समाज


म्यानमारबाट पहिलोपटक नेपाल आएकी अस्मिता भन्छिन्- जहाँ जाउँ लागिरहन्छ माया देशको

नेपालबाट म्यानमार गएको थियो उनीभन्दा अघिको सातौँ पुस्ता
म्यानमारबाट पहिलोपटक नेपाल आएकी अस्मिता भन्छिन्- जहाँ जाउँ लागिरहन्छ माया देशको

नेपालखबर
असार २, २०८२ सोमबार १०:२४, काठमाडौँ

‘मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो। म यहाँ आउन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु’, म्यानमारबाट पहिलोपटक नेपाल आएकी अस्मिता न्यौपानेले भनिन्। 

नेपालबाट म्यानमार गएको उनीभन्दा अघिको सातौँ पुस्ता हो। त्यसपछि उनका आफन्त कोही पनि नेपाल आउन पाएनन्। न्यौपाने भने आफू नेपाल आउन पाउँदा दङ्ग थिइन्।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष उनले नेपाल आउनुको खुसी मात्रै पोखिनन्, नेपाली गीत पनि गाइन्। उनी नेपाल आउने अवसर भने नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरो भ्वाइस युनिभर्स कार्यक्रमले जुराइदिएको थियो।

उक्त कार्यक्रमकी प्रतियोगी न्यौपाने जस्ता विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरुले सञ्चारमन्त्री गुरुङसमक्ष भावना साटासाट गरे। उनीहरुले सामूहिक रुपमा राष्ट्रिय भाव झल्काउने ‘भाषावेशको जहाँ जाऊ लागिरहन्छ माया देशको’ बोलको गीतसमेत गाए।

मन्त्री गुरुङले नेपालमा सुगौली सन्धि, विश्व युद्धको प्रभाव र अहिले विश्वव्यापीकरण गरी तीन तरिकाले नेपालीहरु विभिन्न देशमा छरिएकाे उल्लेख गरे। विभिन्न कारणले नेपालीहरु जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैलीमार्फत नेपाललाई विश्वमा चिनाउने काम गरिरहेको उनले बताए।

मन्त्री गुरुङले खास गरी कलासंस्कृतिले मुलुकको पहिचान विश्वव्यापीकरण गराउन मद्दत गर्ने हुँदा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सजस्ता कार्यक्रमले ठूलो सहयोग गरेको बताए। 

‘हामी जहाँ भए पनि नेपाली कलासंस्कृति भुल्नुहुँदैन, नेपाल टेलिभिजनले यस्ता खाले कार्यक्रममलाई महत्व दिन्छ र आगामी दिनमा पनि दिनेछ,’ उनले भने।

मन्त्री गुरुङले केही कारणवश फरक मुलुकमा बसोबास भए पनि नेपाली संस्कृति, संस्कार र भाषाले सबै नेपालीलाई एकतामा बाँधेको उल्लेख गरे।

इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रम तीन वर्षदेखि निरन्तर नेपाल टेलिभिजनमार्फत प्रसारण हुँदै आएको छ। 

फाउन्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईका अनुसार विभिन्न देशमा छरिएर रहेका नेपाली तथा विदेशी नागरिकलाई उनीहरुको गायन र नृत्यकलामार्फत एकसूत्र गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।

कार्यक्रममा विभिन्न ६० मुलुकबाट सहभागिता भएको थियो। हाल प्रतियोगितामा १६ देशका प्रतिभा छानिएका छन्। ‘नेपाली जहाँ गए पनि मन र संस्कृति नेपालमै छ, हामीले कलासंस्कृतिमार्फत राष्ट्रिय एकता बलियो बनाउने प्रयत्न गरेका छौँ’, कार्यकारी निर्देशक भट्टराईले भने।

नेपाल टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण हुन्छ भने आइतबार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुँदै आएको छ। 

कार्यक्रममा प्रथम हुनेलाई पुरस्कार स्वरुप रु एकरएक करोड, दोस्रोलाई रु ३०–३० लाख, तेस्रो हुनेलाई रु १०–१० लाख र उत्कृष्ट १० मा पर्ने सबैलाई जनही रु तीन लाख पुरस्कार प्रदान गरिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad