समाज


प्रदेश १ : सीमामा गौंडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

प्रदेश १ : सीमामा गौंडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

नेपालखबर
चैत २६, २०७६ बुधबार ७:२०,

कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौ‌ंडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ।

भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन दिनभित्रमा ५८ वटा अस्थायी पोस्ट थप गरेको छ। झापाको सीमा क्षेत्रमा सशस्त्रको आठ वटा स्थायी पोस्ट पहिल्यैदेखि तैनाथ थिए।

आवतजावत हुने मुख्य गौडाको पहिचान गरी ५८ वटा नयाँ स्थानमा पाल टाँगेर अस्थायी पोस्ट खडा गरी सीमा सुरक्षालाई सुदृढ तुल्याइएको सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राससलाई बताए। लकडाउन उल्लंघन गर्दै सीमा क्षेत्रमा हुनसक्ने चोरी–तस्करी, लागुऔषधको कारोवार, अनाधिकृत प्रवेशलाई रोक्न सशस्त्र प्रहरी बल सक्षम रहेको उनले बताए। भारतको विहार र पश्चिम बंगाल प्रान्तमा कोरोना संक्रमणबाट मृत्युसमेत भइरहेको अवस्थामा खुला सीमाबाट हुने लुकीछिपी आउजाउले कोरोना भाइरस फैलिने जोखिम भएका कारण त्यसलाई रोक्न नेपाल सरकारको निर्देशनबमोजिम सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा ध्यान केन्द्रित गरेको उनले बताए।

झापाको उत्तरी सीमा पश्चिम बंगालको दार्जीलिङ जिल्लासँग जोडिएको छ भने भद्रपुरदेखि गौरीगञ्जसम्मको सीमा क्षेत्र विहारको किसनगञ्ज जिल्लासँग जोडिएको छ। सशस्त्र प्रहरी बलका २५० भन्दा बढी सुराक्षाकर्मी पहिल्यैदेखि सीमा सुरक्षामा तैनाथ थिए भने अहिले सयभन्दा बढी जनशक्ति थप परिचालन गरिएको छ। लकडाउन र नाका बन्द भएयता झापाको बाहुनडाँगी, भद्रपुर, केचना, गौरीगञ्ज, टाघनडुब्बालगायतका सीमा क्षेत्रबाट २६ व्यक्ति अनधिकृत रुपमा नेपाल प्रवेश गरेको फेला परेको छ। उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखिएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

‘दक्षिणी सीमा क्षेत्रमा वारिपारि नै मकैबारी बढेका कारण लुकीछिपी प्रवेश गर्नेहरुले फाइदा उठाउन खोजेका छन्’, प्रहरी उपरीक्षक कोइराला भने, ‘स्थानीय समुदाय सजग भएकाले भारतबाट प्रवेश गर्नेलाई पक्रेर उनीहरुले प्रहरीलाई खबर गर्न थाल्नुभएको छ।’ लकडाउन र नाका बन्द हुँदा लागुऔषधका प्रयोगकर्ता र कारोवारीहरुसमेत सीमा क्षेत्रमा सलबलाउन थालेका छन्।

काठमाडौँबाट नक्कली डाक्टर बनेर कार चढेर आएका दुई युवालाई काँकडभिट्टा इलाका प्रहरी कार्यालयले केही दिन अघि पक्राउ गरेर क्वारेन्टिनमा राखेको छ। उनीहरु लागुऔषधको खोजीमा काँकडभिट्टा नाका आएका हुन्।

चोरी तस्करी बढेसँगै वन क्षेत्र प्रवेशमा रोक
वन क्षेत्रमा चोरी तस्करी र आगलागी बढेसँगै झापामा वन क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ। कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीको मौका छोपेर अवैध रुपमा मान्छेहरु वन क्षेत्रभित्र प्रवेश गरेर आगो लगाउने, वन्यजन्तुको शिकार गर्ने र वन पैदावर काट्नेजस्ता कानून विपरीतका कार्यहरु गरिरहेको सूचना प्राप्त भएको भन्दै डिभिजन वन कार्यालय झापाले प्रवेशमा रोक लगाएको हो।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बन्दाबन्दी अवधिभर जिल्लाका सामुदायिक, कबुलियत वनमा अत्यावश्यक संरक्षण बाहेकका अन्य सबै कार्य वन ऐन २०७६ को दफा ९ बमोजिम बन्देज लगाइएको बताए। उनले सामुदायिक वन उपभोक्ता समूहलाई आ–आफ्ना वन क्षेत्रको सुरक्षाका लागि विशेष सुरक्षा योजना बनाई तत्कालै लागू गर्न गराउन पत्राचार गरिसकेको बताए। प्रमुख घिमिरेले अनुमति बेगर वन क्षेत्रमा प्रवेश गरेमा वन ऐन २०७६ अनुसार कारबाही गरिने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad