मोरङ, सुनसरी र रुकुमपश्चिममा भएका सवारी दुर्घटनामा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ।
मोरङको सुनवर्षी नगरपालिका-८ विश्वकर्मा चोकमा को.१ त ६१९१ नम्बरको ट्याक्टरले प्रदेश. १-०२-०४५ प ९१६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिका-३ चौकीघाट बस्ने ४३ वर्षीय ढक्कुलाल गनगाई छन्। बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि रुकुम पश्चिमको आठबबीसकोट नगरपालिका- ४ गोतामकोटस्थित सडकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
आसबीसकोट नगरपालिका- ५ बस्ने कल्पना विककी छोरी ५ वर्षीया धनकुमारी विकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल फरार रहेका मोटरसाइकल चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरि सुनसरीको धरान उपमहानगरपालिका-८ सेउती पुल नजिकै सडकमा धरानबाट इटहरीतर्फ जाँदै गरेको रोलरमा प्र.१-०२-०४३ प ३३१५ नम्बरको मोटरसाइकल ठाेकिँदा एक जनाको मृत्यु भएको छ।
मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१९ तरहरा बस्ने ३८ वर्षीय सुरेश राईको सो दुर्घटनामा मृत्यु भएको हो। बिहीबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिंङ होम विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार रहेका रोलर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया