ad ad

समाज


कोरोनामा औलोकाे औषधि प्रयोग व्यापक बन्दै, नेपालमा कति छ याे औषधि?

कोरोनामा औलोकाे औषधि प्रयोग व्यापक बन्दै, नेपालमा कति छ याे औषधि?

नेपालखबर
चैत २९, २०७६ शनिबार ०:३८,

कोरोनाभाइरस सङ्क्रमणको उपचारमा उपयोगी हुने भन्दै विश्वभरि नै अहिले औलो रोगको नियन्त्रणका लागि प्रयोग हुने औषधिको माग बढिरहेको छ।

विभिन्न देशका सरकारहरूले यो औषधिको जोहो गर्न थालेका छन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि उक्त औषधिको निर्यात खुला गर्न आग्रह गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका थिए।

मङ्गलवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भारतले उक्त ‍औषधिको निर्यात नखोले उसले पनि नराम्रो परिणाम भोग्नुपर्ने चेतवनीसमेत दिए।

भारतको विदेश मन्त्रालयले चाहिँ औलोको सहित केही औषधिको निर्यातलाई आंशिक खुला गर्ने निर्णय गरिएको जनाएको छ।

त्यसलगत्तै भारतमा विपक्षी नेताहरूसहित कतिपयले सरकारले आफ्नै देशलाई पर्याप्त औषधि भए नभएको निर्क्योल नगरी निर्यात खुलाएको भन्दै विरोध जनाएका छन्।

विश्वभरि उच्च माग र चर्चामा रहेको औलोका लागि प्रयोग हुने उक्त औषधिको नेपालमा भने कति उत्पादन र मौज्दात रहेको छ त?

नेपालका औषधि उत्पादकहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित नेपालका तीनवटा उद्योगले औलो रोगका लागि प्रयोग हुने औषधि उत्पादन गरिरहेका बीबीसीले जनाएको छ।

हाइड्रक्सीक्लोरक्वाईन वा एचसीओएस भनिने ती औषधि काठमाडौँका देउराली जनता फार्मस्युटिकल प्रालि र क्यूमेड फर्मुलेशन प्राली तथा वीरगन्जस्थित मारुती फर्मा प्रालिले उत्पादन गर्दै आएको व्यवसायीहरूले बताए।

एसोशिएसन अफ फार्मस्युटिकल प्रोडक्टस् अफ नेपाल (एप्पोन) का अध्यक्ष नारायण क्षेत्रीले भने, ‘नेपालमा हाल तीन उद्योगले यो ‍औषधि उत्पादन गरिरहेका छन्। उनीहरूसँग पाँचदेखि सात लाखवटा ट्याब्लेट बनाउने कच्चा पदार्थ मौज्दात रहेको छ। त्यो भनेको ५० हजारदेखि ६० हजार बिरामीका लागि पुग्ने मौज्दात हो।’

हाइड्रक्सिक्लोरोक्वाईन औलो रोगको उपारमा प्रयोग हुन्छ। तर अहिले विश्वभरि नै कच्चा पदार्थको भाउ बढेकाले उद्योगीहरूले थप कच्चा पदार्थ नल्याएको उनले बताए।

उनले भने ‘भोलि बिरामी धेरै बढेर थप उत्पादन गर्नुपर्दा पनि उद्योगीहरू तयार छन् तर त्यसका लागि कच्चा पदार्थ ल्याउने वातावरण सरकारले तयार पारिदिनुपर्छ।’

कतिपय उद्योगीले केही मात्रामा उक्त औषधि कोभिड १९ को उपचारका लागि सरकारलाई निःशुल्क उपलब्ध गराउने घोषणा पनि गरेका छन्।

देउराली जनता फार्मस्युटिकलले चार लाखवटा उक्त औषधिको ट्याब्लेट सरकारलाई दिने घोषणा गरिसकेको छ।

कम्पनीका सञ्चालक हरिभक्त शर्माले सरकारलाई उक्त औषधि दिनका लागि पत्राचार पनि गरिसकेको जानकारी दिए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार नेपालमा उत्पादन गर्ने तीन कम्पनीबाहेक अन्य दुई कम्पनीले विदेशबाट पनि उक्त औषधि आयात गरिरहेका छन्।

उत्पादक र आयातकर्ताहरूसँग भएको मौज्दात हेर्दा अहिले नेपालमा करिब नौ लाख ट्याब्लेट रहेको उनले जानकारी दिए। उद्योगीहरूका अनुसार सामान्य अवस्थामा नेपालमा झन्डै २० लाखजति ट्याब्लेट प्रयोग हुने गरेको थियो।

यो औषधि औलोका साथै बाथ र छालाको रोगका लागि पनि प्रयोग हुने बताइन्छ।

कोभिड १९ को उपचारमा प्रयोग हुने सिटामोल, एजिथ्रोमाइसिनजस्ता अन्य औषधि भने नेपालको मौज्दातले तीन महिनालाई पुग्ने दाबी उत्पादकहरूको छ।

प्रयोगशाला परीक्षणमा हाइड्रोक्सीक्लोरक्वाईनले कोरोनाभाइरसलाई रोक्न सक्छ भन्ने देखिएको छ। केही सङ्क्रमणमा यसले काम गरिरहेको चिकित्सकहरूको पनि भनाइ रहेको छ।

तर हालसम्म यो औषधिको प्रभावकारिताबारे पर्याप्त प्रमाण प्राप्त भइसकेको छैन। अर्कोतर्फ यसको प्रयोगले कलेजो र मिर्गौलामा गम्भीर साइड इफेक्ट पनि पर्न सक्ने बताइएको छ।

यो औषधि प्रयोगको वकालत गर्नेहरूले पनि यस विषयमा थप प्रयोगशाला र प्रयोगात्मक परीक्षणको आवश्यकता ‍औँल्याइरहेका छन्।

स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा १,१८७ जनामा औलो रोग लागेको थियो। विभागले गत वर्ष नेपालमा दुई लाख १६ हजारभन्दा बढी मानिसहरू औलोको उच्च जोखिममा रहेको जनाएको थियो।

त्यस्तै नौ लाख २७ हजार मानिसहरू औलोको मध्यम जोखिममा रहेको विभागले गत वर्ष बताएको थियो। नेपालमा २० वटा जिल्ला औलोको जोखिममा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .