समाज


संक्रमितसँगै ५ वटा विमानमा यात्रा गरेका ५२१ जना भेटिए, ६३ अझै सम्पर्कविहीन

संक्रमितसँगै ५ वटा विमानमा यात्रा गरेका ५२१ जना भेटिए, ६३ अझै सम्पर्कविहीन

उजिर कार्की
चैत २४, २०७६ सोमबार १२:०,

कोरोना संक्रमितसँगै यात्रा गरेका ५ वटा विमानका अधिकांश यात्रु प्रहरीले पत्ता लगाएको छ।

विदेशबाट आएका तीन र नेपालभित्रका दुई विमानमा ५ सय ८४ जनाले यात्रा गरेका थिए। तीमध्ये ५ सय २१ जना सोमबार दिउँसोसम्म पत्ता लागिसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए। पत्ता लागेकामध्ये ११ जनालाई आइसोलेसनमा राखिएको छ।

विमानमा यात्रा गर्ने ६३ जनालाई भने अझै प्रहरीले पत्ता लगाउन सकेको छैन।

राहदानीमा उल्लेख भएको ठेगानाका आधारमा खोजी भइरहेपनि सो ठेगानामा उनीहरु नभेटिएको प्रवक्ता जोशीले बताए।

एक १९ वर्षीया युवती फ्रान्सबाट कतार हुँदै ४ चैतमा काठमाडौं आएकी थिइन्। सोही विमानमा आएकी बागलुङकी अर्की महिलामा पनि कोरोना संक्रमण देखिएको थियो। उनी काठमाडौंबाट यती एयरमा पोखरा गएकी थिइन्।

एयर अरेबियाबाट काठमाडौं आएका धनगढीका युवामा पनि कोरोना संक्रमण देखिएको थियो। उनी काठमाडौंबाट बुद्व एयरको जहाजमा नेपालगञ्ज गएका थिए।

अर्का संक्रमित दुबईबाट दिल्ली हुँदै विस्तारा एयरमा काठमाडौं आएका थिए। यीमध्ये कतार र यूएईबाट आएका दुई विमानका ६ जनाबाहेक सबै फेला पारिसकेको छ। चैत ४ गते कतारबाट आएको कतार एयरवेजको क्यूआर ६५२ जहाजमा १ सय ५८ जना थिए। यीमध्ये एक सय ५२ जनालाई प्रहरीले फेला पारिसकेको छ। यो जहाजमा ३ जना विदेशी नागरिक थिए। उनीहरु आफ्नै देशमा फर्किसकेका छन्। अब तीन जना फेला पर्न बाँकी छन्।

चैत ६ गते यूएईको सारजहाँबाट आएको एयर अरेबियाको जी ९५३७ जहाजका पनि तीन जना मात्रै यात्रु फेला पार्न बाँकी छ। १ सय ६६ जना फेला परिसकेका छन्।

७ चैतमा दिल्लीबाट आएको विस्तारा एयरमा एक सय ३० जना सवार थिए। त्यसमध्ये २२ जना भारतीय नागरिक हुन्। एक सय ८ जना नेपाली सवार रहेकोमा ८६ जना प्रहरीको सम्पर्कमा छन्। २२ जनालाई प्रहरीले खोजिरहेको छ।

बुद्ध एयरमा ७१ जना नेपालगन्ज गएका थिए। ५२ जना फेला परिसकेका छन्। यती एयरमा ५६ जना पोखरा गएका थिए। यो जहाजका पनि ४० जना यात्रु प्रहरीको निगरानीमा छन्।
१६ जनाको खोजी भइरहेको छ।

फेला परेका ५ सय २१ जना प्रहरी र स्थानीय निकायको निगरानीमा छन्। केहीलाई स्थानीय तहको क्वारन्टिनमा र केही होम क्वारन्टिनमा रहेको प्रवक्ता जोशीले बताए।

ज्वारो, खोकी लगायत समस्या देखिएका ११ जना भने आइसोलेसनमा छन्। फेला परेका यात्रुको कोरोना परीक्षण भइरहेको छ।

प्रहरीले खोजिरहेका व्यक्तिबारे १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ। प्रहरीले कोरोनाबारे जानकारी दिन र गुनासो सुन्नका लागि नेपाल प्रहरी मोबाइल एप पनि सञ्चालन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad