ad ad

समाज


नेपालका पहिलो कोरोना संक्रमितको पूरा कथाः म यसरी निको भएँ

नेपालका पहिलो कोरोना संक्रमितको पूरा कथाः म यसरी निको भएँ

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ११:२८,

अहिले नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ९ पुगेको छ। तर तीमध्ये सुरुमा संक्रमण पुष्टि भएका व्यक्ति टेकु अस्पतालमा उपचारपछि उहिल्यै स्वस्थ भइसकेका छन्। हाल ८ जना संक्रमित मात्र विभिन्न अस्पतालमा उपचाररत छन्।

अझै धेरैलाई जिज्ञासा हुन सक्छ- साँच्चै सुरुका ती संक्रमित कसरी सञ्चो भए? उनलाई के-के लक्षण देखिएका थिए? के-कस्ता उपचार गरिएका थिए? अहिले उनको स्वास्थ्य कस्तो छ र कसरी जीवन बिताइरहेका छन्?

यिनै कुरा बुझ्न नेपालखबरले शुक्रबार निकै प्रयासपछि नेपालका तिनै पहिलो काेराेना संक्रमित (अहिले स्वस्थ भइसकेका) व्यक्तिसँग टेलिफोन सम्पर्क गरेको छ।

सुरुमा ‘रङ’ नम्बर पर्‍याे भन्दै बोल्न मान्दै नमानेका उनलाई ‘तपाईंको परिचय गोप्य रहने र तपाईंको सफलताको कथा नेपाललाई मात्र होइन, यतिबेला विश्वकै लागि एउटा अमूल्य सन्देश बन्न सक्छ’ भनेर विशेष आग्रह गरेपछि मात्र उनी सहमत भए र २ घण्टापछि पुनः कल गर्न आग्रह गर्दै फोन काटे।

शुक्रबार दिउँसो करिब २ बजेतिर नेपालखबरले पुनः गरेको फोन सम्पर्कमा उनले यसरी बताए आफ्नो कोरोना कथा :

म चीनको उहान (जहाँबाटै कोरोना भाइरसको सुरुवात भएको हाे) स्थित एक विश्वविद्यालयमा पढ्छु। एक महिना जाडो बिदाका लागि मैले विश्वविद्यालयमा आवेदन दिइसकेको थिएँ र जनवरी ९ तारिख नेपाल (घर) आउने तयारीमा थिएँ।

तर अचानक जनवरी ४ देखि मलाई सुक्खा खोकी लाग्न थाल्यो। एकदमै जिउ गलेको अनुभव हुन थाल्यो। एकदम ‘विकनेस’ (कमजोर) महसुस हुन थाल्यो र सिँढी चढ्दा पनि स्वाँस्वाँ हुने हुन थाल्यो। ज्वरो थियो कि थिएन, परीक्षण गर्ने कुनै साधन थिएन। 

जतिबेला उहानमा कोरोनाको भर्खर-भर्खर चर्चा चल्न थालेको थियो। मलाई लाग्छ- उहानमा सायद डिसेम्बर २७ देखि कोरोनाको समाचार आउन सुरु भएको थियो। बिस्तारै सडकमा मास्क लगाएका मानिस बाक्लै देखिन थाले। तर मलाई त्यतिबेलासम्म आफूलाई के भएको हो कुनै पत्तो थिएन। शंका थिएन।

कसरी सर्‍याे थाहा छैन
मलाई कोरोना कसरी सर्‍याे खासै जानकारी छैन। पैसा झिक्दा पनि एटीएम नै प्रयोग गरेको थिएँ। अँ, डिसेम्बर २७ तारिखका दिनचाहिँ म मुभी (चलचित्र) हेर्न गएको थिएँ। डेरानजिकै छ, फिल्म हल। सायद त्यही फिल्म हेर्ने क्रममा काेराेना बिरामी बसेको कुर्सीबाट पो सर्‍याे कि? त्यतिबेला उहानमा त्यस्तै ३०-४० जना मात्र संक्रमित देखिएको खबर आइरहेको थियो। मृत्यु कसैको भएको थिएन।

