छापा खबर


फ्रान्सबाट आएकी युवतीको यस्ताे सावधानीले काठमाडौँमा फैलिन पाएन काेराेना संक्रमण

फ्रान्सबाट आएकी युवतीको यस्ताे सावधानीले काठमाडौँमा फैलिन पाएन काेराेना संक्रमण

नेपालखबर
चैत २६, २०७६ बुधबार १:२५,

फ्रान्सबाट आएकी युवतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्।

यस्तो शैलीले कोरोना नियन्त्रण हुन सक्दैन भनेर उनले सरकारको ध्यानाकर्षण पनि गराएकी थिइन् ।

यति मात्र होइन, परिवारसँग समेत उनले दूरी कायम गरेकोले संक्रमण फैलिन नपाएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।

४ चैतमा फ्रान्सबाट आएकी काठमाडौँ मैतिदेवीकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो। नेपालमा यो दोस्रो केस थियो । उनले विमानस्थलदेखि नै सावधानी अपनाउँदा कसैलाई संक्रमण नभएको ‘कन्ट्याक्ट ट्रेसिङ’बाट पुष्टि भएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा‍.वासुदेव पाण्डले भने, ‘सावधानी अपनाउँदा उहाँबाट कसैलाई पनि संक्रमण भएन, सचेत हुनुहुँदो रहेछ । उहाँले आफू र धेरैलाई जोगाउनुभएको छ, सबै यसैगरी जिम्मेवार हुने हो भने कोरोना नियन्त्रण गर्न सहज हुन्छ।’

ती युवती कतार एयरको क्युआर ६५२ फ्लाइटमा दोहा हुँदै नेपाल आएकी थिइन् । उनलाई लिन बुबा विमानस्थल गएका थिए । विमानस्थलबाट आफ्नै निजी गाडीमा घरसम्म पुगेकी थिइन् । गाडीचालक, बुबा र युवतीले गाडीमा मास्क र स्यानिटाइजर प्रयोग गरेका थिए । उनी गाडीको पछिल्लो सिटमा अलगै बसेकी थिइन्।

उनमा संक्रमणको लक्षण देखिएको थिएन, तर घरमा आएलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् । परिवारका सदस्यसँग भेटघाट मात्रै बन्देज गरिनन्, शौचालयसमेत बेग्लै प्रयोग गरेको स्वास्थ्यकर्मीलई बताएकी छिन् ।

आफूसँगै फ्रान्सबाट फर्किएकी भियतनामकी साथीलाई संक्रमण देखिएपछि उनी स्वदेश आएको चार दिनपछि आफैँ परीक्षणका लागि टेकु अस्पताल गएकी थिइन्।

फ्रान्सबाट काठमाडौँ ओर्लिएलगत्त युवतीले सामाजिक सञ्जालमा लेखेको स्टाटस यस्तो छ :
‘म पेरिसबाट दोहा हुँदै आज काठमाडौं
आएँ । यहाँको परिस्थिति लाजमर्दो रहेछ । विमानस्थलको हेल्थ डेस्कमा एउटै व्यक्ति थिएन । हामीलाई कुनै फर्म भर्न दिइएन । न त
अध्यागमनले नै केही सोधपुछ गर्‍यो ।
फ्रान्स, जहाँ राज्यले व्यवस्थित लकडाउन गरेको छ । त्यस्तो ठाउँबाट आउँदा मलाई लागेको थियो, यहाँ झन् व्यवस्थित चेकजाँच हुन्छ । म आएको जहाजमा नेपाली नै धेरै थिए । हामीलाई यहाँको अवस्थाबारे जति जानकारी दिनुपर्ने थियो, त्यो दिइएन ।
विमानस्थलमा ओर्लिएपछि बसमा भीडभाड, सामान बुझ्ने ठाउँमा पनि उस्तै भीड । इमानदारीसाथ भन्नुपर्दा यो लज्जास्पद अवस्था
हो, यो अवस्थामा नेपालमा एकजना मात्रै
कोरोना संक्रमित छन् भन्नु भ्रमपूर्ण छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad