रसुवामा मंगलबार बिहान भोटेकोसीको बाढीमा बेपत्ता ९ नेपालीमध्ये ५ जना एकै जिल्ला बर्दियाका परेका छन्।
सशस्त्र प्रहरी बलले नेपालखबरलाई उपलब्ध गराएको बेपत्ताहरूको सूचीमा बर्दिया जिल्ला ठेगानामा भएका ५ जना छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीले भन्सार यार्डमा काम गर्नेमध्ये ९ जना नेपालीलाई बगाएको हो।
जसमा बर्दिया ठेगाना भएका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम राम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु र ३० वर्षीय सुरेश थारु छन्।
बाँकी ४ नेपालीमा बागलुङ घर भएका, वर्ष नखुलेका नरेन्द्र विक, सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक, वर्ष नखुलेका फुर्वा लामा, ठेगाना र वर्ष नखुलेका मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन्।
बाढीमा उनीहरूसँगै ६ चिनियाँ पुरुष पनि बाढीमा बगेका छन्। प्रहरीका अनुसार भोटेकोसीको बाढीपछि चिनियाँ नागरिकहरू यु युए, ली हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई र जोउ योङ बेपत्ता छन्।
यसैगरी उद्धारमा खटिका तीन प्रहरीलाई पनि बाढीले बगाएको छ।
रसुवा जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, रामेछाप लिखु तामाकोसी गाउँपालिका-४ ठेगानाका ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, पर्सा जिल्ला प्रहरी कार्यालय दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, बाराको फेटा गाउँपालिका-१ ठेगानाका २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, बझाङको बुंगल नगरपालिका-९ ठेगानाका २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बाढीमा बेपत्ता भएका हुन्।
सबै गरेर अहिलेसम्म बाढीमा १८ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया