ad ad

समाज


जाडोमा जाग्ने, गर्मीमा हराउने भाइरस हो त कोरोना? यसो भन्छ अनुसन्धान

जाडोमा जाग्ने, गर्मीमा हराउने भाइरस हो त कोरोना? यसो भन्छ अनुसन्धान

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ७:२१,

गर्मी अर्थात् तापक्रम अलि बढी भएको स्थानमा कोरोना भाइरस मर्छ भन्ने मान्यता पछिल्लो समय कमजोर बन्दै गएको छ।

किनकि अहिले यो भाइरस फरक-फरक मौसम भएका लगभग संसारका सबै देशमा पुगिसकेको छ।

तैपनि विशेषगरी कोरोना भाइरस अलि चिसो र सुक्खा क्षेत्रमा बढी देखिएको केही प्रमाण छन्।

एक अध्ययनअनुसार गत मार्च १० सम्म कोरोनाबाट बढी प्रभावित मुलुककाे औसत तापक्रम कम संक्रमण फैलिएका देशको भन्दा अलि बढी पाइएको थियो।

चालीसभन्दा बढी कोभिड-१९ का रोगी भेटिएका चीनका १०० सहरको स्थिति अध्ययन गरेको अर्को शोधले पनि तापक्रम र आर्द्रता बढी हुँदा भाइरस विस्तारको गति कम भएको संकेत गरेको छ।

तर लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताका अनुसार कोरोना भाइरस अहिले सबै भूभाग र क्षेत्रमा पुगिसकेको छ भने चिसो र सुक्खादेखि गर्मी र ओसिलो स्थानसम्म भेटिएको छ।

यस्तै मलेसिया र डीआर कंगोजस्ता गर्मी र सुक्खा देशमा पनि कोभिड-१९ स्थानीय रूपमै सरेको पाइएको छ। यस आधारमा पनि तापक्रम बढी भएका ठाउँमा यो भाइरस मर्छ कि मर्दैन भनेर अनुमान गर्न सकिने अनुसन्धानकर्ता बताउँछन्।

अनुसन्धानकर्ताका अनुसार मानिसको विश्वव्यापी हिँडडुल र गतिविधि तथा जनघनत्वजस्ता विभिन्न पक्षको पनि यसमा भूमिका छ।

पहिला एक स्थानबाट अर्को स्थानमा गएका मानिससँगै फैलिएको उक्त भाइरस मौसम परिवर्तन हुँदै गर्दा क्रमशः विश्वभरि नै फैलिएको छ। त्यसैले हावापानीले यस भाइरसलाई फरक पार्छ कि पार्दैन भन्ने निष्कर्ष निकाल्न कठिन छ।

कोरोना भाइरस-परिवारका अन्य भाइरस प्रायः जाडो महिनामा फैलिने केही प्रमाण फेला परेको युनिभर्सिटी कलेज लन्डन तथा लन्डन स्कुल अफ हाजिजन र ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताको दाबी छ।

उनीहरूले २ मानिसको अध्ययन गरेका थिए। त्यस्तो कुनै लक्षण देखिएका व्यक्तिको घाँटीको स्वाब परीक्षण पनि गरिएको थियो। यसबाट मौसमी फ्लुसँगै कोरोना भाइरस पनि जाडोका बेला उत्कर्षमा पुग्ने र गर्मीका बेला केही कम हुने पत्ता लागेकाे अनुसन्धानकर्ता बताउँछन्। 

अनुसन्धानमा सहभागी वैज्ञानिक एलन  फ्र्याग्यास्जीका अनुसार यसबाट गर्मीमा संक्रमण केही कम हुने देखिएको छ। तर अहिलेकाे याे नयाँ कोरोना भाइरसले कस्तो व्यवहार देखाउँछ, त्यो भन्न सकिने स्थिति नभएकाे उनी बताउँछन्। 

कोभिड-१९ लगाउने नयाँ कोरोना भाइरस आफ्नो परिवारका अन्य भाइरस जसरी नै सर्छ। तर यसले बिरामी पार्ने र मृत्यु गराउने तरिका अलि भिन्न छ।

युनिभर्सिटी अफ साउथह्याम्टनका डा. माइकल हेडका अनुसार नयाँ कोरोना भाइरसको विकास र प्रभाव रुघा लगाउने खालका अरू कोरोना भाइरसभन्दा नितान्त भिन्न छ।

उनले भनेका छन्, ‘तापक्रम र आर्द्रताजस्ता पर्यावरणीय कारक परिवर्तन हुँदा अहिलेको यो कोरोना महामारी यथावत् रहन्छ वा हट्छ, त्यो भने हेर्न बाँकी छ?’ बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .