ad ad

समाज


भक्तपुरमा घर भाडामा लगाउने, सुनका औँठी र आइफोन हुने पनि राहत लिनेको लाममा

भक्तपुरमा घर भाडामा लगाउने, सुनका औँठी र आइफोन हुने पनि राहत लिनेको लाममा

रमेश गिरी
चैत २५, २०७६ मंगलबार ५:२७,

लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउन परिवारलाई वितरण गरिने राहत भक्तपुरमा हुनेखानेहरुले नै लाइनमा बसेर लिन थालेका छन्।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ।

हातमा आइफोन बोकेका, औँलामा सुनका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिन थालेकाले सोचेभन्दा दोब्बर बढी राहत वितरण गर्नुपरेको पहिलो चरणको राहत वितरण सम्पन्न गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

नगरपालिकाभित्र सात हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिँदै उनले भने, ‘हामीले आजदेखि सबै वडामा राहत वितरण सम्पन्न ग¥यौँ, तर राहत लिन अधिकांश बाहिर जिल्लाबाट यहाँ आएर भाडामा बस्नेहरु छन्, राहत लिने आधाजति त हुनेखाने नै छन्। हातमा आइफोन लिएर, सुनका सिक्री औँठी लाएकाहरु गरिब, मजदुरलाई दिने राहत थाप्न आएको समेत देखियो।’

भूकम्पमा बरु पीडितको पहिचान भएर सजिलो भएको तर अहिले मजदुर र गरिबको पहिचान गर्न नसक्दा तीन हजार ५०० घरपरिवारलाई दिने भनेको राहत सात हजार परिवारलाई दिनुपरेको उनले बताए। ‘सरकारी जागिरे भएकादेखि विदेशमा बस्नेहरुका परिवारसमेत राहत लिन आएका छन्,’ उनले भने।

यता सूर्यविनायक नगरपालिकाले वडा नं १ देखि ७ मा राहत वितरण सम्पन्न गरेको छ। नगरपालिकाले अहिलेसम्म चार हजार नागरिकलाई राहत वितरण गरिसकेको जनाएको छ।

वडा नं १ सिरुटारमा राहत वितरणको क्रममा एउटै घरमा १० परिवारसम्म भाडामा बसेका र ती सबै राहत लिन आएको वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिए।

राहत लिन घर भाडामा लाउने घरमालिकदेखि जग्गा जमीन भएकासमेत आएको गुनासो गर्दै उनले भने, ‘७०० भन्दा बढीको नाम सङ्कलन भए पनि वडाले छनोट गरी ४४१ परिवारलाई मात्र राहत वितरण गरेको छ।’ सूर्यविनायक–८ सिपाडोलमा राहत वितरणमा हातमा आइफोन र घाँटीमा सुनका सिक्री लाएकाहरु लाइनमा बसेर राहत लगेको वडाध्यक्ष किरण थापाले बताए। ‘कतिपय पैसा छ, खानेकुरा किन्न पाएनौँ भन्दै राहत लिन आए,’ उनले भने।

सूर्यविनायककै वडा नं ६ कटुञ्जेमा चारतले पक्की घर हुनेदेखि महिनाको ४५ हजार भाडा तिर्ने व्यापारीसमेत राहत लिन आएको वडाध्यक्ष रामेश्वर ध्वजूले बताए। एउटै घरमा ४८ परिवार भाडामा बसेको र सबै राहत लिन आएको पाइएको जानकारी दिँदै उनले एउटै परिवारका श्रीमान् श्रीमती नै राहत लिन आएको बताए।

सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले सङ्कटको बेलामा हुनेखानेले हुँदाखाने वर्गलाई सहयोग गर्नुपर्ने बेलामा आफैँ राहत लिन आएको गुनासो चारैतिरबाट आएको बताए।

सूर्यविनायक नगरपालिकाभित्र अन्तिम नामावली छनोटपछि करिब पाँच हजारलाई राहत सामग्री वितरण गरिने र राहत लाने सबैको नामावली, राहतको विवरण वेबसाइटबाट सार्वजनिक गरिने उनले बताए।
भक्तपुर नगरपालिकाले सोचेभन्दा धेरै मानिस वडामा राहत लिन नाम दर्ता गर्न आएपछि राहत वितरण नै शुरु गरेको छैन।

प्रत्येक वडाबाट नामावली सङ्कलन गर्ने क्रममा स्थानीयभन्दा पनि बाहिर जिल्लाबाट आएका र हुनेखानेहरु बढी आएपछि छनोट गरेर मात्रै वितरण गर्ने तयारी गरेको प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

‘राहत लिन हुनेखानेहरु धेरै आएपछि यो विकृति रोक्न र वास्तविक मजदुर तथा गरिबलाई छनोट गरेर राहत वितरण गर्ने तयारी गरेका छौँ,’ उनले भने। भूकम्पको बेलामा भन्दा जटिल अवस्था अहिले राहत वितरणमा देखिएको उनको भनाई छ। वडाबाट सङ्कलित नाममा वास्तविक मजदुर र गरिबको पहिचान गरेर मात्रै कार्ड बाँडेर आजबाट राहत वितरण शुरु गर्ने उनले जानकारी दिए।

त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारले सित्तैमा दिने त हो नि भन्दै आवश्यक नै नभएका हुनेखानेहरु राहत माग्दै वडामा आएको बताए।

नामावली सङ्कलनमा घरजग्गा भएका, सरकारी जागिर भएका, विदेशबाट पैसा आउने र सरकारी सुविधा पाउनेसमेत राहत लिन आएको पाइएको छ। चाँगुनारायणले पनि आएका नाममा छनोट गरेर वडा तहबाटै राहत वितरण शुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .