समाज


समाचार प्रकाशनगृहमाथि धम्की दिनु मानवअधिकारका मूल्य मान्यताविपरीत: आयोग

समाचार प्रकाशनगृहमाथि धम्की दिनु मानवअधिकारका मूल्य मान्यताविपरीत: आयोग

नेपालखबर
असार १, २०८२ आइतबार १७:९, काठमाडौँ

राष्ट्रिय मानवअधिकार आयोगले सञ्चारगृहमाथिको धम्की, दुर्व्यवहार जस्ता कार्य बन्द गर्न र यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रह गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै पत्रकारहरूलाई धम्की,पक्राउपुर्जी जारी जस्ता घटना मानवअधिकारका मूल्य मान्यताविपरीत रहेको जनाएको हो। 

आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदिन पनि आग्रह गरेको छ। ‘विगत केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन गरेको तथा सामाजिक सञ्जालको माध्यमबाट आफ्ना विचार तथा अभिव्यक्ति प्रकट गरेको आधारमा पत्रकार एवं सामाजिक सञ्जाल प्रयोगकर्तामाथि धरपकड, धम्की, दुर्व्यवहार लगायतका घटनाहरू भइरहेकोप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

आयोगले यस सम्बन्धी विभिन्न सूचना तथा जानकारी र पछिल्लो घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।

‘समाचार प्रकाशन गरेबापत जिम्मेवार अधिकारीले पत्रकार तथा प्रकाशनगृहमाथि धम्की दिइएको र पत्रकारलाई पक्राउ पुर्जी जारी गरेको लगायतका घटना सार्वजनिक हुनुका साथै आयोगमा समेत जानकारी प्राप्त भएका छन्, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ तथा नेपाल पक्षराष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्ताराष्ट्रिय महासन्धि, १९६६ को धारा १९ मा प्रत्येक व्यक्तिलाई बिनाहस्तक्षेप विचार राख्न पाउने अधिकारको उल्लेख छ, नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिनुका साथै धारा १९ मा सञ्चारको हकअन्तर्गत प्रकाशनमा पूर्वप्रतिबन्ध लगाउन नपाइने र धारा १७ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ’ ’विज्ञप्तिमा उल्लेख छ।

उल्लिखित घटनाहरू मानवअधिकारका मूल्य मान्यताविपरीत हुनुका साथै नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकविपरीत रहेको आयोगले जनाएको छ।

यस्ता कार्यले लोकतान्त्रिक मूल्य मान्यतामा प्रहार हुनुका साथै, नागरिक स्वतन्त्रतालाई समेत कुण्ठित गर्ने भन्दै पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकलगायतका संवैधानिक व्यवस्थाको प्रत्याभूति गर्ने दायित्व सरकारको हुने आयोगले जनाएको छ।

‘तथापि सरकारका विभिन्न तहमा रहेका जिम्मेवार पदाधिकारीहरूबाट नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने गतिविधिहरू हुनु चिन्ताको विषय हो, संविधानप्रदत्त सूचनाको हकको प्रत्याभूतिका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अहं भूमिका रहन्छ, अतः राष्ट्रिय तथा अन्ताराष्ट्रिय कानुनप्रदत्त सूचना तथा सञ्चारको हकको संरक्षण गर्दै पत्रकार तथा सञ्चारगृहमाथिको धम्की, दुर्व्यवहार जस्ता कार्य बन्द गर्न, यस्ता घटना दोहोरिन नदिने अवस्थाको सिर्जना गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रूपमा रक्षा गर्न र पत्रकारको सुरक्षामा संवेदनशील हुन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ’‚ विज्ञप्तिमा उल्लेख छ।

आयोगले पत्रकारिताको आचारसंहिता र व्यवसायीक मर्यादाको सीमाभित्र रहेर सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरी आमसञ्चार जगत्‌को गरिमा कायम गर्ने कार्यमा भूमिका खेल्न सम्पूर्ण पत्रकार तथा सञ्चारगृहहरूलाई आग्रह पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad