समाज


अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट हरेक वर्ष हुन्छ २ लाख ३० हजार मानिसको मृत्यु

अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट हरेक वर्ष हुन्छ २ लाख ३० हजार मानिसको मृत्यु

नेपालखबर
जेठ १९, २०८२ सोमबार १७:२, काठमाडौँ

नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ। सोमबार काठमाडौंमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो।

हरेक वर्ष ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ। यस वर्ष पनि विगत झैँ ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नारासहित दिवस मनाइँदैछ। विभागले १८ गते शुरु भएको कार्यक्रम आगामी २४ गतेसम्म मनाउने भएको हो।

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० को तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट २ लाख ३० हजार मानिसको मृत्यु हुने गरेको बताए।

डब्ल्युएचओकाअनुसार अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म २ सय भन्दा बढी रोग लाग्ने, प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण विरामी हुने,४ लाख २० हजार मानिस खाद्य जनित रोगबाट मृत्यु हुने तथा झाडापखालाबाट करिव ५५ करोड बिरामी हुने गर्दछन्।

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपंक्षीजन्य खाद्य पदार्थमा एण्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको औँल्याएको छ।

विभागका महानिर्देशक कर्णले सञ्चारकर्मी र विभाग मिलेर काम गरे उद्देश्य पूरा गर्न सकिने बताए। उनले नागरिकलाई सचेत गराउने, सचेतना जगाउने र जागरुक गराउने प्रमुख उद्धेश्य लिइएको बताउँदै प्रगति हासिल गर्न सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। उनले नागरिकसमक्ष सूचना तथा सन्देश पुर्‍याउन सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमीका महत्वपूर्ण हुने बताए। 

उनले भने, 'तपाईं हामीहरु सँगै मिलेर काम गर्‍यौँ भने ९पत्रकार साथीहरु र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग० खाद्य स्वच्छता दिवसको उद्देश्य नागरिकलाई सचेत गराउने, सचेतना जगाउने र जागरुक गराउने छ। यो पूरा गर्न सकिन्छ। हामीहरु सहकार्य गरौं भन्ने अनुरोध पनि गर्न चाहन्छु।' 

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा विभागले नारा र सन्देश सहितको व्यानर राख्ने एवं विभागको वेभसाइटमा अपलोड गर्ने, विभिन्न अतिरिक्त क्रियाकलाप (मैत्रीपूर्ण क्रिकेट, व्याटमिन्टन तथा टेबुलटेनिस प्रतियोगिता) को आयोजना गर्ने, विभाग परिसर सरसफाई गर्ने, खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कृषि सूचना तथा प्रशिक्षण केन्द्र र काठमाडौं महानगरपालिकाको कार्यालयको समन्वयमा खाद्य स्वच्छता संवाद कार्यक्रम, राष्ट्रिय टेलिभिजन कार्यक्रममा खाद्य स्वच्छता सम्बन्धी संवाद कार्यक्रम, एफ एम/टिभी लगायत सञ्चार माध्यममा सूचना सन्देश प्रसारण, विशिष्ट व्यक्ति मार्फत सचेतनामूलक सार्वजनिक सन्देश, पोष्टर पम्प्लेट लगायतका सामग्रीको निर्माण तथा प्रशारण गर्ने कार्यक्रम तय गरेको छ।

काठमाडौं महानगरपालिकासँगको सहकार्यमा मोबाइल फुडल्याव भ्यान परिचालन गरी होटल रेष्टुरेण्ट, दुध, प्रशोधित पिउने पानी, ताजा फलफूल तरकारी अनुगमन निरीक्षण, विद्यालयस्तरीय खाद्य पोषण तथा स्वच्छता सचेतना कार्यक्रम गर्ने पनि बताएको छ।

खाद्य प्रविधि सम्बन्धि पठनपाठन हुने शैक्षिक संस्थाबीच वक्तृत्वकला प्रतियोगिता तथा खाद्य स्वच्छता एवं सुक्ष्मजैविक प्रतिरोध सम्बन्धी सचेतना कार्यक्रम, खाद्य स्वच्छता अभिवृद्धिका लागि सूचना प्रविधिको प्रयोग विषयक ह्याकथन प्रतियोगिता, खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बैठक, खाद्य स्वच्छता प्रणालीसँग सम्बन्धित नीतिगत विषयमा अन्तरक्रिया संवाद कार्यक्रम गर्ने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad