सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिकाको मार्मिङ चाकुमा बाढीले एक घर र पुल बगाएको छ।
स्थानीयका अनुसार शनिबार राति भएको वर्षापछि स्थानीय हृयाङ्ले खोलामा उर्लिएको बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्ले गाउँस्थित एक घर र चाकु बजार वारपार गर्ने साँघु पुल बगाएको हो।
साथै उक्त बाढीले बगाएर भोटेकोसी गाउँपालिका वडा नम्बर ५ मा निर्माणाधीन शिवश्री हाइड्रोपावरमा काम गर्ने दुई कर्मचारी बेपत्ता भएका छन्।
उनको खोजी गर्न अहिले (आइतबार बिहान १० बजे) बाह्रबिसेस्थित इलाका प्रहरी कार्यालका प्रमुख प्रहरी निरीक्षक यादव थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ।
‘अहिले हामी घटनास्थलमा छौं, उक्त हाइड्रोपावरमा काम गर्ने दुई कर्मचारी बेपत्ता भएका रहेछन्,’ प्रहरी निरीक्षक थापाले टेलिफोनमा नेपालखबरसँग भने, ‘खोजी सुरु गरेका छौं।’
प्रहरी निरीक्षक थापाका अनुसार बाराका रामअवतार चौधरी र सुनसरी इटहरीका यादवप्रसाद काफ्ले शनिबार रातिदेखि बेपत्ता भएका हुन्। ‘उनीहरूको पूरै परिचय खुल्ने प्रमाण त अहिलेसम्म पाएका छैनौं,’ उनले भने, ‘उनीहरूकै साथीले दिएको जानकारी चाहिँ यही हो, अनुसन्धान गर्दै छौं।’
राति ८/९ बजेतिर खाना खाएर सुत्न जाने क्रममा उनीहरू बाढीमा बेपत्ता भएको उनीसँगै काम गर्नेहरूले बताएका छन्। हाइड्रो पावरका कर्मचारी खाने र सुत्ने ठाउँ अलगअलग रहेको प्रहरी निरीक्षक थापाले बताए।
प्रहरी निरीक्षक थापाका अनुसार मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिप्पपर जस्ता साधन, माथिल्लो भोटेकोसीको बाधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रो अधिकांश संरचना बाढीले ध्वस्त पारेको छ।
‘कति क्षति भयो मूल्यांकन गर्दै छौं,’ उनले भने।

बाढीका कारण स्थानीयकाे भागाभाग भएको थियाे। त्रासले रातभर सुत्न नसकेको स्थानीयले बताएका छन्।
चाकु, दसकिलोदेखि सीमावर्ती क्षेत्रसम्म बाढीको त्रास फैलिएको स्थानीयले बताएका छन्।
०७१ मा जुरेपहिरो, ०७२ मा भूकम्प, २०७३ असार २१ मा भोटेकोसी बाढी तथा बर्खैपिच्छे जाने पहिराका कारण सिन्धुपाल्चोकका बासिन्दा त्रसित छन्।

प्रतिक्रिया