ad ad

समाज


नेपालका क्वारेन्टिनमा बसेका भारतीय मजदुर भन्छन् : सबै सुविधा पाउँदा दंग छौँ

नेपालका क्वारेन्टिनमा बसेका भारतीय मजदुर भन्छन् : सबै सुविधा पाउँदा दंग छौँ

शेरबहादुर सिंह
चैत २९, २०७६ शनिबार ९:३,

डडेल्धुरा अस्पतालको निर्माणाधीन भवनमा काम गर्दै आएका भारत उत्तरप्रदेश रामपुरका परितोस विश्वास घर (भारत) फर्किन यही चैत १९ गते कञ्चनपुरको भीमदत्तनगर आइपुगे।

डडेल्धुराबाट भीमदत्तनगर आइपुगेका उनीसहित २६ जनाको मजदुरको टोली कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी भएपछि यही रोकियो।

स्थानीय प्रशासनको निर्णयमा भीमदत्तनगरपालिकाले खानपिनको व्यवस्था गर्ने गरी ती मजदुरसहित २९ जनालाई यहाँको बैजनाथ इन्जिनियरिङ कलेजमा राखिएको छ।

‘राति यहाँ पुग्दा मनमा धेरै कुरा खेलिरहेको थियो’, सशस्त्र प्रहरीको सुरक्षा घेरामा बसिरहेका भारतीय नागरिक विश्वासले भने, ‘यहाँ सबै सुविधा दिएर राखिएकामा हामी हर्षित छौँ।’

उनले बिहान, बेलुकी सधैँ समयमै खाना मिल्ने गरेको जानकारी दिए। ‘हामीलाई बसोबास र खानपिनको कुनै समस्या छैन’, उनले भने, ‘भारतमा लकडाउन खुलेपछि यहाँबाट जान पाए हुन्थ्यो भन्ने छ।’ विश्वासले आफू भारतमा रहेका परिवारसित नियमित सम्पर्क भइरहेको जानकारी दिए।

‘डडेल्धुरामा पनि बस्नलाई केही समस्या थिएन’, उनले भने, ‘साग तरकारीका लागि हिँडेर गाउँ पस्ने अवस्था नदेखिएपछि घर जान हिँडेका थियौँ।’

त्यसैगरी बुटवलबाट घर जान हिँडेका भारतीय मजदूर जस्मन्तकुमार पनि यही क्याम्पमा १० दिनदेखि आश्रय लिइरहेका छन्।

‘हाम्रो स्वास्थ्य परीक्षण पनि नेगेटिभ आएको सुनिएको छ’ उनले भने, ‘यहाँ बसेका भारतीयमा कुनै खालको रोग, बिरामी छैन।’बुटवलमा यातायात चलिरहेका बेला आफू घर जान निस्केको उनी बताएँछन्। ‘सबै हिसाबले त संक्रमण नहट्दा यही बस्न पाए हुन्थ्यो भन्ने हो’ उनले भने, ‘यत्तिको सुविधामा बस्दा पनि घरका अभिभावकले बोलाएर हैरान बनाएका छन्।’

त्यसैगरी भारतको रामपुरकै सुकेन रायले आफूले यहाँको आरामदायी बसाइँले घरको तिर्सना मेटेको बताए। ‘यहाँको खानपिन र बसोबासका साथै वरिपरिको वातारणले आफ्नै घर जस्तो लागिरहेको छ’, उनले भने, ‘अहिले आफ्नै देशमा छु जस्तो लाग्दैछ।’ उनले भारतीय नागरिक भनेर यहाँ कसैबाट कुनै प्रकारको विभेद र भेदभाव नरहेको बताए।

‘सशस्त्र प्रहरीहरु साँझ बिहान हामीलाई समस्या छकी भनेर सोधपुछ गर्छन्’, उनले भने, ‘हामी स्वास्थ्यका हिसाबले पनि ठीक भइसकेको अवस्थामा हामीलाई भारत सरकारले पनि घर जाने वातारण मिलाइनिुपर्छ।’

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बैजनाथ स्कुलमा २९ जना भारतीयलाई बसोबास र खानपिनको व्यवस्थापन तथा सुरक्षामा समेत ध्यान दिइएको जानकारी दिए।

‘हामीले यस्तो महामारीको त्रासका बेला भारतीय नागरिकलाई कुनै खाले अभाव हुन दिएका छैनौँ’, उनले भने, ‘हाम्रा नागरिकलाई पनि भारतीय पक्षले सीमावर्ती बजारमा क्वारेन्टाइनमा राखेको छ।’

उनले भारतीय नागरिकलाई विभिन्न स्थानबाट लकडाउनमा हिँडिरहेका बेला उद्धार गरेर स्कुलमा राखिएको जानकारी दिए।

कैलाली र कञ्चनपुरमा गरी ७५ जना भारतीय नागरिक स्थानीय प्रशासनको निगरानीमा राखिएको छ। त्यसैगरी यहाँका इँटाभट्टा, सडक, विभिन्न स्थानमा काम गर्ने भारतीय मजदुर होम क्वारेन्टिनमै बसेका छन्।

कञ्चनपुरमा रहेको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले कञ्चनपुरमा सिमानामा करिब ८० स्थानमा चेकपोष्ट खडा गरेको छ।

