बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गरेको आरोपमा तीनजना व्यक्ति पक्राउ परेका छन्।
रकम लिएको लामो समयसम्म विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ घर भइ हाल काठमाडौँको तार्केश्वर नगरपालिका–११ बस्ने ४० वर्षीय जगदीश महरले दक्षिण कोरिया पठाइदिने भन्दै २ जनाबाट १७ लाख ८५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ।
यस्तै, सिन्धुलीको घ्याङलेख गाउँपालिका–६ का ३१ वर्षीय प्रेम कुमार श्रेष्ठले रोमानिया पठाइदिने बहानामा २ जनाबाट ६ लाख ५० हजार रुपैयाँ लिएको पाइएको छ।
यसैगरी अर्का प्रतिवादी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटार गाउँपालिका–४ का ३७ वर्षीय डिल बहादुर आले मगरले सर्बिया पठाइदिने बहानामा ८ जनाबाट ५ लाख १० हजार रुपैयाँ लिएको प्रहरीको भनाई छ।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
Shares

प्रतिक्रिया