नेपाल पत्रकार महासंघले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको सञ्चारको हक, स्वतन्त्रताको हक र सूचनाको हकको पूर्ण सम्मान गर्दै पत्रकारले निर्भय वातावरणमा काम गर्न पाउनुपर्नेमा जोड दिइएको छ।
महासंघको असार ५ र ६ गते पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको तेस्रो बैठकबाट प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि आइतबार ‘पोखरा घोषणा पत्र २०८२’ जारी गरेको छ।
महासंघले काठमाडौँ जिल्ला अदालतले नेपालखबर र बिजमाण्डु डटकममा प्रकाशित समाचार डिलिट गर्नेसम्बन्धी आदेश तथा पत्रकार दिलभूषण पाठकलाई समाचार प्रसारणका आधारमा पक्राउ पूर्जी जारी गरेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
यद्यपि, जिल्ला अदालत काठमाडौँले समाचार डिलिटसम्बन्धी मुद्दा खारेज गरेकाको र उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश दिएकोमा बैठकले स्वागत गरेको छ।
गत शुक्रबार जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबरविरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन खारेज गरिदिएको थियो। आदेमा नेपालखबरले समाचार हटाउनु नपर्ने समेत उल्लेख छ।
त्यस्तै घोषणा पत्रमा चैत १५ गते काठमाडौँको तीनकुनेमा समाचार संकलनको क्रममा पत्रकार सुरेश रजकको भएको हत्यालाई गम्भीर मानवअधिकार उल्लंघनको रूपमा लिँदै पत्रकारमाथि भइरहेका आक्रमणहरूको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै घोषणा पत्रमा यसलाई फौजदारीकरण गर्नु संविधानविपरीत हुने जनाइएको छ।
महासंघले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षण गर्न आवश्यक कानुनी तथा संरचनागत प्रबन्ध मिलाउन आग्रह गर्दै लोकतान्त्रिक मूल्य र मान्यता विपरीत हुने कुनै पनि गतिविधिको विरोधमा उभिने प्रतिबद्धता जनाएको छ।


Shares

प्रतिक्रिया