भारतबाट लुकीछिपीसमेत आवागमन गर्न नपाउन् भनेर स्थायी बीओपी, अस्थायी पोष्टबाट आवश्यक सामग्री पु¥याउने सीमामा चेकपोष्ट खडा गरिएको सशस्त्र गणपति साहुले जानकारी दिए।

‘सरकारले एक स्थानीय तहबाट अर्कोमा जान नमिल्ने र जिल्ला बाहिरसमेत आवागमनमा रोक लगाएपछि हामीले कञ्चनपुर र कैलालीको सीमा गजरौलामा पनि अस्थायी पोष्ट राखेर कडाइका साथ लकडाउन पालना गराइरहेका छौँ’, साहुले भने, ‘भारतमा रहेका नेपालीका विषयमा पनि भारतीय सीमा सुरक्षा बलसित आवश्यक समन्वय भइरहेको छ।’

र्‍यापिड टेष्ट परीक्षणका ८०० भन्दा बढीको रिपोर्ट नेगेटिभ
सरकारले कोरोना भाइरस संक्रमणको संवेदनशील मानिएको सुदूरपश्चिम प्रदेशका जिल्लामा र्‍यापिड टेष्टबाट संकलन गरिएका सबै नमूना टेष्टको रिपोर्ट नेगेटिभ आएको जनाएको छ।

र्‍यापिड टेष्टका लागि काठमाडौँ र प्रदेशका स्वास्थ्यकर्मी कैलाली र कञ्चनपुरका साथै यहाँका अन्य जिल्लाहरु रहेका क्वारेन्टिन पुगेर नमूना संकलन गरेका थिए।

प्रदेश स्वास्थ्य आपत्कालीन केन्द्र डोटीका अनुसार सुदूरपश्चिमबाट र्‍यापिड टेष्टका लागि ८३९ जनाको नमूना संकलन गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ।

त्यसैगरी हालसम्म सुदूरपश्चिममा पीसीआर प्रविधिबाट परीक्षणका लागि एक हजार ६९५ जनाको नमूना संकलन गरिएको जनाएको छ। पीसीआर प्रविधिबाट संकलितमध्ये हालसम्म चारजनाको पोजेटिभ, २५९ जनाको नेगेटिभ र १४३२ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको केन्द्रले जनाएको छ।

सेना र स्वास्थ्यकर्मीले संकलन गरेको स्वाब र रगत नमूना परीक्षणका लागि काठमाडौँ लगिएको थियो।

त्यसैगरी यहाँको सेती प्रादेशिक अस्पतालमा रहेको ल्याबमा पनि दैनिक १० जनाको नमूना परीक्षण हुँदै आएको छ। फराकिलो दायरामा संकलन गर्न धनगढी पु¥याइएको उपकरण जडानमा ढिलाइ भएको छ।

प्रयोगशालामा विद्युत् लाइन विस्तारलगायत आवश्यक सामग्री व्यवस्थापन नहुँदा चार दिनअघि ल्याइएको आरटीपीसीआर मेसिन जडान हुन नसकेको हो। ‘मेसिन भोलिसम्म जडान भएर सञ्चालनमा ल्याउने तयारी छ’, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘नौ वटा जिल्लामा नमूना संकलन भएर धमाधम परीक्षण हुँदैछ।’

सुदूरपश्चिम प्रदेशमा भारतलगायत अन्य मुलुकबाट भित्रिएकालाई बस्नका लागि क्वारेन्टिन पनि बढाउँदै लगिएको छ। हालसम्म सुदूरपश्चिम कैलालीमा एक हजार २१८, बैतडीमा एक हजार २६, बझाङमा ६३२, डोटीमा ५५७, कञ्चनपुरमा ५०८, डडेल्धुरामा ४६१, दार्चुलामा ४४१, बाजुरामा २२२ र अछाममा १९६ श्ययाको क्वारेन्टिन स्थापना गरिएको छ। यहाँका क्वारेन्टिनमा हालसम्म दुई हजार ५१३ जना बसिरहेको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी सुदूरपश्चिमका क्वारेन्टिनमा ५६ जना बालबालिका समेत बसिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ‘बालबालिकाको पनि ¥यापिट टेष्टपछि रिपोर्टका आधारमा होम क्वारेन्टाइनमा पठाउने काम हुन्छ’, सम्पर्क व्यक्ति जोशीले भने, ‘भोलिसम्ममा रिपोर्ट आउँछ, सङ्ख्या थपघट हुँदै जान्छ।’

क्वारेन्टिनमा सबैभन्दा बढी डोटी जिल्लामा ३२ जना बालबालिका रहेका छन्। त्यसैगरी १२ अछाम, सात बाजुरा र चारजना बझाङमा क्वारेन्टाइनमा बसिरहेको जोशीले बताए। ‘निको भएकालाई होम क्वारेन्टिनमा बस्नेगरी घर पठाइनेछ’, जोशीले भने, ‘सबैले संक्रमणबाट बच्न सतर्कता अपनाउनु नै उत्तम विकल्प हो।’

त्यसैगरी कोभिड–१९ डोटीका सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले दश वर्ष मुनिका ३२ जना बालबालिका रहेको बताए। ‘डोटीबाट ३३० जनाको नमूना सेनाले लगेको हो’, उनले भने, ‘सम्भतः आज बेलुकीसम्म फाइनल रिपोर्ट आउने सुनेको छु।’ उनले बालबालिका भारतबाट बुबाआमासित आएको र सबै बालबालिकाको अवस्था सामान्य रहेको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .