कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा सरकारले नाै हजारभन्दा बढी नागरिकलाई निगरानीमा राखेको छ।
कोरोना संक्रमण पुष्टि भएका ८ जना (संक्रमितको कूल संख्या ९ भए पनि एक निको भइसकेकाले) सँग सम्पर्क गरेका व्यक्ति, विदेशबाट आएका र कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका गरी ९ हजार २ सय ८० जनालाई सरकारले शंकाको घेरामा राखेको हो।
दैनिक लाइभ कार्यक्रममार्फत कोरोनासम्बन्धी अपडेट प्रस्तुत गर्ने क्रममा साेमबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं उपत्यकाभित्र १२ र बाहिर ९५ गरी कोरोना आशंकित १०७ जना आइसोलेसनमा रहेकाे जानकारी दिए।
यसैगरी देशभर ९ हजार १ सय ६८ जनालाई क्वारेन्टिनमा राखिएको उनले बताए। साथै स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको हाम्रो स्वास्थ्य मोबाइल एप्समार्फत सम्पर्कमा आएका ५ जनालाई लक्षणका आधारमा ‘रेड जोन’ मा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।
‘बितेका २४ घण्टामा हाम्रो एप्समार्फत १२ जनाले आफ्नो जिज्ञासा राखेका छन्,’ कोरोनासम्बन्धी अपडेटको लाइभ कार्यक्रममा बोल्दै उनले भने, ‘तीमध्ये ५ जनामा कोरोनासँग मिल्दा लक्षण देखिएका छन्, त्यसैले उनीहरूलाई रेड जोनमा राखेका छौं र निरन्तर फलोअप गरिरहेका छौं।’
यी सबै मिलाउँदा सरकारले अहिलेसम्म कोरोनाको आशंकामा निगरानीमा राखेका व्यक्तिको संख्या ९ हजार २ सय ८० पुगेको हो।
‘अझै हामीले कन्ट्याक्ट ट्रेसिङ जारी नै राखेका छौं,’ प्रवक्ता देवकोटाले भने।
संक्रमण प्रमाणित भएका व्यक्तिसँग भौतिक सम्पर्क गरेका व्यक्तिको खोजी गर्ने प्रक्रियालाई ‘कन्ट्याक्ट ट्रेसिङ’ भनिन्छ।
शंकाकाे घेरामा राखिएका सबैलाई कोरोना संक्रमण भएकै हुन्छ भन्ने होइन। तिनलाई संक्रमितसँगको सम्पर्क र कोरोनासँग मिल्दा लक्षण देखिएका आधारमा कतै कोरोना पो हो कि भनेर निगरानीमा राखिएको मात्र हो।
१४ दिनसम्म राख्दा काेराेनाका कुनै लक्षण देखिएन वा नमुना परीक्षण गरेपछि काेराेना भाइरस नभएकाे पुष्टि भएमा उनीहरूलाई सरकारले बन्धनबाट छाड्नेछ।
कम्तीमा १४ दिनसम्म क्वारेन्टिनमा रहनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ। किनकि कोरोना भाइरसकाे संक्रमण भएको भए १४ दिनमा लक्षण देखापर्ने डब्ल्यूएचओको भनाइ छ।
यद्यपि १४ दिनभन्दा बढी समयपछि पनि यसका लक्षण देखिन सक्ने विज्ञहरूले बताएका छन्। यसैकारण चार संक्रमित फेला परेको तथा विदेशबाट संक्रमित भएर आएका कैलालीका एक युवाले घरमै रहेका अर्का सदस्यलाई पनि सारेपछि सुदूरपश्चिम सरकारले क्वारेन्टिनको अवधि २१ दिन पुर्याएकाे छ।
अहिलेसम्म कतिले जँचाए कोरोना?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार अपराह्न लाइभ कार्यक्रममा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म कोरोना शंकामा नमुना परीक्षणको संख्या १६ सय ९७ पुगेको बताए।
तर यो टेकु प्रयोगशालामा परीक्षण गरिएको तथ्यांक मात्रै हो कि देशभरकै?
प्रस्ट नभएकाले नेपालखबरले प्रवक्ता देवकोटासँग सोमबार साँझ फोनबाट सम्पर्क गरेको थियो।
उनले भने, ‘यो खासमा टेकुको तथ्यांक मात्रै हो, अहिले अब उपत्यकाबाहिर प्रदेशका प्रयोगशालामा पनि कोरोना परीक्षण भइरहेका छन्, उनीहरूको तथ्यांक आआफ्नै ढंगले सार्वजनिक गर्छन्। यहाँ हामीलाई लाइभ गर्न दिउँसो सवा ४ बजे आइपुग्नुपर्छ। त्यही भएर यो टेकुको मात्रै हो।’
आइतबारसम्म देशभरकै तथ्यांक जोडेर भन्ने गरिएको थियो। आइतबारसम्म देशभर कोरोना जाँच्नेको संख्या १६ सय ४२ पुगेको बताइएको थियो।
यसरी आइतबारसम्मको देशभरकै तथ्यांक मिलाएर आज टेकु प्रयोगशालाको हालसम्मकाे कूल भनेर भनिएको हो त?
प्रवक्ता देवकोटाले भने, ‘सायद त्यही होला, यसमा हिजोसम्मको चाहिँ देशभरकै तथ्यांक पनि जोडिएको होला।’
त्यसो भए आज ५५ नयाँ रिपोर्ट आएको देखिन्छ। टेकुबाट आज आएको रिपोर्ट यति हो त?
‘ओहो त्यो पनि पो छुट्याइएन त,’ उनले भने, ‘भोलिदेखि अब त्यसरी पनि छुट्याएर भन्ने गर्नुपर्याे।’
उनका अनुसार अहिले टेकुसमेत गरेर देशका १० ठाउँमा कोरोना परीक्षण भइरहेको छ। एकै दिनमा सयभन्दा बढी संख्यामा परीक्षण हुने उनको अनुमान छ।
यस आधारमा सोमबारसम्म देशभर कति जनाको कोरोना परीक्षणको नतिजा आयो भन्ने एकिन तथ्यांक सरकारसँग छैन।
यतिचाहिँ अनुमान गर्न सकिने भयो- अहिलेसम्म देशभर १६ सय ९७ भन्दा बढीले कोरोना परीक्षण गराइसकेका छन्।
तीमध्ये अहिलेसम्म नेपालमा नौ जनालाई मात्र कोरोना संक्रमण भएको पुष्टि भएको छ। त्यसमा पनि सुरुका एक जना निको भइवरी नियमित काममा फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ।
Shares

प्रतिक्रिया