यसकारण उहानमा कोरोना धेरै फैलिएको होला
चीनको उहान यस्तो सहर हो- जहाँ बाह्रैमास चिसो हुन्छ। कुहिरो लागिरहन्छ। सडक पानीले भिजिरहेको हुन्छ। तालैताल भएको सहर हो, त्यो। मलाई लाग्छ- त्यही कारण त्यहाँ यो रुघाजन्य कोरोना भाइरसकाे संक्रमण बढी फैलिएको हुनुपर्छ। घर जानुपर्ने दिन नजिकिँदै थियो। सुक्खा खोकी लागिरहेकै थियाे। चिसोले अझै समस्या बढाउला भनेर म तीन/चार दिनयता बाहिर निस्किनँ। 

यसरी आइपुगें काठमाडौं
सुक्खा खोकीले छाडेको थिएन। यो खोकी लगातार लाग्दैन, तर यसरी लाग्छ कि आन्द्राभुँडी फर्केलाजस्तो हुन्छ। घर (नेपाल) जाने दिन जनवरी ९ तारिख बिहानै ५ बजे म कोठाबाट निस्कें। त्यो दिन मेरो फ्लाइट (उडान) थियो। त्यतिबेला कोरोनालाई खासै सिरियस्ली (गम्भीर) रूपमा लिइएको थिएन।

अहिलेजस्तो विमानस्थलमा तापक्रम चेकजाँच केही हुन्थेन। हुन्थ्यो भने सायद म घर आउन पाउँथिनँ। एक हप्ता मात्रै ढिला भएको भए पनि म उहानमै अड्किने थिएँ। भाग्यवश, नेपाल आउन पाएँ। त्यस दिन म साँझ ५ बजे  काठमाडौं ओर्लें।

सीधै घर गइनँ, काठमाडौं बसें
काठमाडौं आएपछि म भाइसँग कोठामा बसें। मलाई सुक्खा खोकी, जिउ गल्ने, थकित/गलित हुने समस्या जारी नै थियो। तर म आफैंले यसबाट मुक्ति पाउने प्रयास गरिरहेको थिएँ। आफैंले कफसिरप किनेर खान थालें। तातो पानीमा ‘सञ्चो’का एक-दुई थोपा हालेर हरेक दिन वाफ लिन थालें। तैपनि समस्या कम भएन। सामान्य भर्‍याङ उक्लिँदा/ओर्लिंदा पनि एकदमै स्वाँस्वाँ हुने भइरह्यो। उहानका न्युजहरू हेर्न थालें। बिस्तारै कोरोनाका कुरा बढ्दै गएपछि मलाई पनि शंका लाग्यो- कतै मलाई पनि कोरोना त भएको होइन?

अनि गएँ टेकु अस्पताल
आफ्नै प्रयासले खोकी, शारीरिक कमजोरी ठीक हुँदै नभएपछि र कोरोनाको हल्ला चल्न थालेपछि म टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) गएँ र ओपीडीमा टिकट काटेर डाक्टरलाई भेटें। मलाई अहिले ठ्याक्कै नाम याद भएन। सायद डा. दीपेन्द्र शर्मा हुनुपर्छ, उहाँलाई सबै विवरण बताएँ।

उहाँले सोध्नुभयो- कहाँबाट आउनुभएको? मैले उहानबाट भनें। त्यसपछि उहाँले अन्य डाक्टरहरूसँग सोध्नुभयो र भन्नुभयो- तपाईं केही दिन अस्पतालमै बस्नुपर्छ। सायद मलाई कोरोना भएको हो कि भन्ने शंका भएर होला। मैले ‘ठीकै छ, म छुट्टिमै आएको हुँ, बस्न सक्छु’ भनें।

मेरा लागि तयार पारिएको आइसोलेसन वार्ड (अलग्गै कोठा) मा जाँदा त्यहाँका कर्मचारीले खोइ त बिरामी भनेर सोधे। मैलै मै हुँ बिरामी भन्दा छक्क परे। किनकि मैले आफूलाई भित्रभित्रै निकै कमजोर महसुस गरे पनि बारिहबाट हेर्दा हट्टाकट्टा नै थिएँ। 

विभिन्न परीक्षण गर्दा सबै ‘नेगेटिभ’
जनवरी १३ तारिखका दिन मलाई एक्सरे, रगत, खकार परीक्षण गराउनुपर्छ भनेर एउटा लामो लिस्ट दिए, डाक्टरले। डेंगु, मलेरिया, टीबीलगायत सबै रोगकाे परीक्षण गरियो। त्यस दिन ती परीक्षण गराउन मलाई झन्डै २ घण्टा लाग्यो। भोलिपल्ट सबैको रिपोर्ट आयो। तर कुनै रोग देखिएन। अर्थात् सबै रिपाेर्ट नर्मल र नेगेटिभ।

तर २ दिन अर्थात् जनवरी १३ र १४ तारिख मलाई सास फेर्न निकै सकस भयो। त्यसले गर्दा मलाई कोठामै अक्सिजन दिइयो। अक्सिजनको पाइप आफैंले लगाएँ। ज्वरो आउने/जाने भइरहेको थियो। यो ज्वरो लगातार आउने होइन रहेछ। कहिले कम हुने, कहिले एक्कासि बढ्ने। १०२-१०४ डिग्रीसम्म आउँथ्यो।

डाक्टरहरूले मलाई ज्वरो कम गराउने सिटामोल खान दिएका थिए। खोकी कम गर्ने केही औषधि पनि चलाएका थिए। नभन्दै जनवरी १५ देखि मेरा समस्या कम हुँदै गए। ज्वरो पनि आएन। खोकी पनि हरायो। ज्यान पनि गल्न छाड्यो।

स्वाब लिएर डिस्चार्ज गरे
सबै कुरा ‘नर्मल’ भएपछि डाक्टरले मलाई जनवरी १७ तारिख अस्पतालबाट डिस्चार्ज गरे, तर घाँटीको स्वाब लिएर। र, भने- हामीले नभनेसम्म घर नजानू, काठमाडौंमै बस्नू। म कोठामा आएँ। म डिस्चार्ज भएदेखि नै स्वस्थ भइसकेको थिएँ। समस्याहरू हराइसकेका थिए। तर पनि डाक्टरले अनुमति नदिएसम्म घर गइनँ।

आफू कोरोना संक्रमित भएको कुरा मिडियाबाट थाहा पाएँ
स्वाब दिएको झन्डै एक हप्तापछि मैले मिडियाबाट थाहा पाएँ कि मलाई कोरोना भाइरसको संक्रमण भएको रहेछ। स्वास्थ्य मन्त्रालयले निकालेको विज्ञप्तिबाट थाहा पाएँ। पछि डाक्टरको पनि फोन आयो।

त्यतिबेला नेपालमा कोरोना भाइरसको परीक्षण हुन्थेन। नमुना हङकङ (विश्व स्वास्थ्य संगठनको प्रयोगशाला) पठाउनुपर्थ्याे। त्यहाँबाट आएको रिपोर्टमा मलाई कोरोना पोजिटिभ (संक्रमण) देखायो। त्यसपछि भने मलाई अलि चिन्ता लाग्यो। तर मलाई सबै लक्षण हराइसकेको थियो। अब भने कोठामा भाइलाई अलग्गै बस्न भनेँ।

जनवरी २८ तारिखका दिन टेकु अस्पतालले दोस्रोपटक मेरो नमुना (घाँटीको र्‍याल) लियो। जतिबेलासम्म कोरोना परीक्षण नेपालमै सुरु भइसकेको थियो। दुई दिनपछि रिपोर्ट आयो।

हङकङमा गरिएको पहिलो परीक्षणमा मेरो रिपोर्ट कोरोना पोजिटिभ आएर चिन्तित भइरहेका बेला नेपालमै गरिएको दोस्रो जाँचको नतिजा नेगेटिभ (कोरोना नभएको) आउँदा म कम्ता खुसी भइनँ। जुन व्यक्त गर्ने शब्दै छैन।

फेरि त्यही दिन अर्थात् दोस्रो रिपोर्ट आएको दिन जनवरी ३० तारिख- सरस्वती पूजाका दिन मेरो तेस्रोपटक नमुना लिइयो। त्यसको रिपोर्ट पनि नेगेटिभ अर्थात् ममा कोरोना भाइरस नभएको आयो। त्यसपछि भने डाक्टरले भन्नुभयो- अब तपाईं घर जान सक्नुहुन्छ। ठ्याक्कै मिति याद भएन। त्यसो भनेको ३-४ दिनपछि म काठमाडौंबाट आफ्नो घर गएँ।

म यसरी सञ्चो भएँ 
म जुन दिन (माघ ३ गते) अस्पतालबाट डिस्चार्ज भएँ, त्यही दिनदेखि स्वस्थ भइसकेको थिएँ। अहिलेसम्म एकदम स्वस्थ छु। मलाई लाग्छ- मेरो शरीर आफैंले भाइरसलाई जित्यो। तर त्यसमा अस्पतालको स्याहारसुसार र मेरो आफ्नै होसियारीको ठूलो भूमिका छ।

मलाई त्यस्तो समस्या भएदेखि मैले होसियारी अपनाउन थालेको थिएँ। दिनमा तातो पानी बारम्बार खाइरहने, हरेक दिन तातो पानीमा सञ्चो हालेर वाफ लिने गरेको थिएँ। अनि काठमाडौंमै रहेकी बैनीले बनाएर ल्याएका दूध रोटी, दाल-भात-तकारी खान्थें। काउली/बोडीको तरकारी बढी खान्थें।

तर मासुचाहिँ एकदिन पनि खाइनँ। दाल पनि प्रशस्तै खाएँ। डाक्टरहरूले झोलिलो खानेकुरा बढी खानु भनेका थिए। तातो पानीका लागि त एउटा थर्मसै रोखेको थिएँ। यसरी म पूरै स्वस्थ भएँ।

सँगै बसेका भाइको परीक्षण त गरिएको छैन, तर ऊ स्वस्थ छ
झन्डै एक हप्तासम्म सँगै बसेका भाइलाई त्यति बेलादेखि नै कुनै लक्षण देखिएको छैन। अहिले पनि ऊ पूरै स्वस्थ छ। तर ऊलगायत मसँग भौतिक रूपमा नजिक भएका भाइ तथा खाना खुवाउने बहिनी कसैलाई पनि न क्वारेन्टिनमा राखियो न कुनै परीक्षण गरियो।

तर उनीहरूमा त्यस्तो कुनै लक्षण छैन। स्वस्थ छन्। घरमा त म पूरै निकाे भएपछि गएकाे हुँ। घरमा अहिले म, भाइ र आमा गरी ३ सदस्य मात्रै छाैँ। बुबा त म ब्याचलर पढ्दा नै बित्नुभएकाे हाे। काठमाडौं बस्ने बैनीको त विवाह भइसकेको हो।

डाक्टर अनुप बास्तोलालाई कहिले बिर्सिन्नँ
म टेकु अस्पतालकाे आइसोलेसनमा रहँदा डाक्टर अनुप बास्तोला बारम्बार मेराे हेरविचार गर्न आउनुहुन्थ्यो। ज्वरो जाँच्नुहुन्थ्यो र मेरो जानकारी लिइराख्नुहुन्थ्यो। सरसल्लाह दिइरहनुहुन्थ्यो। उहाँको त्यो सहयोग र सहानुभूति म जीवनभर भुल्दिनँ।

अहिले आफ्नै घरमा छु, पूरै स्वस्थ छु
घरको ठेगाना नभनौं। अहिले म घरमै छु र अन्त्यन्तै स्वस्थ जीवन बिताइरहेको छु। अहिले त लकडाउन छ। घरबाट बाहिर निस्कन पाइन्न। नत्र यसअगाडि म दैनिक साथीहरूसँग फुटबल खेल्न जान्थे। मलाई अहिले कुनै अस्वस्थताको महसुस छैन। पहिले जस्तो हो, त्यस्तै छु।

त्यसकारण म सबै नेपालीलालई भन्न चाहन्छु- सकेसम्म कोरोना लाग्नै नदिनुस्। सक्दो सावधानी अपाउनुस्। सरकारले भनेको मान्नुस्। घरभित्रै बस्नुस्। तर कसैगरी काेराेना भाइरस लागिहाल्यो भने पनि आत्तिन जरुरी छैन। मरिन्न। ठीक भइन्छ। मलाई नै हेर्नाेस्। अनि अहिले उपचार गराइरहेका ८ जनाको अवस्था पनि विचार गर्नुस्। जाे सामान्य छन्।

त्यसैलै काेराेनादेखि धेरै आतंकित र त्रसित हुन जरुरी छैन। यो रुघाखोकीजस्तै हो। बेलैमा होसियारी अपनाए अवश्य ठीक हुन्छ। तर रोग लुकाएरचाहिँ नबस्नुहोला। बेलैमा परीक्षण गराएर काेराेना नभए ढुक्क हुनुस्, भए उपचार थालिहाल्नुस्। निकाे भइन्छ।

गाउँमा कसैलाई थाहा छैन
मेरो परिवारका सदस्यबाहेक यहाँ बस्ने गाउँका कसैलाई पनि मलाई कोरोना संक्रमण भएको थियो भन्ने थाहा छैन। थाहा पाए भने त घृणा गर्छन् कि? हुन त म निको भइसकें। तैपनि मानिस बुझ्दैनन्। त्यही भएर थाहा पाए भने ओ हो! यो त यस्तो रोग लागेको मान्छे हो, के हो, के हो भनेर केही भन्न सक्छन् कि जस्तो लाग्छ। 

पीएचडी पूरा गर्न फेरि उहान जान्छु
म उहानको एक विश्वविद्यालय, नामचाहिँ नभनौं होला, मा पढिरहेको छु।पीएचडी पूरा गर्न अझै २ वर्ष बाँकी छ। अहिले विश्वविद्यालयले बोलाइसकेको छैन। तर पनि अनलाइनबाटै अध्ययन जारी छ। विश्वविद्यालयका प्राध्यापकहरूसँग अनलाइनबाट निरन्तर छलफल भइरहेको छ। विश्वविद्यालयले बोलाएपछि र वातावरण सहज बनेपछि फेरि उहान जान्छु र पीएचडी पूरा गर्छु।

०००
झन्डै पौने घण्टाको कुराकानीपछि नेपालखबरले ‘तपाईंले सुरुमा यो रङ नम्बर पर्‍याे भनेर किन बोल्न नमान्नुभएको, म सार्वजनिक हुन्छु र मानिसले मलाई घृणा गर्छन् भन्ने डरले हो?’ भनेर सोध्दा-

उनले भने, ‘त्यस्तो त होइन, मलाई मिडियामा आउन खासै मन लाग्दैन। धेरैले फोन गर्छन्। तैपनि तपाईंले विशेष अनुरोध गर्नु भएकाले विश्वास लागेर सबै कुरा बताएको।’

उमेर त बताउन मिल्छ होला नि?
 ‘मिल्छ, किन नमिल्नु, ३२ वर्षको भएँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .