भारतमा कोरोना भाइरस (कोभिड-१९) का कारण १४ महिने बच्चाको पनि मृत्यु भएको छ। यस्तै तेलंगानामा २३ दिनका शिशु पनि संक्रमित भेटिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनसार गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका ती बच्चा भारतमा कोभिड-१९ का कारण मृत्यु हुने अहिलेसम्मकै कम उमेरका व्यक्ति हुन्।
भारतमा कोभिड-१९ बाट संक्रमितको संख्या मंगलबारसम्म ४ हजार ७ सय ८९ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मृतकको संख्या १ सय २४ पुगेको छ भने उपचारपछि ३ सय ५२ जना स्वस्थ भएका छन्।
पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ। भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० थियो।
मंगलबार महाराष्ट्रमा मात्र १ सय ५० संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। योसँगै यहाँ संक्रमितको संख्या १ हजार पुगेको छ।
दिल्लीमा ५ सय ७६ जनामा संक्रमण भेटिएको छ भने मृतकको संख्या ९ पुगेको छ। दिल्लीमा मंगलबार थप २ जनाको मत्यु भएको छ। दिल्लीमा ३५ जना गम्भीर अवस्थाका बिरामी छन्।
तेलंगानामा मंगलबार २३ दिनको शिशुसहित थप ४० नयाँ सक्रमित भेटिएका छन्। यहाँ संक्रमितको संख्या ४ सय ४ पुगेको छ। गुजरातमा मंगलबार थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको छ।
यस्तै महाराष्ट्रमा मंगलबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार तालिमनाडुमा ६९, मध्ये प्रदेशमा ६३, दिल्लीमा ५१, राजस्थानमा ४२, तेलंगानामा ४० र हरियाणामा ३३ नयाँ संक्रमित भेटिएका छन्।
यस्तै उत्तर प्रदेशमा अहिलेसम्म ३ सय ५ व्यक्ति संक्रमित, ३ को मृत्यु तथा बिहारमा ३२ जना संक्रमित र १ व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया