समाज


लकडाउनमा समाजसेवा : एक व्यवसायी जसले निजी गाडीलाई 'एम्बुलेन्स' बनाइरहेका छन्

लकडाउनमा समाजसेवा : एक व्यवसायी जसले निजी गाडीलाई 'एम्बुलेन्स' बनाइरहेका छन्

वसन्त अर्याल
चैत २५, २०७६ मंगलबार ८:२०,

कोरोनाभाइरस अर्थात् कोभिड–१९ संक्रमण नियन्त्रणको लागि नेपाल विगत २ हप्तायता लकडाउनको अवस्थामा छ। सरकारले आजदेखि पुनः वैशाख ३ गतेसम्म यो अवधि लम्ब्याइसकेको छ। मानिस घरभित्रै छन्। व्यापार व्यवसाय ठप्प छन्।

यसको सबैभन्दा ठूलो मार पर्यटन व्यवसायीले भोगेका छन्। व्यवसाय चौपट भएपछि उनीहरु सरकारले दिने राहतको आशा र पर्खाइमा छन्।

सरकारले चैतको तलब काम गर्नेहरुलाई दिन कम्पनीहरुलाई भनिसकेको छ। व्यापार ठप्प हुँदा कर्मचारीको लागि तलब समेत खुवाउन नसक्ने उनीहरुले बताइरहेका छन्।

तर कोही यस्ता पर्यटन व्यवसायी पनि छन्, जसले लकडाउनलाई समाज सेवाको माध्यम बनाएका छन्।

lockdown ss 1

तिनैमध्ये पर्छन् सुवास श्रेष्ठ। उनी अन्य व्यवसायीभन्दा फरक ढंगले काम गरिरहेका छन्। अन्नपूर्ण टुर एण्ड ट्राभल एजेन्सीका सञ्चालक श्रेष्ठले आफ्ना चारवटा गाडीमार्फत बिरामीहरुलाई निःशुल्क सेवा दिइरहेका छन्।

लकडाउन सुरु भएलगत्तै उनले परिस्थितिले मागेको काम गर्ने निर्णय गरे। दोस्रो दिन नै उनले व्यावसायिक प्रयोजनमा दौडिने आफ्ना गाडी ‘एम्बुलेन्स’ बनाए।

lockdown ss 3

उनी र उनका ३ साथी एम्बुलेन्स ड्राइभरको भूमिकामा देखिए। बिरामीको सेवा गर्न थाले।

दिन होस् कि रात। हाल उनी बिरामीको फोन आउनासाथ हस्पिटल लैजान तयार छन्।

‘हामी राम्रोसँग सुत्न नि पाउँदैनौं’, श्रेष्ठले नेपालखबरसँग भने, ‘बिरामीको फोन आउँदा चौबीसै घण्टा सेवा दिइरहेका छौँ।’

lockdown ss 2

तर सबै बिरामीलाई श्रेष्ठले हस्पिटल लैजाँदैनन्। गम्भीर बिरामीले भने सेवा पाइरहेका छन्, त्यो पनि निःशुल्क।

‘फोन आउँछ। पहिला सोध्छौं। ज्वरो आएको, रुघा खोकी लागेको बिरामीलाई हामीले लैजाँदैनौं’, उनले गरिरहेको कामबारे भने, ‘डायलासिस, गर्भवती महिला, किमाको आवश्यक भएका क्यान्सर बिरामी, दुर्घटनामा परेका बिरामीको लागि सेवा दिइरहेका छौं।’

श्रेष्ठलाई सघाउने उनकै साथीहरु छन्। उनीहरु गाडीमा लाग्ने खर्च आफैँ गरेको बताउँछन्। ‘मेरो दिनमा १८ देखि २० हजार दैनिक खर्च भएको छ। सोमबारसम्म ५ सय बढी बिरामीलाई सेवा दिइसकेका छौँ’, उनले भने।

lockdown ss 5

‘यसकारण प्रेरित भएँ’
सुरुमा उनलाई लकडाउन कस्तो हुन्छ भन्ने नै थाहा थिएन। दोस्रो दिन आफ्नो फेसबुकमार्फत कुनै बिरामीको लागि एम्बुलेन्स सेवा आवश्यक भए आफू निःशुल्क सेवा दिन तयार रहेको घोषणा गरे।

लगत्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर तथा युट्युबमार्फत धेरैले प्रचार गरे। त्यसपछि उनको समाजसेवा सुरु भयो। यसबाट अत्यन्तै खुसी मिलेको उनको भनाइ छ।

कुनै बिरामीलाई आवश्यक परे फेसबुकमार्फत र सिधै फोन गरेर भन्न सक्ने उनी बताउँछन्।

उनले लकडाउन अवधिभर निःशुल्क सेवा दिइरहने वाचा गरेका छन्। बूढानीलकण्ठ नगरपालिकाभित्र बिरामीको लागि आवश्यक पर्ने औषधि वडा कार्यालयसम्म पु¥याउने व्यवस्था समेत उनले मिलाएका छन्।

lockdown ss 4

‘हामी अस्पताल जाँदा आउँदा बिरामीलाई आवश्यक परेको औषधि लिएर आउँछौँ’, उनले फेसबुकमा समेत लेखेका छन्, ‘बूढानिलकण्ठ नगरपालिका निवासीहरुले औषधि लिन जानुपरे आ–आफ्नो वडा कार्यालयमा सम्पर्क राख्नुहोला, तपाईंको औषधि वडा कार्यालयसम्म पुर्याउने व्यवस्था मिलाएका छौं।’

उनलाई यस्तो काम गर्ने प्रेरणा आफ्नै आमाको कारण मिलेको हो। वि.सं. २०५८ मा संकटकालबाट देश गुज्रिएको थियो। श्रेष्ठकी आमा बिरामी थिइन्। आमाको पाठेघरको क्यान्सर थियो। ३ दिन भएको थियो अप्रिसन गरेको। अचानक राति आमालाई दुःखाइ बढी भयो।

आमालाई तत्कालै अस्पताल लैजानुपर्ने थियो। उनको साथमा मोटरसाइकल मात्रै थियो। आमालाई मोटरसाइकलमा राखेर लैजाने अवस्था पनि थिएन। त्यो रात उनले निकै दुःख भोग्नुपर्यो।

त्यही दुःख लकडाउनमा अरु बिरामीलाई पनि पर्न सक्ने भएकाले मद्दत गर्नथालेको उनी बताउँछन्। कसैले पनि लकडाउनको कारण ज्यान जोखिममा नपरोस् भनेर उनले सरकारसँग अनुमति लिएर गाडी चलाइरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad