समाज


प्रधानमन्त्रीलाई श्रमिक बालिकाको पत्र- मजस्ता कलिलो शरीरसँग खेल्नेलाई मृत्युदण्डको कानुन ल्याइदिनुस्

‘बुवासँगै बस्न नपाए पनि आमाको काखमा बस्न पाऊँ’
प्रधानमन्त्रीलाई श्रमिक बालिकाको पत्र- मजस्ता कलिलो शरीरसँग खेल्नेलाई मृत्युदण्डको कानुन ल्याइदिनुस्

बालिकाको तस्बिर एआई निर्मित


पुष्पा श्रेष्ठ
जेठ २९, २०८२ बिहिबार १९:५९, काठमाडौँ

सम्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार।

सर्वप्रथम त मजस्ती सबैको हेलामा बाँचिरहेकी बालिकाले पनि प्रधानमन्त्रीजस्तो ठूलो व्यक्तिलाई पत्र लेख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

प्रधानमन्त्रीज्यू, मेरो नाम पुष्पा श्रेष्ठ हो र मेरो घर मकवानपुर जिल्लाको विकट गाउँमा पर्दछ। म अहिले १४ वर्षकी भएँ र हाल रक्षा नेपाल (सामाजिक संस्था) मा बसिरहेकी छु।

मेरो आमाको १३ वर्षको उमेरमा २५ वर्षको केटासँग विवाह भएको थियो रे! उहाँहरू सधैँ रक्सी खाएर कुटाकुट गर्नुहुन्थ्यो। पहाडको ठाउँमा सानो बारी थियो। राम्रो उब्जनी हुँदैन थियो। मेरी आमाले ७ जना बच्चा पाउनुभएको थियो। म साइँली हुँ।

म त्यस्तै ६ वर्षको थिएँ। एक दिन उतापट्टि डाँडामा बुबालाई कसैले मार्‍यो रे भन्ने खबर सुनेँ। अनि बुवालाई मारेको निहुँमा आमालाई पुलिसले पक्रिएछ। हामीलाई त आमासँग भेट्न दिएन। हामी सबै त्यो रात ठूलो बुवाको घरमा सुत्यौँ।

केही दिनपछि त्यही ठूलोबाले मलाई काठमाडौं ल्याएर एउटा घरमा भाँडा माझ्ने काम गर्ने, स्कुल पनि जाने भनी छाडिदिनुभयो।

म त्यो घरमा बस्दिनँ, आफ्नो दिदीभाइ भएकै ठाउँमा जान्छु भनी कति रोएँ तर ठूलोबाले मलाई कुटेर त्यही घरमा छोडेर जानुभयो। मेरो दिदीहरू, भाइहरूलाई कहाँ लथ्यो, थाहा भएन।

म काठमाडौंको ठूलो घरमा आफूभन्दा ठूलाठूला साइजका भाँडा धुने, भुईं पुछ्ने, ट्वाइलेट सफा गर्ने काम गर्न थालेँ। मलाई सुरुसुरुमा काम गर्न आएन भनेर साहुले खान दिएन, स्कुल पनि पठाएन।

म १० वर्ष उमेर भएपछि त्यो साहुले उसको ठूलो होटल रहेछ, त्यो होटलमा भाँडा धुन लग्यो। म बिहान–बेलुका साहुको घरमा काम गर्ने र दिउँसो उसको होटलमा काम गर्न थालेँ।

मेरो सानो शरीर काम गर्दागर्दा थाक्थ्यो। कहिलेकाहीँ त भाँडा मस्काउँदा मस्काउँदै त्यहीँ निदाउँथेँ। दया, माया नभएका पापीले मलाई फलामको डण्डीले पिट्थ्यो। मैले भाँडामा जुठो निखारेर माझिनँ रे भनेर ज्यानमाराकी छोरी ‘यति पनि गर्न सक्तिनस्?’ भनी पिट्थ्यो। शरीरभरि रगत बग्थ्यो तर कोहीले मद्दत गर्दैनथ्यो।

म रोईकराई गरिरहेको बेला साहुको छोरा आएर मलाई सुम्सुम्याउँथ्यो, गालामा चुम्बन गर्थ्यो। मेरो छातीतिर हात लान्थ्यो र ‘दुख्यो है तँलाई, मैले भनेको मानिनस् भनेचाहिँ म तँलाई औषधि लागाइदिन्छु’ भन्थ्यो।

उसले मलाई औषधि गरिदिने होला भन्ने नै ठानेको थिएँ तर उसले त मलाई बलात्कार पो गर्न खोज्यो। म रोएँ, कराएँ, चिच्याएँ तर त्यो अग्लो पर्खालभित्रको घरमा मैले चिच्याएको कसैले सुनेन वा सुनेर पनि वास्ता गरेनन्। कुटाइपिटाइ खाँदै र साहुको छोराले मेरो शरीर निर्चोने, चिमोट्ने, गिजोल्ने गरिरहेको थियो।

एक दिन त्यही होटलमा खाना खान एकजना सर आउनुभयो। मेरो हातभरि नीलानिला डाम देखेर ‘के भयो’ भनेर सोध्नुभयो तर त्यहाँ साहुले सुन्छ भनेर मलाई डर लाग्यो। त्यो सरसँग बोलिनँ। त्यो सर प्राय:जसो खाजा खान आइरहनुहुन्थ्यो। मैले उहाँ आएपछि दिन्छु भनेर सानो कागजको टुक्रामा ‘मलाई मेरो ममी भएको ठाउँमा लगिदिनु न, मलाई यहाँ बस्न मन छैन, मलाई नराम्रो गर्छन् यहाँ’ भनेर लेखेर दिएँ।

यो कुरा उहाँले काठमाडौं महानगरपालिकालाई भनिदिनुभएछ र केही समयपछि काठमाडौँ महानगरको सर, म्यामहरू म काम गर्ने ठाउँमा आउनुभयो र मलाई रक्षा नेपाल भन्ने संस्थामा राखिदिनुभयो।

रक्षा नेपाल आएपछि मैले भोग्नुपरेको सबै भनिदिएँ। ममाथि अत्याचार गर्ने साहु र त्यसको छोरालाई प्रहरीले पक्रिएको रहेछ।

अस्ति न मलाई अदालत जाँदा त्यो अपराधी साहुको आफन्तले गाली गर्‍यो। पिट्न आयो। ‘मुद्दा फिर्ता ली, तेरो ठूलो बाले पैसा लगेको छ’ भनेर धैरे धम्क्यायो।

काठमाडौं महानगरपालिकाको सर म्याम थिएन भने अपराधीको मान्छेले मलाई त्यहीँ मार्थ्यो होला।

सम्माननीय प्रधानमन्त्रीज्यू,

हजुर त मजस्ता सबै बालबालिकाको बुबा होइन र? अनि हामी कहिलेसम्म यसरी लुकीलुकी हिँड्नुपर्ने? अपराधीका मान्छेले अदालतमा हामीलाई धम्क्याउने, हातपात गर्ने अनि मेरो लागि सुरक्षाचाहिँ कसले दिने?

मैले अहिले थाहा पाएँ, मेरी आमा काठमाडौंकै जेलमा हुनुहुँदोरहेछ। मैले उहाँलाई भेटेँ। (उहाँका भनाइमा), मेरो बुबालाई मारेको चाहिँ फुपूले रहेछ। फुपूलाई चाहिँ जन्मकैद र मेरो आमालाई निर्दोष भनेको रहेछ। तर अदालतले दोषी होइन भनेकी मेरी आमालाई ३ लाख रुपैयाँ तिर्‍यो भने मात्र जेलबाट छोडिदिन्छ रे।

प्रधानमन्त्रीज्यू, तपाईँ त मेरो अभिभावक होइन? कृपया मेरी आमाले ३ लाख कहाँबाट लेराउनु र मेरी आमालाई जेलबाट जान दिनु? निर्दोष मानिसलाई थुनी नराख्नू भनिदिनु न।

म बुवा सँगसँगै बस्न नपाए पनि आमाको काखमा बस्न चाहन्छु। प्लिज, बिन्ती गर्छु।

मेरो दिदीहरू कहाँ छ होला? मेरो सानो भाइ कहाँ छ होला? खोजी गरिदिनुहोस् र हामी सबैलाई आफ्नै आमसँग बाँकी जीवन नरोइकन ढुक्कसँग बस्ने वातावरण बनाइदिनूस् र ममाथि अन्याय गर्ने, मलाई धम्की दिने अपराधी, उसका आफन्त र उनीहरूलाई साथ दिने सबैलाई मृत्युदण्ड दिनुहोस् भन्ने अपिल गर्दछु।

अन्त्यमा प्रधानमन्त्रीज्यू,

नेपालमा बालश्रम अन्त्य भयो भनेको होइन? मजस्ता छोरीहरू अझै हजारौँ छन्। कहिले मुक्त गर्नुहुन्छ सबैलाई?

मजस्ता कलिलो शरीर र मनसँग खेल्ने दानवलाई कहिले कारबाही हुन्छ? कस्तो कारबाही हुन्छ? अदालतमा पनि त्यो अपराधी र अपराधीका मानिसको अगाडि बोल्नुपर्ने रहेछ। हामीले तपाईँसँग मात्रै बोल्नचाहिँ पाइँदैन?

न्यायाधीशसँग मात्र आफ्ना वेदना सुनाउन कहिले पाउछौँ? मेरो मुद्दा हेरिदिनेचाहिँ सरकारी वकिल मात्र। मेरो अपराधीको मुद्दा हेरिदिनेचाहिँ १२-१५ जना ठूलाठूला नाम चलेका वकिल।

कालो कोट लगाएर अपराधीलाई बचाउन लागिपरेका वकिल सर, म्यामहरूले मलाईचाहिँ बचाउनुपर्दैन।

वकिल पनि अपराधीकै पक्षमा, अदालत पनि अपराधीकै पक्षमा अनि मेरो साथमा को छ त? मेरो साथमा मेरो बुवा उभिने थिए होला। उनको हत्या भइहाल्यो। मेरी आमा उभिने थिइन् होला, उनलाई झुटो आरोपमा जेलमा हालिएको छ।

प्रधानमन्त्रीज्यू, अब हजुर मेरो बुवाआमा भएर मेरो पक्षमा उभिदिनुस्। बालिकाको जीवनमाथि खेलवाड गर्नेलाई मृत्युदण्डको कानुन लेराइदिनुस्।

पुष्पा श्रेष्ठ
काठमाडौं

(बालश्रमविरुद्ध विश्व दिवसको सन्दर्भमा १२ वर्षीया श्रमिक बालिका पुष्पा श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad