिमा सुविधा लिन सक्ने गरी नीतिगत निर्णय गरेका थिए।

‘स्वास्थ्य बिमालाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ,’ मन्त्री पौडेलले भनेका छन्, ‘तपाईंको रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया सदैव स्वागत गर्दछौँ।’

आयस्रोत र आबद्धता बढाउने बिमा बोर्डको योजना मन्त्री पौडेलले स्वास्थ्य बिमाबाट उपचार सहायता वृद्धिसँगै स्वास्थ्य बिमा कोषको आयस्रोत बढाउने नीतिगत निर्णय पनि गरेका छन्। हालैको नीति तथा कार्यक्रममार्फत सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउने उल्लेख छ।

स्वास्थ्य बिमा ऐनमा भए पनि लागु नभएको यस व्यवस्थाले आवद्धता वृद्धि भइ कोषमा हुने आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ। यसका अलावा वैदेशिक रोजगारीमा गएका तथा उनीहरूका परिवारलाई समेत स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्राचारपछि सरकारका विभिन्न मन्त्रालयले स्थानीय तहसम्मै प्रयास थालेका छन्।

साथै नयाँ बजेटमार्फत बिमा बोर्डको बक्यौता शून्यमा झार्ने घोषणा सरकारले गरिसकेको छ। संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत स्वास्थ्य बिमा कोषमा पठाउने निर्णय मन्त्री पौडेलले गरिसकेका छन्।

यसैगरी प्रगतिशील करमार्फत स्वास्थ्य बिमा कोषमा जाने रकम बढाउने समेत मन्त्री पौडेलले घोषणा गरेका छन्। यसैगरी सरकारले वितरण गर्ने उपचार सहायतासमेत स्वास्थ्य बिमा कार्यक्रममार्फत वितरण गरेर धेरै नागरिक आबद्ध हुने गरी काम भइरहेको छ।

बिमा बोर्डले अनियमित रुपमा भुक्तानी माग्ने केही अस्पतालहरुलाई कारबाही गरेको छ भने निगरानी बढाउन आफ्नो प्रणालीमा सुधार समेत गरिरहेको कार्यकारी निर्देशका काफ्लेले बताए।

यसैगरी कोषको आम्दानी वृद्धि गर्न विभिन्न उपायहरुको खोजी भैरहेको उनले बताए। यी सबैले हाल कोषमा रहेको प्रिमियम र आबद्धता वृद्धि हुने र बिमा कार्यक्रम निरन्तरता हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad