जल तथा मौसम विज्ञान विभागले बितेका घण्टाभित्रै कोसी र बागमती प्रदेशका केही स्थानमा मध्यम तथा एक-दुई ठाउँमा भारी वर्षासमेत भएकाले सतर्क रहन सुझाव दिएको छ।
वर्षा गराउने प्रणाली दक्षिण-पश्चिमतर्फ सरिरहेकाले ती प्रदेशका आसपास पनि मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको जानकारी विभागले दिएको छ।
मौसम विभागले बुधबार साँझ साढे ६ बजेतिर चेतावनी जारी गर्दै भनेको छ, ‘विगत ३ घण्टामा कोसी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र १-२ स्थानमा भारी वर्षा मापन भएको छ। सो वर्षा गराउने प्रणाली दक्षिण-पश्चिमतर्फ सर्दै गइरहेकोले आसपासका क्षेत्रमा समेत मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा समेत हल्का वर्षा भएको र बाँकी स्थानमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनहुन हार्दिक अनुरोध छ।’
हेर्नुहोस् सूचना-

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै कुनै प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने एक-दुई स्थानमा पानी पर्न सक्छ भनिन्छ।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया