भारतको हैदराबादमा बागलुङ घर भएकी विवाहित महिलाको बीभत्स हत्या भएको छ भने घटनामा संलग्न आरोपमा प्रहरीले उनकै प्रेमी नेपालीलाई नै पक्राउ गरेको छ।
भारतीय अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसका अनुसार ‘नेपालको बागलुङ जिल्लाको दुर्गम गाउँबाट सुरु भएको सम्बन्ध हैदराबाद आएर हत्यामा परिणत भएको हो।’
मारिएकी महिला ३३ वर्षीया तारा बोहरा हुन् भने हत्या आरोपमा पक्राउ परेका व्यक्ति ३० वर्षीय विजय थापा हुन्। दुवै बागलुङका हुन्।
साइबराबाद प्रहरी स्टेसनअन्तर्गत बाचुपल्ली प्रहरी चौकीको विशेष अनुसन्धान टोलीले यही जेठ २१ (जुन ४) मा हैदराबादको बाहिरी इलाकामा रहेको आवासीय बस्तीबाहिर सुटकेसमा महिलाको शव फेला पारेपछि घटनाको रहस्य खुलेको हो।
प्रहरी निरीक्षक जे उपेन्द्र रावका अनुसार विजयले घाँटी कसेर ताराको हत्या गरेका हुन्।
दुई बच्चाकी आमा तारा र विजयबीच एक वर्षअघि सामाजिक सञ्जालमा भेट भएको थियो।
हैदराबादको जुबली हिल्सको एक रेस्टुरेन्टमा काम गर्ने विजय गत वर्ष आफ्नो घर बागलुङ फर्किंदा प्रत्यक्ष भेटेर प्रेम सम्बन्ध घोषणा गरेका थिए।विजय हैदराबाद फर्केपछि पनि दुई जनाबीच सम्बन्ध जारी रह्यो।
प्रहरीका अनुसार, त्यसपछि ताराले आफ्नो परिवारसँग सबै सम्पर्क तोडिन् र विजयसँगै हैदराबाद आइन्। तर विजय उनीसँग विवाह गर्न तयार भएनन्। बरु तारालाई गर्भपतन गर्न बाध्य पारे। यही विषयमा मे २३ मा दुई जनाबीच झगडा भयो।
त्यहाँको प्रहरीले बताएअनुसार रिसको आवेगमा विजयले नायलनको डोरीले उनको घाँटी कसेर हत्या गरे। एक दिनका लागि शव घरमै छाडेपछि विजयले पसलमा गएर एउटा ठूलो ट्रली सुटकेस किने। अनि शव त्यसमा हालेर बाचुपल्लीको झाडीमा फ्याँके।
दुर्गन्ध आउन थालेपछि खोजी गर्दा जुन ४ मा सुटकेसभित्र महिलाको शव फेला पर्यो।
बालानगर जोनका डीसीपी के सुरेश कुमारले एक एसआईटी गठन गरे। त्यसले सीसीटीभी फुटेज हेरेर सुटकेस बोकेको विजयलाई पहिचान गर्यो। त्यसपछि उनलाई पक्राउ गरियो।
Shares

प्रतिक्रिया