समाज


भारी वर्षा नभई कसरी आयो भोटेकोसीमा बाढी?

हिमताल फुटेको आशंका
भारी वर्षा नभई कसरी आयो भोटेकोसीमा बाढी?

नेपालखबर
असार २४, २०८२ मंगलबार १५:४२, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू-भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ। विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ। 

विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिए। 

'त्यति ठूलो बाढी नै जाने गरी दुवैतर्फ ठूलो वर्षा भएकै छैन। न्यून चापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ,' उनले भने, 'के कारणले बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेर मात्रै हामी सूचना सार्वजनिक गर्ने छौँ।'

विश्व मौसम सङ्गठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली) को स्याटेलाइट–आधारित वर्षा अनुमानअनुसार पनि भोटेकोसी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन। 

हिमताल फुटेको आशंका
विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासि फुटेर बाढी गएको हुन सक्ने आशङ्का गरेका छन्। 'ठूलो वर्षा नहुँदा पनि बाढी जानु भनेको हिमताल कतै फुटेको पनि हुन सक्छ,' उनले भने, 'अहिल्यै नै कारण यकिन गर्न त सक्दैनौँ तर कारण खोजिरहेका छौँ। थप अध्ययन गरेर हामी दुइ–तीन दिनभित्रै सत्यतथ्य वितरण सार्वजनिक गर्नेछौँ।'

प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भोटेकोसी बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। महाशाखाका अनुसार आज  बिहान ३ बजे आसपास भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको देखिन्छ। 

'रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्याङ्कअनुसार बिहान ३:१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ,' महाशाखाका बाढीविद् पराजुलीले भने, 'रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल विभागको रसुवास्थित स्याफ्रुबेँसी स्वचालित जलमापन केन्द्रमा बिहान ३:३० बजे एक्कासि बहाव बढेको देखिन्छ। उक्त केन्द्रमा बिहान ३:३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासि ३:४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको देखिन्छ। उक्त केन्द्रका गेजरिडरसँग बिहान ६ बजे आसपास सम्पर्क कायम भएको र निजका अनुसार केन्द्र बगाएको जानकारी प्राप्त भएको छ।'

रसुवागढी नाकाबाट करिब ४१ किलोमिटर तल यस विभागको नुवाकोटस्थित त्रिशूली वेत्रावती स्वचालित जलमापन केन्द्रमा आज बिहान ५:०० बजे उक्त बहाव पुगेको प्रतिवेदनमा उल्लेख भएको राससले जनाएको छ। 

'उक्त केन्द्रमा बिहान ५:०० बजे १.६० मिटर (बहाव करिब २२० घनमिटर प्रतिसेकेन्ड) रहेको जलसतह एक्कासि बिहान ५:१० बजे ३.६३ मिटर पुगेको र उच्चतम जलसतह बिहान ५:५० बजे ४.१८ मिटर (बहाव करिब एक हजार ६०० घनमिटर प्रतिसेकेन्ड) पुगेको देखिन्छ,' प्रतिवेदनमा उल्लेख छ, 'प्रारम्भिक रुपमा बाढीको ठूलो प्रभाव भोटेकोसी तथा त्रिशूली नदीको रसुवा जिल्लाको क्षेत्रमा परेको र मध्यम प्रभाव नुवाकोट जिल्लाको त्रिशूली नदी तटीय क्षेत्रमा परेको तथा सामान्य प्रभाव धादिङ जिल्लाको बूढीगण्डकी दोभान (बेनिघाट)आसपाससम्म पर्ने देखिएकाले तीनवटै जिल्लाका नदी तटीय क्षेत्रमा आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएकाले बिहान ६:३० बजे सरोकारवाला तथा नदी तटीय क्षेत्रका आम सर्वसाधारणलाई एसएमएसमार्फत सूचना जारी गरिएको थियो।'

बाढीविद् पराजुलीले नुवाकोट जिल्लास्थित त्रिशूली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेका छन्। 

विभागले भोटेकोसी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ७ बजे एसिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको एक अन्तरिक्ष-आधारित आपत्कालीन प्रतिक्रिया (सेन्टिनल एसिया) प्लेटफर्ममा तत्कालको भू–उपग्रह तस्बिर प्राप्त गर्न  आपत्कालीन अवलोकन अनुरोध जारी गरेको छ।

जोखिम अझै कायमै
बाढीविद् पराजुलीले विभागले निरन्तर अनुगमन गरिरहेको र हाल बहाव घट्दो क्रममा रहे पनि जोखिम कायम रहेको भन्दै भोटेकोसी तथा त्रिशूली नदी तटीय क्षेत्रका आम सर्वसाधारण तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। 

'रसुवा जिल्लास्थित भोटेकोसी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको बेनिघाटसम्म त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाइराख्न अनुरोध गर्दछौँ,' उनले भने, 'यस सम्बन्धमा विभागबाट थप अध्ययन भइरहेकाले निरन्तर अपडेट जारी हुँदै जानेछ।'

आगामी तीन दिन बाढीको जोखिम छैनः विज्ञ
आगामी तीन दिनसम्म बाढीको कुनै जोखिम नरहेको विभागका बाढीविज्ञ र मौसमविज्ञहरूले जानकारी दिएका छन्। मौसमविद् अधिकारीले आगामी तीन दिनसम्म मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहे पनि भारीदेखि अति भारी वर्षाको सम्भावना नरहेको जानकारी दिए। बाढीविद् पराजुलीले तीन दिनसम्म देशभर बाढीको जोखिम नरहेको बताए। 

१८ जना  बेपत्ता
रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत ३ प्रहरी र ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको जानकारी दिए। 

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ। बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नगरपालिका–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका हुन्। 
    
बाढीमा परी ६ चिनियाँ नागरिक पनि बेपत्ता भएका छन्। उनीहरू सबै पुरुष हुन्। बाढीमै परी बर्दियाका ३६ वर्षीय जीपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, हाइलक्स जिप चालक गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता भएका छन्।
 
बाढीले उत्तरगया गाउँपालिका-१ मैलुङस्थित गल्छी बेत्रावती-स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलीब्रिज’ बगाएको छ। सो स्थान नजिकै भर्खर निर्माण भएको पक्की पुलमा बाढीसहित लेदो माटो जम्मा भएको छ। त्रिशूली थ्रिए जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad