समाज


सरकारलाई सेनाको ब्रिफिङ : चीन, कोरिया र सिंगापुरबाट स्वास्थ्य सामग्री ल्याउन सकिन्छ

सरकारलाई सेनाको ब्रिफिङ : चीन, कोरिया र सिंगापुरबाट स्वास्थ्य सामग्री ल्याउन सकिन्छ

उजिर कार्की
चैत २४, २०७६ सोमबार १४:३,

कोरोना महामारी रोक्न अत्यावश्यक स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले चीन, दक्षिण कोरिया र सिंगापुरबाट ती सामग्री खरिद गर्न सकिने जानकारी सरकारलाई गराएको छ।

स्वास्थ्य सामग्री खरिदका बारेमा सोमबार सेनाले सरकारी अधिकारीहरुलाई रक्षा मन्त्रालयमा ब्रिफिङ गरेको छ।

सेनाको ब्रिफिङमा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहभागी थिए। यस्तै अर्थ, रक्षा, परराष्ट्र र स्वास्थ्य सचिव पनि सहभागी थिए।

सो अवसरमा नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री र खरिदका लागि विभिन्न मुलुकसँग भएका कुराकानीबारे सेनाले सरकारी अधिकारीहरुलाई जानकारी दिएको सहभागी एक सचिवले नेपालखबरलाई बताए।

‘सेनाले स्वास्थ्य सामग्री खरिदका बारेमा केही देशसँग अनौपचारिक कुरा गरिसकेको जानकारी गराएको छ,’ ती सचिवले भने, ‘मुख्यगरी चीन, दक्षिण कोरिया र सिंगापुरबाट सामान ल्यान सकिने बताएको छ।’

नेपाललाई आवश्यक सामग्रीका बारेमा केही देशलाई इमेल पठाएको भएपनि हालसम्म कहाँबाट सामान ल्याउने भन्ने टुंगो नलागेको सैनिक स्रोतले बतायो। अनौपचारिक छलफलमा टुंगो लागेपछि परराष्ट्र मन्त्रालयमार्फत औपचारिक पहल गरिने सोमबारको ब्रिफिङमा बताइएको छ।

सेनाले स्वास्थ्य सामग्री किन्न खरिद इकाई गठन गर्न सोमबार नै रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ। तर, अहिलेलाई पुरानै खरिद इकाईबाट काम गर्ने गरी तयारी भइरहेको पनि रक्षा मन्त्रालय श्रोतले जानकारी दियो।

सैनिक प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले सरकारले तोकेकै समयमा गुणस्तरीय सामग्री पारदर्शी रुपमा खरिद गर्ने गरी काम भइरहेको बताएका छन्।

‘समय सीमा नै तोकेर हामीलाई पत्र आएको होइन, विभिन्न देशहरुसँग कुरा अगाडि बढेको छ। उताबाट जवाफ आएपछि त्यही अनुसार जतिसक्दो छिटो गर्छौं, अहिलेको महामारीलाई ख्याल गरेर जतिसक्दो छिटो ल्याउँछौं,’ पाण्डेले नेपालखबरसँग भने।

यसअघि स्वास्थ्य मन्त्रालयले टेन्डर मार्फत खरिद गरेको सामग्री गुणस्तरहीन भएको, ठेक्कामा अनियमितता भएकोजस्ता आरोप लागेपछि सरकारले ठेक्का नै रद्द गर्नु परेको थियो।

सेनाले भने विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त सामग्री मात्र खरिद गर्ने दाबी गरेको छ।

यसअघि खरिद अपारदर्शी भएको भन्दै सरकारको चर्को आलोचना भएको थियो। सेनाले आफूहरुले पारदर्शी रुपमा काम गर्ने जनाएको छ।

‘सामग्री खरिदमा मध्यस्तकर्ताको प्रयोग गर्दैनौं। प्रतिस्पर्धात्मक शैलीद्वारा सामग्री र यातायातको छुट्टाछुट्टै मूल्य निर्धारण गर्छौं,’ प्रवक्ता पाण्डेले भने।

सार्वजनिक खरिद ऐन तथा नियामावलीहरुको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढंगबाट सर्वपक्षीय औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरीद व्यवस्थापन समिति मार्फत काम गरिने सेनाको भनाइ छ।

आयातित सामग्रीको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारीसहितको गुणस्तर नियन्त्रण समिति गठन गर्ने भनिएको छ।

चैत्र १६ गतेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत जीटूजी विधिबाट खरिद गर्ने निर्णय गरेको थियो।

त्यसअघि चीनको वुहानबाट नेपाली विद्यार्थीहरुको उद्दार गरी क्वारन्टिनको व्यवस्थापन गरेको सेनाले प्रदेश तथा स्थानीय तहमा क्वारन्टिन र आइसोलेसन कक्ष निर्माण समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad